सभामुखको निर्वाचन आज, देवराज र ईश्वरी प्रतिस्पर्धामा
काठमाडौं । सभामुखका लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई साझा उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखमा अघि सारेको छ। सभामुख पदको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार आज (बिहीबार) बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन जनाउने कार्यतालिका छ ।
त्यस्तै, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने छ । यसै प्रक्रियामार्फत घिमिरे वा न्यौपाने सभामुखमा निर्वाचित हुनेछन्। अहिलेका सत्ता साझेदार ५ र समर्थक ७ दलबीच भएको सहमतिमा सभामुख एमालेको भागमा परेको थियो । सोही सहमतिअनुसार एमालेले सभामुखमा घिमिरेलाई उम्मेदवार बनाएको हो।
बुधबार सभामुखमा उम्मेदवारी दिएका घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ थिए भने समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्। एमालेसहित गठबन्धन घिमिरेको पक्षमा सहमत भएसँगै सभामुखको लाइनमा रहेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा जस्ता नेताहरू सभामुखको दौडबाट पछि हटेका छन्।
कसले मार्ला बाजी ?
आज समाभुखका लागि हुने मत विभाजनमा घिमिरे बलियो अवस्थामा रहे पनि विपक्षीको चुनौती पनि कडा हुने देखिएको छ । घिमिरेलाई टक्कर दिन नेपाली कांग्रेसले पनि पार्टीको तर्फबाट समानुपातिक सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवारको रूपमा खडा गरेको छ। उम्मेदवार बनाउनुअघि कांग्रेसले सरकारबाहिर रहेका नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षहरूसँग छलफल गरेको थियो।
छलफलमा ३ वटै दलले समर्थन जनाएपछि मात्रै कांग्रेसको तर्फबाट न्यौपानेले उम्मेदवारी दिएकी थिइन् । उनको उम्मेदवारीमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र समर्थकमा नेकपा एसका प्रकाश ज्वाला छन्। सभामुखका लागि आज हुने मत विभाजनमा अब संसद् २ भागमा बाँडिने छ। एमाले नेतृत्वको सत्ता गठबन्धन एकातिर र कांग्रेससहितका ३ दल अर्कातिर हुने देखिएको छ । सभामुखका लागि कांग्रेसका ८८, जसपाका १२, नेकपा एसका १० र लोसपाका ४ जना गरी ११४ जना सांसदको समर्थन न्यौपानेले पाउने देखिएको छ।
सत्ता गठबन्धनको पक्षमा भने एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४ र जनमतका ६ गरी १५१ सांसदले घिमिरेलाई समर्थन दिनेछन् । नागरिक उन्मुक्तिले सरकारलाई समर्थन दिए पनि सभामुखको चयनमा के गर्ने भन्ने विषयमा आधिकारिक धारणा बनाइसकेको छैन । नेपाल मजदुर किसान पार्टी र जनमोर्चा तटस्थ रहने देखिएको छ ।
‘जित पक्का’ गरेका घिमिरे को हुन् ?
२०३१ सालमा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका घिमिरे अहिले एमाले प्रदेश १ का इन्चार्ज छन्। १३ जेठ, २०१३ मा ताप्लेजुङ सिकैचा– ३ मा जन्मिएका घिमिरे निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन् । ताप्लेजुङबाट झापामा बसाइँसराइ गरेको घिमिरे परिवारको बसोबास अहिले बिर्तामोडमा छ। घिमिरे परिवारका १२ सन्तानमध्ये उनी माइला सन्तान हुन्।
२०३२ सालबाट राजनीतिमा प्रवेश गरेका घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन गरेका छन्। थप अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए पनि उनले बीचमै पढाइ छाडेका थिए। २०५६ सालमा राष्ट्रियसभा सदस्य बनेको उनी २०७५ सालमा तत्कालीन नेकपाको प्रदेश १ अध्यक्ष थिए भने २०७८ सालमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका थिए।
संसदीय यात्रा भने उनले २०५६ सालमा नै पाइला टेकिसकेका थिए । २०५६ सालमा घिमिरे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । तर, त्यसपछिका निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् । ओली निकट मानिने घिमिरेले यस पटकको निर्वाचनमा टिकट पाउँदै झापा– २ बाट निर्वाचित भएका हुन् । उनले २८ हजार ७१६ मतका साथ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाललाई पराजित गरेका थिए ।



















