जो भोलि देश हाँक्ने हैसियत राख्छन्

वेलकम खबर
मंसिर १, २०७९

आसन्न निर्वाचनमा केही यस्ता उम्मेदवार छन् जो संसद्मा हस्तक्षेपकारी भूमिका खेल्ने मात्रै होइन, भावी दिनमा आ–आफ्नो दल र देशकै नेतृत्व गर्ने क्षमता पनि राख्छन्

५० वर्षमुनिका १४ सय ५८ उम्मेदवार 
प्रतिनिधिसभातर्फका एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका २४ सय १२ उम्मेदवारमध्ये ५० वर्षमुनिका १४ सय ५८ जना छन् । त्यसमा २५ देखि ३० वर्षसम्मका १९५, ३१ देखि ४० सम्मका ५६४ र ४१ देखि ५० वर्षका ६९९ उम्मेदवार छन् । यी उमेर समूहमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा र राप्रपाका उम्मेदवार छन् । स्वतन्त्र र साना दलबाट ठूला दलका तुलनामा धेरै युवा उम्मेदवार छन् ।

…                                        …

आसन्न निर्वाचनमा युवा उम्मेदवारहरूको उल्लेखनीय संख्या छ । उनीहरूमध्ये केही आगामी दिनमा आ–आफ्नो दलको मात्रै होइन देशकै नेतृत्व गर्ने क्षमता पनि राख्छन् । कतिपय युवा अनुहार संसदीय यात्रा आरम्भ गर्दै संसद् र पार्टी दुवैतिर प्रभावकारी भूमिका स्थापित गर्ने योजनासहित अगाडि बढेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेता प्रदीप पौडेल, माओवादी उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल विद्यार्थी राजनीति हुँदै पार्टी नेतृत्वमा स्थापित भइरहेका दोस्रो पुस्ताका नेता हुन् । उनीहरूलाई आ–आफ्नो पार्टीको भावी मुख्य नेतृत्वको रूपमा पनि हेर्ने गरिन्छ ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र सचिव रामकुमारी झाँक्री जोखिम मोल्न सक्ने विद्रोही स्वभावका नेताका हुन् । उनीहरू पार्टी र संसद्मा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने नेताको रूपमा पनि चिनिन्छन् । ०६४ र ०७० मा निर्वाचन जितेका जसपा नेता इस्तियाक राई यसपटक पनि पुरानै क्षेत्र बाँके २ बाट चुनावी मैदानमा छन् । पश्चिममा मधेस आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका उनी जसपाको कार्यकारिणी परिषद् सदस्य छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनाव जितेर नयाँ तरिकाले पार्टीको एजेन्डा संसद् र सरकार दुवैतिरबाट स्थापित गर्ने योजनामा छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै जनताबाट परीक्षण हुन पहिलोपटक चुनावी मैदानमा उत्रिएका रवि लामिछानेप्रति पनि मतदाताको अपेक्षा छ । चुनाव जितेर संसद्मा भूमिका खेल्दै पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने उनको योजना छ ।

पोखरेलको मिसन : नेतृत्वमा स्थापित 
एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवार छन् । जबजका व्याख्याता र वैचारिक नेताका रूपमा परिचित पोखरेललाई एमाले नेतृत्व सम्हाल्न सक्ने दोस्रो तहका थोरै नेतामध्ये मान्ने गरिन्छ । ६० वर्षीय पोखरेल चार दशकदेखि राजनीतिमा सक्रिय छन् । ०४७ देखि ०५० सम्म अनेरास्ववियु अध्यक्ष, आठौँ महाधिवेशनबाट सचिव र दशौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित उनले ३२ वर्षको उमेरमै संसदीय राजनीतिको यात्रा तय गरेका थिए ।

