चितवन २ मा उपनिर्वाचन हुने, नागरिकता लिएपछि रवि तत्कालै मन्त्री बन्न सक्छन्
काठमाडौं। ४ मंसीर सम्पन्न निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रविको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको कारण सांसद पद खारेज भएको हो। उनी यथाअवस्थामा फेरि चुनाव लड्न पाउनेछैनन्। तर उनले प्रक्रिया पुरा गरेपछि भने चुनाव लड्न पाउनेछन् ।
एक अधिवक्ताले भने ‘‘ उनी अहिले नेपाली नागरिक भए पनि नागरिकता पुनर्प्राप्ती नभएकाले चुनाव लड्न पाउँदैनन्। नागरिकता लिएर फेरि मतदाता नामावलीमा अद्यावधिक गरेपछि मात्र चुनाव लड्न पाउनेछन्।’’
११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका उनी मन्त्री पदमा बस्न समेत अयोग्य भएका छन्। तर नागरिकता लिएपछि भने उनी सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बन्न पाउनेछन् । त्यतिन्जेल उपनिर्वाचन समेत हुने भएकाले फेरि जितेर उनी मन्त्री पदमा यथावत रहन सक्नेछन् ।
अहिलेलाई भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत हुन पाउने छैनन् । किनकि नेपाली नागरिकता लिएको व्यक्ति मात्र राजनीतिक दलमा आबद्ध हुन पाउने व्यवस्था छ ।



















