‘लिम्बुवान राज्य’ मा लिम्बुवानको उपस्थिति शून्य

वेलकम खबर
मंसिर २८, २०७९

पाँचथर । पाँच वर्षे कार्यकालमा प्रदेशको नाम दिन नसक्ने एक मात्र प्रदेशसभा हो– १ नं. प्रदेश । राजेन्द्र राई मूख्यमन्त्री बनेपछि प्रदेशको नामाकरणका लागि कसरत पनि भएको हो । तर, दलहरुको आ–आफ्नै अडान र प्रदेशको नामको बिषयलाई लिएर उठेको सशक्त सडक संघर्षका कारण प्रदेश–१, को नामाकरणको विषय पेचिलो बन्यो । अन्ततः प्रदेशको नामै दिन नसकी प्रदेशसभाको पाँच वर्षे कार्यकाल गुज्रियो ।

इतिहासमा उल्लेख भए अनुसार हाल ः प्रदेश–१, अन्तर्गत अरुण, संखुवाखोला, शप्तकोशी नदी पूर्वका नौ वटा जिल्ला लिम्बुवान राज्य हो । वि.सं.१८३१ साउन २२ गते तत्कालीन गोर्खा–लिम्बुवानबीच लालमोहर सन्धी हुनुपूर्व ‘लिम्बुवान’ स्वतन्त्र राज्यको अस्तित्वमा रहेको कुरा इतिहासमा उल्लेख छ । यहिं ऐतिहासिक पृष्ठभूमी र साशकीय भूगोलको आधारमा अरुणपूर्वका नौ जिल्लालाई मात्रै समेटेर छुट्टै लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल भने यसपटकको निर्वाचनमा प्रदेशसभामा शून्य बनेको छ ।

२०७४ को निर्वाचनमा मञ्चले प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिबाट एक सिट पाएर प्रदेशसभामा आफ्नो उपस्थितिसम्म जनाएको थियो । मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्री समेत बनिन् । प्रदेशसभामा लिम्बुवानको माग राख्ने एक्लो सांसद थिइन्, तुम्बाहाम्फे । तर, यसपटक भने मञ्चले थ्रेस होल्ड नै कटाउन सकेन । समानुपातिकमा २६ हजार ५३१ मत प्राप्त गरेको मञ्च अन्तत : प्रदेश–१, मा निल हुन पुग्यो । उसको मत भने अघिल्लो निर्वाचनकोभन्दा ४०८ बढेको हो ।

२०६२/२०६३ को दोस्रो जनआन्दोलनपछि पूर्वमा सबैभन्दा सशक्त रुपले उठेको आन्दोलन हो, लिम्बुवान । तर सडकमा उर्लिएको भिड ब्यालेटमा भने सधैं कमजोर रह्यो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट दुई सिट पाएको मञ्चले २०७० को दोस्रो संविधानसभाको निर्वाचन वाहिष्कार ग¥यो । २०७४ मा प्रदेश–१, मा एक सिटमा खुम्चियो । २०७९ मा त्यो शाखलाई पनि जोगाउन सकेन । यद्यपी चुनाब प्राबिधिक विषय भएकाले चुनाबमा जस्तो परिणाम आए पनि लिम्बुवान आन्दोलन भने झन सशक्त र मजबुत बन्दै जाने प्रक्रियामा रहेको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव सागर केरुङ दाबि गर्छन् ।

प्रदेश–१, को चुनाबी परिणामको शन्दर्भलाई लिएर सामाजिक अभियन्ता नन्द कन्दङवाले भने लिम्बुवानको अर्को भर्सनको आन्दोलन अनिवार्य देखिएको प्रतिक्रिया दिएका छन् । लिम्बुवान आन्दोलन नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनभन्दा पुरानो इतिहास बोकेको आन्दोलन हो । तर यहिं ऐतिहासिक मुद्धा बोकेर बढेको लिम्बुवानलाई भने मतदाताले अस्वीकृत गर्दै आएका छन् ।

संगठन स्थापनाको केहि समयदेखि नै चरम गुटबन्दी र बिवादले संगठन उठ्न नसकेको धेरैको विष्लेषण छ । संगठन स्थापनाको डेढ दशक सेरोफेरोमा पटक–पटक फुटेर टुक्रा–टुक्रा बनेको लिम्बुवानजन्य संगठन एक भएर अघि बढ्न नसकेसम्म यहिं अवस्था रहने लिम्बुवानका सुभेच्छुक बताउछन् । यसपल्टको चुनाबी परिणाममा लिम्बुवान शून्य भएपछि मञ्चका अध्यक्ष कुमार लिङदेनप्रति सामाजिक सञ्जालमा आलोचना गर्नेहरु बढेका छन् ।rajdhanidaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*