०५१ मा दाङबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल ०७० समानुपातिक, ०७४ मा प्रदेश सभा सांसद निर्वाचित भए । पछिल्लोपटक तत्कालीन वाम गठबन्धनबाट दाङ २ को प्रदेश सभा (ख)बाट निर्वाचित उनी लुम्बिनीको मुख्यमन्त्रीको भूमिका निर्वाह गरे । उनले पूर्वाधार निर्माणमा तीव्रता दिँदै बढी विकास खर्च गर्ने प्रदेश मुख्यमन्त्रीको श्रेय पनि लिए । अध्यक्ष केपी ओलीको प्रमुख रक्षाकवचका रूपमा समेत रहेका पोखरेललाई संसद्मा थप प्रभावकारी भूमिका स्थापित गर्न सक्ने एमाले उम्मेदवारका रूपमा हेरिएको छ ।

संसद् प्रवेशको तयारीमा शर्मा
झापा १ बाट प्रतिनिधिसभा सदस्यका लागि तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रभावशाली युवा नेताका रूपमा चिनिन्छन् । उनी पहिलोपटक संसद् प्रवेशको तयारीमा छन् । ०४० मा धुलाबारी माध्यमिक विद्यालय झापाको नेविसंघ इकाइ सभापति बनेसँगै उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो । उनी ०७२ मा सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित शर्मा पार्टी नेतृत्वमा पुग्ने सोचसहित अगाडि बढेका छन् । पार्टीभित्र र बाहिर आफ्ना कुरा स्पष्ट रुपमा राख्ने उनी संसद्मा पनि प्रभावकारी भूमिका खेल्नसक्ने नेता हुन् ।

हक्की स्वभावका जनार्दन
शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको हैसियतमा रहेका माओवादीका उपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनी चौथोपटक संसदीय निर्वाचनको दौडमा छन् । यसअघि ०६४, ०७० र ०७४ मा उनी लगातार विजय भएका थिए । संसद्मा मुद्दा उठाउने मामलामा उनी माओवादीभित्र अग्रपंक्तिका नेता हुन् । माओवादी शान्ति प्रक्रियामा आएयता उनले गृह मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय र ऊर्जा मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । शर्मा पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र पनि हुन् । ०३४ मा नेकपा चौमको सदस्य बनेसँगै उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनी १० वर्षे सशस्त्र युद्धमा भूमिगत अवस्थामा थिए । उनले स्नातकसम्म अध्ययन गरेका छन् । गत महाधिवेशनमा उनी माओवादी महासचिव पदका दाबेदार थिए । पार्टीमा उनी उपमहासचिवको जिम्मेवारीमा छन् । पार्टीमा भावी नेतृत्व सम्हाल्ने प्रयासमा पनि छन् । पार्टीको पछिल्लो महाधिवेशनमा उनले महासचिव पदको दाबी गरेका थिए ।

प्रधानमन्त्रीको दौडमा गगन
आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेर कांग्रेस महामन्त्री गगन थापा आसन्न निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवार छन् । ०७४ मा त्यही क्षेत्रबाट उनले वाम गठबन्धनका उम्मेदवार एमालेका राजन भट्टराईलाई तीन हजार ४१८ को मतान्तरले पराजित गरेका थिए । ०७४ मा थापाले २१ हजार ५५८ मत ल्याएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए । राष्ट्रिय मुद्दामा पार्टीको घेराबाट माथि उठेर बोल्नसक्ने छवी बनाएका थापा हक्की स्वभावका छन् । संसद्मा रहँदा उनले सत्ता र प्रतिपक्षी सांसदका रूपमा सशक्त भूमिका निभाएका थिए । थापाको राजनीतिक यात्रा ०५१ बाट त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित भएबाट सुरु भएको थियो । ०६४ मा संविधानसभामा समानुपातिक सांसद बनेपछि उनको संसदीय यात्रा सुरु भएको थियो । ०७० मा काठमाडौं ४ बाट निर्वाचित भएका थिए । ०७३ मा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बने । प्रभावशाली भाषण कला भएका थापाले संसद्मा प्रतिपक्षको भूमिकामा रहँदा सरकारका कतिपय गलत कदममाथि खबरदारी गरेका थिए ।

