राष्ट्रपतिमा देउवालाई अघि सार्न दबाब

वेलकम खबर
फाल्गुन ९, २०७९

पौडेल र सिटौलाको नाम चर्चामा आए पनि देउवालाई अघि सार्न सकिन्छ कि भनेरै उम्मेदवारको निर्णयमा ढिलाइ भएको नेताहरुको दाबी

काठमाडौँ । राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिका लागि सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट पनि दबाब आएपछि कांग्रेसले निर्णय गर्न ढिलाइ गरिरहेको हो ।
कांग्रेसका एक शीर्ष नेताले सभापति देउवालाई उम्मेदवार बनाउने चर्चा हुनु र निर्णय लिन ढिलाइ हुनु संयोग मात्रै नभएको बताए । ‘देउवालाई राष्ट्रपतिमा अघि सार्न पार्टीभित्र र बाहिरबाट निकै दबाब छ, पाँच वर्षसम्मै प्रधानमन्त्री नहुने परिस्थिति रहने हो भने राष्ट्रपतिमा जानु उचित हुन्छ भन्ने संकेत परिवारभित्रबाटै देखिन्छ तर यसको पछि सबैको आ–आफ्नो स्वार्थ जोडिएका छन्, ‘देउवानिकट एक नेताले भने, ‘व्यावहारिक रूपमा सोच्ने हो भने दुई महिना अघिदेखि नै रामचन्द्र दाइ ९पौडेल० लाई राष्ट्रपति बनाउने वचन दिइसक्नुभएको छ । उहाँलाई वचन दिएर आफैं त्यस पदमा अघि सर्दा पदको लोभ गरेको आरोप लाग्न सक्छ । शेरबहादुर दाइ आफैंले पनि म हुन्न, रामचन्द्रलाई वचन दिइसकेको छु भन्दै आउनुभएको छ, नैतिक रूपमा उहाँलाई अघि बढ्न कठिनाइ छ ।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पार्टी सभापति नै राष्ट्रपतिका लागि अघि सर्ने चर्चामा आफूलाई विश्वास नभएको दाबी गर्छन् । सैद्धान्तिक रूपमा कार्यकारी प्रमुख भइसकेको व्यक्ति आलंकारिक राष्ट्रपति पदमा जान नहुने तर्क उनको छ ।

‘मलाई पार्टी सभापति राष्ट्रपतिमा जानुहुन्छ भन्ने लाग्दैन, सैद्धान्तिक र राजनीतिक रूपमा पनि यस्तो कदम सही हुन्न,’ लेखकले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकारसम्बन्धी हाम्रो संवैधानिक व्यवस्था भारतसँग मिल्दोजुल्दो छ । भारतमा अहिलेसम्म पूर्वप्रधानमन्त्री राष्ट्रपति भएका छैनन् । हाम्रोमा पनि कार्यकारी शक्तिको अभ्यास गरिसकेको व्यक्ति राष्ट्रपतिमा जानु राम्रो देखिन्न । अहिले चलिरहेको चर्चा सही हो भन्ने मलाई लाग्दैन ।’

कांग्रेसबाट राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चर्चा थिए । पौडेललगायत केही पदाधिकारीले उम्मेदवारको विषय टुंग्याउन केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन नेतृत्वलाई सुझाइरहेका छन् । प्रधानमन्त्री दाहालसँग संवादमा रहेका उपसभापति पूर्णबहादुर खड्का माओवादीको निर्णयपूर्व उम्मेदवार तय गर्न नहुने पक्षमा छन् ।
सभापति आफैं राष्ट्रपतिका लागि अघि सर्ने हो भने पौडेलले पनि साथ दिने वचन दिएका छन् । ‘पौडेलजीले तपाईं आफैं हुन खोजेको हो भने प्रस्तावक मै हुन्छु, होइन भने अब उम्मेदवारका बारेमा निर्णय गरेर जाऊँ भनिसक्नुभएको छ,’ स्रोतले भन्यो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सभापति आफैं अघि सर्न खोजेको चर्चा सुनेको बताए । उनले भने, ‘अहिलेको राष्ट्रिय परिवेश र स्थितिमा संसद्को ठूलो दलले राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो । त्यसमा पार्टी सभापति आफैं जानुभयो भने पार्टीको पूर्ण समर्थन हुन्छ ।’

कांग्रेसका अर्का एक नेताले भने पार्टीभित्र आ–आफ्नो स्वार्थलाई हेरेर व्यक्तिको चर्चा हुने गरेको बताए । देउवा राष्ट्रपतिमा जाँदा नेतृत्वका आकांक्षीलाई ठूलो राहत हुनेछ । कांग्रेसमा शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहितका नेता नेतृत्वका लागि संघर्ष गरिरहेका छन् । ‘देउवाजी नै अघि सरेमा समर्थन गर्न अझ सहज हुने संकेत प्रचण्डजीले कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत गर्दै आउनुभएको छ तर उहाँले प्रत्यक्ष भन्नुभएको छैन,’ कांग्रेसका एक नेताले भने, ‘देउवाकै पक्षमा वातावरण बनाउने प्रयत्न भइरहेका छन् ।’

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव
राष्ट्रपतिका लागि प्रधानमन्त्री दाहालले वचन दिए पनि कांग्रेस नेताहरू आश्वस्त हुन सकेका छैनन् । सरकार गठनको दुई महिनामै गठबन्धन परिवर्तन गर्दा आफूमाथि अस्थिरताको आरोप लाग्ने भएकाले त्यसबाट बच्न दाहालले कांग्रेस र एमालेबाहिरका व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न सक्ने आशंका कांग्रेस नेताहरूमा छ । कांग्रेस शीर्ष नेताहरूसँग आइतबारको बैठकमा माधवकुमार नेपालको नाम लिँदै दाहालले त्यस्तो संकेतसमेत गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै नेपालको नाम प्रस्ताव भए अप्ठ्यारो पर्न सक्ने जनाउ दाहालको थियो । कांग्रेस उम्मेदवारलाई एमालेले नमान्ने, एमाले उम्मेदवारलाई कांग्रेस र माओवादीले नमान्ने हो भने आफूलाई साझा उम्मेदवारमा अघि बढाउन नेपालले पनि सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर आग्रह गरिसकेका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पात्रका हिसाबले देउवाको विषयमा माओवादीमा छलफल नभएको दाबी गरे । उनले पात्रभन्दा पनि पहिला मुख्य दलहरूमा राष्ट्रिय सहमतिमा जाने सैद्धान्तिक सहमति बन्नुपर्ने बताए ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*