नयाँ गठबन्धनको कसरतमा एमाले

वेलकम खबर
पुस ३, २०७९

माओवादी र एकीकृत समाजवादीसँग संवाद
सहकार्यका लागि पाँचदलीय गठबन्धनबाट बाहिरिनुपर्ने सर्त
शक्ति बाँडफाँटमा उदार बन्ने रणनीति

काठमाडौँ । शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलनसहित एमालेले वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य गरिरहेको छ । सत्ता गठबन्धन भत्काएर आउने दलहरूसँग शक्ति बाँडफाँटमा उदार रहने रणनीतिका साथ एमालेले अनौपचारिक तहबाट कसरत थालेको हो ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरूमार्फत माओवादी र एकीकृत समाजवादीसँग संवाद अघि बढाएका छन् । तर ती दललाई सहकार्यका लागि पहिला सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने सर्त अनौपचारिक रूपमा राखिएको छ । ‘सम्बन्ध सुधारका लागि भेटघाट भइराखेका छन् । पहिला त माओवादी अहिलेको गठबन्धनबाट बाहिरिनुपर्‍यो,’ एमालेका एक पदाधिकारीले भने, ‘त्यसपछि बल्ल सरकार गठन र शक्ति बाँडफाँटको विषयले प्रवेश पाउने हो ।’
फरक–फरक स्वार्थसहित वैकल्पिक गठबन्धन र शक्ति बाँडफाँटका सम्भावित विकल्पमाथि एमाले र माओवादीभित्र छुट्टाछुट्टै जोडघटाउ चलिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाँटमा कांग्रेसले सम्मानजनक व्यवहार नगरे विकल्प सोच्न सकिने बताइसकेका छन् । कांग्रेस वा एमाले जोसँग सहकार्य गरेर भए पनि पहिलो कार्यकाल आफैं प्रधानमन्त्री बन्ने दाहालको चाहना छ ।सत्ता गठबन्धन कायम रहेसम्म केन्द्र र प्रदेश दुवैतिर आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने भएकाले एमालेको जोड गठबन्धन भत्काउनेमै छ । गठबन्धन भत्किए कांग्रेसलाई बहुमत नपुग्न सक्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वमा जसपा र राप्रपासहितको तालमेल थियो । प्रतिनिधिसभामा एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ सिट छ । बहुमत १ सय ३८ पुर्‍याउन थप ३४ सिट चाहिन्छ । माओवादी थपिए १ सय ३६ सिट हुन्छ । एकीकृत समाजवादीको १० सिट पनि जोडिँदा बहुमत पुग्छ ।

माओवादी गठबन्धनबाट बाहिरिए ऊसहित एमाले, राप्रपा, जसपालगायत दल मिलेर सरकार बनाउन पहल हुने ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘पहिला पहल कसले गर्ने भन्ने छ । माओवादी हामीसँग संवादमा आए सकारात्मक ढंगले अघि बढ्छौं । तर यस्तो संवाद सुरुमा दोस्रो तहबाट हुनुपर्छ । यसका लागि केही प्रयास भइरहेका छन्,’ उनले भने ।
ओलीले माओवादीका महासचिव देव गुरुङमार्फत सत्ता गठबन्धन भत्काए सहकार्य गर्न सकिने सन्देश पठाइसकेका छन् । गुरुङले मंगलबार ओली निवास बालकोट पुगेर झन्डै दुई घण्टा छलफल गरेका थिए । ‘गठबन्धन भत्काए सहकार्य गर्न तयार छौं भनेर उहाँले सार्वजनिक रूपमा नै भन्दै आउनुभएको छ,’ गुरुङले भने । उनी माओवादीभित्र वाम शक्तिहरूबीचको एकतामा जोड दिँदै आएका नेतामध्येका एक हुन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले केही दिन अगाडि खुमलटार पुगेर माओवादी अध्यक्ष दाहालसँग सहकार्यका सम्भावित विकल्पमाथि छलफल गरेका थिए । उपाध्यक्ष पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरिसकेका छन् । स्रोतका अनुसार पौडेल ओली–दाहाल र ओली–नेपालबीच सम्बन्ध सुधारको पक्षमा छन् ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत नेताले विगतका ‘तीता अनुभव’ भुलेर वाम शक्तिहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । उपाध्यक्ष नेम्वाङले सम्पूर्ण प्रक्रियामा भाग लिने र सबै दलसँग छलफल गरेर अगाडि बढ्ने बताउँदै आएका छन् । ‘अहिलेको म्यान्डेटअनुसार सबै मिलेर अघि बढ्नुपर्नेछ । त्यसको मतलब सरकार नै बनाउनुपर्छ भन्ने छैन । तर लोकतन्त्रको मूल्यमान्यता अनुरूप अघि बढ्नुपर्‍यो,’ उनले भने, ‘त्यसका लागि हामी माओवादीसँग मात्रै होइन, सबै दलसँग संवाद गर्दै छौं, सम्पर्कमा छौं ।’