शालीन र बौद्धिक नेता पौडेल
कांग्रेसका युवा नेता प्रदीप पौडेल संसद्मा डेब्युको तयारीमा छन् । युवा पुस्तामाझ लोकप्रिय उनी शालिन र बौद्धिक नेताका रुपमा पनि चिनिन्छन् । ०५३ मै अस्कल क्याम्पसमा स्ववियु सभापति भइसकेका उनले नेविसंघको कुशल नेतृत्व पनि गरिसकेका छन् । यो पटक भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएर काठमाडौं ५ बाट चुनावी मैदानमा उत्रिएका छन् । उनले निर्वाचित भएपछि नागरिक पर्यवेक्षण समितिमार्फत सांसदको प्रतिबद्धताको निगरानी गर्नेलगायतका एजेन्डा अगाडि सारेर नयाँ तरिकाले संसदीय भूमिका प्रभावकारी बनाउने योजना बनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेका पौडेल तेस्रोपटक पार्टी केन्द्रीय सदस्यका रूपमा छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी पार्टीको नेतृत्व हाँक्न सक्ने सीमित युवा नेताका रुपमा पनि चिनिन्छन् । अघिल्लो निर्वाचनमा जित हासिल गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ मा पौडेलको प्रतिष्पर्धी छन् । गठबन्धनको साथ रहेकाले सहज जित रहेको उनको भनाइ छ ।

वैचारिक नेता पुन
रोल्पामा माओवादीका तर्फबाट उम्मेदवार रहेका वर्षमान पुन तेस्रोपटक संसद् प्रवेशको तयारीमा छन् । उनी ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर १ बाट निर्वाचित भएका थिए । उनले अर्थ, शान्ति तथा पुनर्निर्माण र ऊर्जामन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । शान्ति प्रक्रियाको पूर्णतादेखि, संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । ०७० मा मोरङबाट पराजित भएका उनी ०७४ मा रोल्पाबाटै निर्वाचित भएका थिए । ०७४ मा वाम गठबन्धनका उम्मेदवार थिए । कांग्रेससहित सत्तागठबन्धनको साथमा उनी निर्वाचन लड्दै छन् । ०४७ मा नेकपा एकता केन्द्रको साधारण सदस्य भएसँगै उनको राजनीतिक यात्रा सुरु भएको थियो । ०५५ मा उनी माओवादी केन्द्रीय सदस्य बनेका थिए । गत महाधिवेशनमा उनी महासचिवका दाबेदार थिए । पुन महासचिव हुँदै पार्टी नेतृत्वमा पुग्ने तयारीमा छन् । पार्टीभित्र वैचारिक क्षमता राख्ने थोरै नेताभित्र पर्ने पुन संयोजनकारी र कूटनीतिक भूमिकामा पनि पार्टीभित्र निपुण मानिन्छन् ।

माओवादीभित्र एक्ली महिला पदाधिकारी
माओवादी उपमहासचिव पम्फा भुसाल ललितपुर ३ मा सत्तागठबन्धनकी उम्मेदवारी छिन् । हाल ऊर्जामन्त्रीको जिम्मेवारीमा समेत छिन् । उनी ०६४ मा संविधानसभा सदस्य बनेकी थिइन् । ०७४ मा यसै क्षेत्रबाट निर्वाचित भइन् । यसपटक अन्तिमपटक निर्वाचन लड्ने उद्घोषसहित उनी मैदानमा छिन् । ०३३ बाट अनेरास्ववियुको सदस्यता लिएसँगै उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनी माओवादी नेतृत्वको सशस्त्र विद्रोहमा सामेल भएकी नेतृ हुन् । उनले महिला, बालबालिका तथा समाजकल्याणमन्त्री, शान्ति तथा पुनर्निर्माणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् । भुसाल माओवादीमा एक्लो महिला पदाधिकारीका रूपमा रहेकी छिन् । उनले महासचिव हुँदै पार्टी नेतृत्वमा पुग्ने चाहना राख्दै आएकी छिन् ।

