२५ वर्षमा ३५ सयले पाए ज्योति
ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ का दुर्गा श्रेष्ठले गत वर्ष भिनाजु विष्णुको आँखाको शल्यक्रिया सदरमुकाम फुङलिङको आँखा उपचार केन्द्रमा गराए । मोतीविन्दु देखिन थाले पछि धुमिल भएको आँखा खुलाउन भान्जा निरोज श्रेष्ठ र परिवारसँग समन्वय गरेका थिए । नेत्र ज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्रले सञ्चालन गर्ने शिविरको मौका पारेर शल्यक्रिया गराएका हुन् ।
दुई वर्षअघि दिदी टीकालक्ष्मी बल्यक्रिया गर्न भने झापाको मेची आँखा अस्पतालमा पुर्याए । ताप्लजुङमै गर्ने तयारीमा साथ राखेर परीक्षण गराएका उनलाई चिकित्सकले आँसु नलीको समेत शल्यक्रिया गर्नुपर्ने भएकाले झापा ल्याउन सल्लाह दिए । जसअनुसार दुई वर्ष लगाएर दुवै आँखाको उपचार गराएन् ।
श्रेष्ठ यस्ता पात्र हुन जस्ले २०३८ मा आमाको आँखाको शल्यक्रिया गर्न काठमाडौं पुर्याउनु परेको थियो । आमाका दुवै आँखामा मोतीबिन्दु भन्ने पत्तो लागे पछि उनले शल्यक्रिया गराएका थिए । ताप्लेजुङको सुकेटारबाट काठमाडौं सिधा हवाई सुविधा भएकाले हुनेखाने वर्गका लागि जहाज मार्फत गएर उपचार सम्भव थियो । काठमाडौंमा भएको भाइले रेखदेख गर्ने गरी गराएको शल्यक्रियाका लागि ७ दिन अस्पतालमै बस्नु परेको अनुभूति उनीसँग छ ।
अचेल प्रविधिको विकाससँगै हिमाली जिल्लामा प्रत्येक ६ महिनामा आँखासम्बन्धी शिविर सञ्चालन हुन थालेको छ । यही वर्षको मंसिर २० देखि २२ सम्म भएको शिविरमा १ सय ८ जनाको शल्यक्रिया भयो । यीमध्ये ९३ जना मोती विन्दु भएका र १५ जना आँखाको छेउमा मासु पलाएका, आँखाको परेला आँखामा पसेका लगायतका थिए । २०५३ मा ताप्लेजुङमा पहिलो पटक सञ्चालन भएको थियो । पाँच दिनसम्म चलेको शिविरमा आँखा जचाउन १ हजार ५ सय ५३ जना आएका थिए । आँखा उपचार केन्द्र ताप्लेजुङका क्लिनिक इञ्चार्ज काजी गुरुङका अनुसार त्यो भिडले जिल्लामा आँखाको नियमित उपचारको आवश्यकता छ भन्ने प्रस्ट्यायो । जिल्ला अस्पतालमा सञ्चालन गरिएको शिविरमा १ सय १० जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको थियो । लुम्बिनी रण अम्बिका आँखा अस्पतालको सहयोगमा पहिलो पटक शिविर चलाइएको थियो । गुरुङका अनुसार त्योबेला परीक्षण गराएका सयौंमा मोतीबिन्दु देखिएको थियो । मोतीबिन्दु भएको छ अप्रेसन गर्नुपर्छ भनिएका अधिकांश बिरामी नगराउने भन्दै फर्किएका थिए । तत्कालीन जिल्ला विकास समितिको कर्मचारीसमेत रहेका दुर्गा श्रेष्ठको अनुभवमा पहिला शल्यक्रिया गराउन बिरामीलाई बुझाउन कठिन थियो ।
९ घण्टामा ८१ को शल्यक्रिया
मेची आँखा अस्पताल झापाबाट आएका डाक्टर पुरुषोत्तम जोशीले ९ घण्टामा ८१ जनाको शल्यक्रिया गरेका छन् । मंसिर २२ को बिहान पौने ११ बजे शल्यक्रिया कक्षमा छिरेका उनले शौचालय जानका लागि दुई पटक विश्राम लिएका थिए । ‘उहाँ बिहान पौने ११ बजे शिविर कक्षमा छिरेर बेलुका ८ बजे निस्कँदा ८१ जनाको शल्यक्रिया भएको थियो,’ गुरुङले थपे, ‘भोलिपल्ट बिहान २७ जनाको पनि उहाँले नै गर्नुभयो ।’ संघको वार्षिक कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर आँखा जॉच गर्ने र मोतीबिन्दु भएकालाई शिविरमा आउन खबर गर्ने प्रचलन छ । जिल्लामै शिविर चलाउँदा अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । एकैजनाको ४० देखि ५० हजार रुपैयाँसम्म बचत हुने नेत्रज्याति संघका सचिव खगेन्द्र अधिकारी बताउँछन् । नेत्र ज्योति संघले इटहरी, झापा, सेवा फाउन्डेसन, लायन्स क्लव अफ काठमाडौं, हाम्रो रूपान्तरण अभियान, सानिमा र मध्यतमोर जलविद्युत् परियोजना एवं स्थानिय तहसॅग समन्वय गरेको छ ।ekantipur



