उपमहासचिव गुरुङले केही दिनअघि एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँग भेट गरेका थिए । ‘अध्यक्षको अनुमतिमा केही भेटघाट भएका हुन् । वाम सरकार बनाउने कुरामा माधव कमरेड पनि नकारात्मक हुनुहुन्न,’ उनले भने । गुरुङले माओवादी केन्द्रका दोस्रो तहका नेता र जसपाका नेताहरूसँग पनि भेटघाट गरेका थिए । स्थायी कमिटी सदस्य रघुवीर महासेठले माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाललाई भेटेका थिए । ‘कुनै समय आफूले मानिआएका नेताहरू हुनुहुन्छ । त्यसकारण भेटेर चुनाव जितेकामा शुभकामना आदानप्रदान भयो । अरू खास कुराकानी भएन,’ महासेठले भने । एमालेले एकरदुई दिनमा देखिने गरी संवाद सुरु गर्न सक्ने उनको भनाइ छ । ‘राष्ट्रपतिबाट आह्वान भएपछि सबैतिरबाट नयाँ सरकार गठनको चलखेल सुरु होला,’ उनले भने, ‘तर, प्रचण्डजीहरू अहिले पनि गठबन्धन सरकारलाई नै अगाडि बढाउने सोचमा हुनुहुन्छ ।’

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताले पनि माओवादी अध्यक्ष दाहालसँग भेट गरिसकेका छन् । एमाले महासचिव शंकर पोखरेललगायत केही नेता मुलुकलाई स्थायित्व दिने गरी कांग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । उनले राजनीति दुई पार्टीमा ध्रुवीकरण नहुँदासम्म देशमा राजनीतिक स्थायित्व कायम नहुने मत राख्दै आएका छन् ।

केन्द्रमा अघोषित गृहकार्यमा लागेको एमाले प्रदेश सरकार गठनमा भने सक्रिय देखिएको छ । प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतमा एमालेले सरकार गठनको कसरत जारी राखेको छ । संघीय सरकारसँगै प्रदेश सरकारमा पनि दलहरूबीच भागबन्डा हुने भएकाले अहिले प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित भइसकेको छैन । प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा एमाले पहिलो दल छ । प्रदेश १ को ९३ सिटमा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ, जहाँ एक्लै ४० सिट जितेर एमाले पहिलो दल छ । राप्रपा र जसपासँग सहकार्य गरे एमाले नेतृत्वको सरकार सम्भव हुनेछ ।

मधेसमा बहुमतका लागि ५४ सिट चाहिन्छ । प्रदेशको एक सय सात सिटमा एमाले २३ सिट जितेर ठूलो दल बनेको छ । एमालेले जनमत, जसपा, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादीसहित दलको समर्थन जुटाए आफ्नै नेतृत्वमा सरकार गठन गर्न सक्छ । लुम्बिनीमा २९ सिट जितेर एमाले पहिलो दल भएको छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*