संसद् र पार्टीमा कद बढाउँदै भट्टराई
एमालेभित्र उदीयमान नेताका रूपमा हेरिने सचिव योगेश भट्टराई दोस्रोपटक ताप्लेजुङबाट उम्मेदवार छन् । ०७० मा काठमाडौं ६ मा पराजित भएपछि गृहजिल्ला ताप्लेजुङ फर्किएका उनी संसद् र पार्टी दुवैतिर प्रभावकारी भूमिका निर्वाह गर्ने थोरै नेतापंक्तिमा पर्छन् । ५६ वर्षीय भट्टराईले एमालेभित्रको अन्तर्संघर्षमा संस्थापनइतर समूहमा रहेर पनि संसद् र सडक दुवै भूमिकामा विपक्षीमाथि हावी भएको अलग्गै परिचय बनाएका छन् । चार दशकको राजनीतिक यात्रामा अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टी पदाधिकारी भएका भट्टराई दोस्रोपटक सचिवको जिम्मेवारीमा छन् । ०७६ साउनमा पर्यटनमन्त्री भएर करिब डेढ वर्षको राजकीय जिम्मेवारी सम्हालेका उनले ०५५ मा विद्यार्थीलाई कालापानी मार्च गराएर राष्ट्रियताको आन्दोलनको जागरण पैदा गरेका थिए । दोस्रोपटक संसद् यात्राका लागि प्रयासरत भट्टराईको प्रतिस्पर्धा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग छ ।

विद्रोहको औचित्य स्थापित गर्ने कोसिसमा ज्वाला
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट छैटौँपटक उम्मेदवार छन् । चारपटक संसदीय यात्रा तय गरेर पाँचौँपटक विजयका लागि प्रयासरत ज्वाला उदीयमान र संसद्मा प्रभावकारी भूमिका खेल्न सक्ने पार्टीभित्र थोरै नेताभित्र पर्छन् । संसदीय समितिमा पनि उनले प्रभावकारी भूमिका खेल्दै आएका थिए । अध्ययनप्रति रुचि राख्ने थोरै नेतामध्येका एक ज्वालाले उनकै भाषामा अहिलेको सत्तारूढ गठबन्धन निर्माणका लागि परिणाममुखी कामका लागि आँट गरेका थिए । अघिल्लोपटक कर्णाली प्रदेशको सरकारविरुद्ध तत्कालीन एमालेले दर्ता गरेको अविश्वास प्रस्तावविरुद्ध विश्वासको मत दिएर चर्चामा आएका ज्वालाले जोखिम मोल्न सक्ने नेताको परिचय पनि बनाएका छन् । चुनाव जित्नका लागि उनले त्यही विद्रोही परिचयलाई संविधानको रक्षा, सल्यानको विकास र युवा रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन् । ५५ वर्षीय ज्वालाका लागि मुख्य प्रतिस्पर्धी पूर्व पार्टी एमालेका गुलावजंग शाह छन् ।

जित निकाल्ने झाँक्रीको प्रयास
अनेरास्ववियुको अध्यक्ष हुँदै राजनीतिमा युवा नेतृका रूपमा परिचित ४४ वर्षीया रामकुमारी झाँक्री गुल्मी २ बाट उम्मेदवार छिन् । उनको प्रतिस्पर्धा भने आफ्नै पूर्वपार्टी एमाले सचिव गोकर्ण विष्टसँग छ । ०६४ बाहेक ०५६ यता लगातार जित हासिल गर्दै आएका विष्टसँगको चुनावी प्रतिस्पर्धामा झाँक्रीले दोस्रो संसदीय यात्राका लागि मिहिनेत गरिरहेकी छिन् । झाँक्री एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा अध्यक्ष माधवकुमार नेपाललाई डो¥याइरहेको तस्बिरबाट चर्चामा आएकी थिइन् । सहरी विकासमन्त्रीबाट आफ्नो बिदाइ अनायस भएको झाँक्रीले खसालेको आँसु तस्बिरबाट प्रस्टिएको थियो । यसले झाँक्रीमा आफ्नो भूमिका स्थापित गर्ने हुटहुटी छ भन्ने पुष्टि हुन्छ ।

