कांग्रेस संसदीय दलको अंकगणित

प्रतिस्पर्धामा रहेका देउवा र शेखर–गगन समूहमध्ये कसका सांसद कति ?
वेलकम खबर
मंसिर २६, २०७९

संसदीय दलको नेता निर्वाचित हुन ५०% भन्दा बढी अर्थात् कम्तीमा ४५ सांसदको समर्थन हुनुपर्छ, अहिलेको अंकगणितले कांग्रेसका ८९ मध्ये देउवाको पक्षमा ५५ सांसद देखिन्छन्, महामन्त्री थापाले समूहबाहिरबाट कम्तीमा ११ भोट तान्न सके मात्रै देउवालाई चुनौती दिन सक्छन् 

संस्थापन पक्षका सांसद

प्रत्यक्ष (३३) : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्का

समानुपातिक (२२) : शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र अञ्जनी श्रेष्ठ

इतर पक्षका सांसद
प्रत्यक्ष (२४) : डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे

समानुपातिक (१०) : सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल

…                                            …

समानुपातिकतर्फबाट छानिने सांसदको टुंगो लागेसँगै कांग्रेसमा संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ । पार्टीभित्र प्रधानमन्त्रीका आकांक्षीले दलको नेताको तयारीलाई तीव्र पारेका छन् । ६ नेताले आकांक्षा राखे पनि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले तयारी तीव्र पारेका छन् ।

कांग्रेसबाट निर्वाचित सांसद हेर्दा सभापति देउवा सहज बहुमतमा देखिन्छन् । तर, महामन्त्री थापाले देउवालाई चुनौती दिने घोषणा गरिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइराला र गगन समूहकै नेता शेखर कोइराला पनि दलको नेतामा आकांक्षी छन् । शेखर र गगनमध्ये एकजना मात्रै उम्मेदवार बन्ने यो समूहको भनाइ छ ।

पौडेल, प्रकाशमान र शशांक संख्यात्मक हिसाबले पनि कमजोर छन् । प्रकाशमान र शशांक पछिल्लो समय दलको नेताबारे मौन छन् । पौडेलले भने पार्टीभित्र र बाहिर नेताहरूसँग छलफल गरिरहेका छन् । अन्तिममा उनीहरू तीनैजनाले सभापति देउवालाई सघाउने कांग्रेस नेताहरूको दाबी छ ।

शनिबार समानुपातिकबाट आउने ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउँदा २२ नाम संस्थापननिकटका परेका छन् । यससँगै संसदीय दलमा देउवा थप बलियो बनेका छन् । आयोगमा बुझाइएको सूचीमा शेखर–गगन समूहका १० जनाको नाम समेटिएको छ । प्रत्यक्षतर्फ निर्वाचित ५७ मध्ये संस्थापनका ३३ र इतर समूहका २४ सांसद छन् । प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षधर ५५ सांसद छन् । त्यस्तै, प्रत्यक्ष र समानुपातिक गरी शेखर–गगन समूहका ३४ सांसद हुनेछन् ।

इतर समूहका नेता शेखर कोइरालाले आफ्नो दाबी अझै औपचारिक रूपमा राखेका छैनन् । यद्यपि, उनी र गगनमध्ये एकजना मात्रै अगाडि सर्ने गरी छलफल भइरहेको इतर समूहका सांसद सञ्जय गौतमले बताए । आफूहरूले दुई नेतालाई समझदारीमा ल्याउने प्रयास गरिरहेको उनको भनाइ छ । ‘हामी पनि दुईमध्ये एकजनालाई सहमतिमा ल्याएर अगाडि सार्न प्रयास गरिरहेका छौँ । महामन्त्री गगन थापाले तयारी गरिरहनुभएको छ । डा. शेखर कोइरालाले मुख खोलिसक्नुभएको छैन । उहाँले हामीलाई नेतृत्व गरिरहनुभएको छ । उहाँ यसमा गम्भीर हुनुहुन्छ,’ गौतमले भने, ‘सहमतिमा एकजनालाई संसदीय दलको नेतामा अगाडि सार्छौँ ।’

सभापति देउवाले आन्तरिक रूपमा तयारी गरिरहेका छन् । उनीनिकट पूर्वउपसभापति विमलेन्द्र निधिले देउवा नै दलको नेता बन्ने दाबी गरे । ‘समानुपातिकको सूची बुझाएपछि बल्ल संसदीय दलको नेताको तयारीका लागि ग्राउन्ड बनेको छ । अहिले नै उहाँ (देउवा)ले दल र सरकारको नेतृत्वका लागि गम्भीर छलफल गरिसक्नुभएको छैन । आन्तरिक गृहकार्य भने गरिरहनुभएको छ,’ निधिले भने ।

संसदीय दलमा गगनलाई सघाउने घोषणा गरेका महामन्त्री विश्वप्रकाश शर्माले सकभर सहमतिमा र नभए निर्वाचनको माध्यमबाट सौहार्दपूर्ण रूपमा दलको नेता चयन हुने बताए । ‘अहिले जनताको विवेकले सांसद चयन गरेको छ, सांसदहरूको विवेकले दलको नेता चयन हुन्छ । पछिल्लो निर्वाचनसम्म हालका सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले देशका लागि थुप्रै कर्म गर्नुभएको छ । उहाँलाई सम्मान दोब्बर गर्नुपर्छ । अब उहाँले फलानोलाई अगाडि सारौँ न त भनेर भन्नुपर्छ । उहाँको प्रस्ताव उचित लागे सर्वसम्मत हुन्छ,’ शर्माले भने, ‘उहाँको प्रस्ताव उचित लागेन भने या उहाँ आफैँ खडा हुनुभयो भने निर्वाचनको प्रक्रियाबाट नेता चयन होला । जे हुन्छ आत्मीय र सौहार्दपूर्ण रूपमा हुन्छ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सांसदले निर्वाचित भएको प्रमाणपत्र पाएपछि दलको नेता चयन प्रक्रिया सुरु हुने बताए । ‘अहिले नै कुनै तयारी सुरु भएको छैन । सांसदले निर्वाचित भएको प्रमाणपत्र पाएर शपथ खाएपछि नेता चयनको प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।

यसरी चुनिन्छ कांग्रेसमा संसदीय दलको नेता
कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था गरिएको छ । जसको दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । ‘संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ,’ विधानको दफा ६ को उपदफा ४ मा भनिएको छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी ‘रिङआउट’ हुनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।यो समाचार आजको नयाँपत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*