एमालेले घिमिरेलाई सभामुखमा उठाउन लागेको हो ?

वेलकम खबर
माघ ३, २०७९

काठमाडौ । पछिल्लो समय प्रतिनिधि सभाको सभामुखको चर्चामा रहेका नेता घिमिरेले आफू सभामुखको उम्मेदवार बन्ने सम्भावना रहेको बताए। पार्टीभित्रको छलफलका आधारमा समेत आफ्नो सम्भावना रहेको उनको भनाइ छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका सांसद घिमिरेले पार्टी अध्यक्ष ओलीसँगको संवादका आधारमा समेत आफूले सम्भावना देखेको दाबी गरे। “सभामुखमा झापा, रुपन्देही, गण्डकी सबैतिरको दाबी छ। त्यसमध्ये मेरो पनि दाबी छ,” नेता घिमिरे भन्छन्, “पार्टीले निर्णय गरिसकेको छैन, तर सम्भवतः म सभामुखको उम्मेदवार बन्छु। अब त मैले पनि पाउनुपर्‍यो नि।”

सत्ता गठबन्धनको भागबन्डामा एमालेको भागमा परेको सभामुख पदका लागि एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा समेत बलियो दाबेदार हुन्। कतिपय नेताले पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ नै सभामुखको उम्मेदवार बन्ने चर्चा गर्ने गरेका छन्। नेम्वाङले आफू राष्ट्रपति नै बन्ने इच्छा पार्टीभित्र जाहेर गरेका छन्।

यही अवस्थामा सभामुखमा आफ्नो बलियो सम्भावना रहेको एमाले प्रदेश १ का इन्चार्ज समेत रहेका नेता घिमिरेले दाबी गरेका हुन्। घिमिरेले आफ्नो विषयमा पार्टीले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले भने, “सभामुखमा मेरो दाबी छ। यसमा सम्भावना पनि छ। यस विषयमा पार्टीले उचित निर्णय गर्नेछ भन्ने विश्वास छ।”

त्यसो त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमाले अध्यक्ष ओलीको गृहजिल्लाबाट अन्य नेता मन्त्री बन्ने सम्भावना देखिंदैन। त्यसो हुँदा ओलीले घिमिरेलाई सभामुख नभएमा मन्त्री पनि बनाउन सक्ने सम्भावना रहेको झापाकै एमाले नेताहरू बताउँछन्।

को हुन् देवराज घिमिरे?
२०१३ सालको जेठ १३ मा ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे २०२७-२०३० सालको झापा विद्रोहपछि अपील प्रसारणको लाइनबाट कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए।

घिमिरे गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। २०५६ सालमा राष्ट्रिय सभाको सदस्य भएका नेता घिमिरे एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को इन्चार्ज समेत हुन्।

पार्टीलाई झापामा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका घिमिरे शान्त र सरल स्वभावका नेता मानिन्छन्। पहिलो पटक प्रतिनिधि सभाको टिकट पाएर चुनाव जितेका उनी पहिलो यात्रामै सभामुखमा दाबी गरेका छन्।

२०३२ सालको को-अर्डिनेशन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भएर काम गरेका थिए। २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बनेपछि २०४९ सालमा भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

१२ वर्ष भूमिगत राजनीति गरेका घिमिरे पार्टी काम तथा आन्दोलनका क्रममा पटक पटक हिरासतमा बसेका थिए। उमेरका हिसाबले पनि पाका नेता घिमिरेले पार्टीभित्रको अनुभवको हिसाबले पनि आफू बलियो दाबेदार रहेको बताउँदै आएका छन्।himalkhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*