पार्टीलाई स्थापित गर्ने प्रयासमा लिङ्देन
झापामा कांग्रेस नेता कृष्ण सिटौलाका प्रतिस्पर्धीका रूपमा सधैँ चर्चामा आइरहने नाम हो– राजेन्द्र लिङ्देन । दुई–दुईपटक सिटौलासँग प्रतिस्पर्धामा हार व्यहोरेका लिङ्देन तेस्रो प्रयासमा ०७४ को निर्वाचनमा प्रतिनिधिसभाका सांसद बने । राष्ट्रिय प्रजातन्त्र पार्टीले लज्जास्पद हार व्यहोरेका वेला उनी यो पार्टीबाट संसद् छिर्ने एक्ला सांसद थिए । यसपटक पनि झापा ३ मा सिटौलासँगै उनको मुख्य प्रतिस्पर्धा हुँदै छ । कमल थापालाई हराएर राप्रपाको नेतृत्वमा पुगेका उनी पछिल्लो समय पार्टीलाई ‘वैकल्पिक शक्ति’ बनाउने लक्ष्यसहित चुनावमा होमिएका छन् । यो चुनावको मिति घोषणापछि पनि सरकारले प्रतिनिधिसभाको आयु बढाउने ध्येयसहित विधेयक ल्याउँदा उनले सभामुखसँग विशेष समय माग्दै रोस्ट्रममै उभिएर अबउप्रान्त संसद्मा उपस्थित नहुने र तलब–भत्ता नलिने घोषणा गरे । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो’ भन्ने नारासहित देशभर स्थापित गर्दै हिँडेका लिङ्देनले राप्रपाको नेतृत्वमा पुगेपछि आफ्नो संगठन विस्तारमा ठूलो भूमिका खेलेका छन् ।

युवाको प्रतिनिधित्व गर्ने प्रयासमा पौडेल 
डेढ वर्षदेखि युवा संघ नेपालको अध्यक्ष किरण पौडेल एमालेबाट प्रतिनिधिसभाका लागि काठमाडौं १ बाट उम्मेदवार छन् । युवा आन्दोलनका चर्चित अनुहार ४१ वर्षीया पौडेलले युवाको मन जित्ने गरी क्षेत्रका समस्यासँगै युवाहरूका मुद्दालाई महत्व दिँदै चुनावी एजेन्डा अगाडि सारेका छन् । त्यसका अतिरिक्त दैनिक दुई घन्टा टोलटोलका जनताका समस्या सुन्नका लागि ‘जनतासँग प्रतिनिधि’ कार्यक्रम नियमित रूपमा सञ्चालन गरेर क्षेत्रको विकास नयाँ ढंगले अगाडि बढाउने उनको अर्को मुख्य एजेन्डा छ । यद्यपि, संसद्मा पहिलोपटक डेब्यु गर्ने लक्ष्यसहित अघि बढेका पौडेलका लागि कांग्रेसका हेभिवेट नेता पूर्वउपसभापति प्रकाशमान सिंह मुख्य चुनौती छन् ।

‘टोलमा उपस्थित भएर जनताका समस्या, चासो र सरोकारका विषय तथा सुझाव सुन्न र त्यसमा छलफल गर्न हरेक दिन कम्तीमा पनि दुई घन्टा ‘जनतासँग प्रतिनिधि’ कार्यक्रम आयोजना गर्नेछौँ,’ पौडेलको अलग्गै प्रतिबद्धता छ, ‘एमाले र कांग्रेसको हाराहारीकै नेट टु नेट मत हो, ०७४ को निर्वाचन र स्थानीय तह निर्वाचनको मत उस्तै छ, त्यसैले जितका लागि पार्टीको आधार नै बलियो छ, यहाँका जनताले पुराना प्रतिनिधिको विकल्प खोजेका छन्, त्यसैले मेरो जितको आधार पनि त्यही हो ।’

राजनीतिमा रविको हस्तक्षेपको प्रयास
टेलिभिजन कार्यक्रममा कमाएको लोकप्रियता ‘क्यास’ गर्दै पत्रकारिता छाडेर हालै राजनीतिमा होमिएका पात्र हुन्, ४७ वर्षीय रवि लामिछाने । उनले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अहिले मतदातामाझ घन्टी बजाउँदै मत माग्न गइरहेका छन् । चितवन २ बाट उम्मेदवारी दिएका रवि स्वयं साथमा देशको झन्डासहित भोट मागिरहेका छन् । समानुपातिकमा राम्रो मत ल्याएर आफ्नो पार्टीलाई राष्ट्रिय दल बनाउने लक्ष्यमा हिँडेका लामिछाने चितवन २ मा कांग्रेसका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठ र एमालेका नेता कृष्णभक्त पोखरेलविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । पार्टीकै अध्यक्षको निर्वाचन क्षेत्र भएकाले उनको पार्टीले यहाँ बढी नै मिहिनेत गरेको छ । आफू संसद्मा निर्वाचित भएर देशको नेतृत्व गर्ने अवस्थामा पुगे बालुवाटारलगायत भ्रष्टाचार आशंका गरिएका र देशव्यापी विवाद र बहस भएका ललितानिवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यती र ओम्नी काण्ड, बेटी पढाऊ बटी बचाऊका लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिदलगायतका प्रकरणको फाइल खोल्ने उद्घोष नै गरेका छन् । उनले गैरदलीय राष्ट्रपति र राष्ट्रिय सभा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको परिकल्पना गरेका छन् ।

