माधव नेपालको प्रतिवेदन: कांग्रेस दलाल पूँजीपति, एमाले दक्षिणपन्थी र माओवादी ढुलमुले (पूर्ण पाठ)

वेलकम खबर
माघ २१, २०७९

काठमाडौ । एकीकृत समाजवादीको शनिबारदेखि काठमाडौंमा शुरू भएको पाँचौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संसद्‌भित्र र बाहिर रहेका दलहरूको व्याख्या गरेका हुन्। उनले भनेका छन्, ‘अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील छन्।’

अध्यक्ष नेपालले संसद्‌भित्र रहेका ११ दलको चरित्र चित्रण गरेका छन्। जसमा उनले नेपाली कांग्रेसलाई दलाल पूँजीपतिको पार्टीका रूपमा व्याख्या गरेका छन्। प्रतिवेदनमा भनिएको छ, ‘अहिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस पूँजीपति वर्ग चरित्रको पार्टी हो। नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ। तथापि, यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ।’

त्यस्तै, नेकपा (एमाले)लाई दक्षिणपन्थी पार्टी भनेका छन्। ‘प्रतिनिधि सभाको दोस्रो ठूलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो। यसको वर्ग अडान स्पष्ट छैन। दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

नेकपा (माओवादी केन्द्र)लाई ढुलमुले पार्टीका रूपमा व्याख्या गरेका छन्। नेपालले भनेका छन्, ‘प्रतिनिधि सभाको तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो। यसको पनि वर्ग अडान स्पष्ट छैन। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिंदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ, तर सत्तास्वार्थका निम्ति कुनै पनि वेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ।’

काठमाडौंमा शुरू भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयसँगै राष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ।

माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन:

पुरा अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस  Political Report for Fifth CC Meeting 2079-10-20 (1)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*