प्रथम महिला उपमेयर कप भोलीबाट सुरु
गंगा लिङखिम
ताप्लेजुङ । भोलीबाट प्रथम महिला उपमेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा नारी दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो । फुङ्लिङ नगरपालिकाले आज पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।
फुङ्लिङ नगरपालिकास्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आइतबारदेखि सुरु हुने प्रतियोगिता २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन समापन हुने फुङलिङ नगरपालिकाका उपमेर भिमादेवि ओझाले जानकारी दिएका छन् । यस अघि मेयर कम हुँदै आएको र महिला खेलाडिको उत्पादन सँगै महिलाहरुलाई पनि खेल क्षेत्रमा अब्बल बनाउँने उद्देयका साथ यो प्रतियोगिता सुरु गरिएको उनले बताए ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक एवम् फुङ्लिङ नगरपालिकाको सामाजिक विकास संयोजक क्षितिज सुनुवारले बताए । फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौ मध्ये आठ स्थानीय तहको प्रतियोगितामा सहभागिता रहने पनि उनले बताए ।
आयोजकबाहेक सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, मिक्वाखोला, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी हुने पालिकाको टुङ्गो लागेअनुसार नै खेल तालिका तयार गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष अशोक चेम्जोङले बताए ।
तर, फुटबलका लागि अब्बल मानिएको मैवाखोला गाउँपालिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन । जिल्लाकै फुटबल क्षेत्रमा अब्बल मानिएको उक्त गाउँपालिकाले सहभागिता नजनाउँदा भने दुख लागेको जिल्ला फुटबल संघका अध्यक्ष असोक चेम्जोङले बताए ।
उपमेयर रनिङ कप महिला फुटबल अर्थात प्रतियोगिताको बिजेताले एकलाख ११ हजार रुपियाँ राशीको नगद पुरस्कार र ट्रफी पाउने छ । उपबिजेताका लागि भने ५५ हजार ५०० रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्टताका आधारमा विधागत पुरस्कार प्रदान गरिने पनि खेल संयोजक सुनुवारले जानकारी दिएका छन् ।



















