पाँचथर र ताप्लेजुङमा १५ वटा झोलुङ्गे पुल बनाइँदै

वेलकम खबर
मंसिर २०, २०७९

फिदिम,।  पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा १५ वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका छन्। एक नम्बर प्रदेश सरकारको आर्थिक सहयोग तथा पूवार्धार विकास कार्यालय पाँचथरको तत्वाधानमा पुल बनाइँदै गरेको हो। यहि आर्थिक वर्षमा बनाइसक्ने लक्ष्यले निर्माण कार्य भइरहेको पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताउनुभयो।

पाँचथरमा १० वटा र ताप्लेजुङमा ५ वटा बनाइँदै गरेको उहाँले सुनाउनुभयो। पाँचथरको फिदिम नगरपालिकामा भर्‍याङ खोला, चुनेदोभान र याङवरक गाउँपालिकाको शिवा खोलामा पुल निर्माण भइरहेको हो।

फालेलुङ गाउँपालिकामा गुप्तेश्वर–पानामा–खरबारी, सिरिसे सिल्ली पाखा–खोलाघारी, गोवाटार च्याने, बज्राठे थरीटार नामका पुल बनिरहेका छन्।दक्षिणी मिक्लाजुङ गाउँपालिकाको नावाखोला–थामथुम दोभान, कुरुङखोला–जामुनबोटे–अविरजङ्ग जग्गा जोड्ने र लप्सिबोटे–नरकटे पुच्छरमा पुल बन्दै गरको हो।

ताप्लेजुङ अन्तर्गत फुङ्लिङ नगरपालिका ओठे थवाङ र निकाश खोलामा बनाइदै छ। यसै जिल्लाको मेरिङ्देन गाउँपालिकाको ओगेन–साईजिम जोड्ने र फक्तालुङ गाउँपालिकाको हेल्लोक र मेन्देवा खोलामा निर्माणधीन पुल रहेका छन्। गत वर्ष ताप्लेजुङको सिदिङ्बा गाउँपालिका र पाँचथरको याङ्वरक गाउँपालिका जोड्ने कालीखोलामा पूर्वाधार विकास कार्यालयकै तत्त्वाधानमा झोलुङ्गे पुल बनाउन लागिएको हो।

पन्ध्र वटा पुल निर्माणका लागि आठ करोड ५२ लाख ७९ रुपियाँ लागत लाग्ने अनुमान छ। स्थानीय उपभोक्ता समितिसँगको सहकार्यमा पुल बन्ने क्रममा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। यस क्षेत्रमा निर्माण हुने पुलले हजारौ ग्रामीणवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन्। पुलले वारिपारि रहेका गाउँबीचको आवागमनमा सहजिकरण बढाइ दिने हुनाले यसले सामाजिक सम्बन्ध थप मजबुत बनाउनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।गोरखापत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*