गोल्ड मेडलिस्ट मानुषी
मानुषी यमी भट्टराई पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छिन् । उनी काठमाडौं ७ मा सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार छिन् । ३६ वर्षीया यमी माओवादीकी सबैभन्दा कम उमेरकी उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीकी छोरी मानुषी राजनीतिक पृष्ठभूमिबाटै उदाएकी थिइन् । नेपालमा जनयुद्ध चलिरहेको समयमा ०५९ मा अध्ययनका क्रममा भारतमा रहँदा उनको राजनीतिक यात्रा सुरु भएको थियो । माओवादीनिकट प्रवासी संगठनमा सेल कमिटी सदस्य भएर राजनीतिमा औपचारिक यात्रा थालेकी थिइन् । नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी राजनीतिलाई अगाडि बढाएकी थिइन् । त्रिविमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्षको रूपमा रहेकी थिइन् । तत्पश्चात् स्ववियु सचिव, कार्यवाहक सभापति हुँदै अखिल क्रान्तिकारीको सचिवालय सदस्य र माओवादीको जिल्ला सदस्यको रूपमा भूमिका निभाएकी थिइन् । ०७२ सालमा नयाँ शक्ति निर्माण अभियान सुरु गरेपछि मानुषीले पनि त्यही अभियानलाई साथ दिएकी थिइन् । उनी नयाँ शक्तिको प्रवास प्रादेशिक समिति केन्द्रीय सचिवालय सदस्य र पार्टीको केन्द्रीय परिषद् सदस्य बनेकी थिइन् । उनलाई युवापुस्तामा रुचाइएकी र क्षमतावान् नेतृको रूपमा लिइन्छ । ०७४ मा काठमाडौं ७ मा एमालेका रामवीर मानन्धरले १८ हजार १०२ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत पाएका थिए । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यस क्षेत्रमा वडा अध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा गठबन्धनले १८ हजार ५८२ मत पाएको छ भने एमालेले १२ हजार २०२ मत पाएको थियो ।

मधेस आन्दोलनका अगुवा
०६४ र ०७४ मा बाँके २ बाट निर्वाचन जितेका ४३ वर्षीय मोहम्मद इस्तियाक राई अहिले पनि सोही क्षेत्रबाट जसपाका उम्मेदवार छन् । उनी मुस्लिम परिवारबाट राजनीतिमा उदाएका युवा नेता हुन् । चुनावको मुखैमा जसपाले सत्तागठबन्धन त्यागेर एमालेसँग गठबन्धन गर्ने निर्णय गरेसँगै उनी र जसपाका अन्य तीन मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गरिदिए । राई मन्त्रीबाट बर्खास्त भएपछि अहिले पूरै समय चुनाव प्रचार र घरदैलोमा दिइरहेका छन् । राप्रपाका केन्द्रीय महामन्त्री धवलशमशेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणा उनका मुख्य प्रतिस्पर्धी छन् । धवललाई एमालेको साथ छ भने राणालाई सत्तागठबन्धनको । अन्यत्र जसपालाई एमालेको साथ भए पनि बाँके २ मा इस्तियाक भने एक्लै मैदानमा छन् । नसकेको काम गर्छु भनेर चुनावका वेला झुटो आश्वासन नबाँडेको, तर विकासका काममा खुसीपूर्वक सहभागी हुने गरेको बताउँछन् । ०६३ मंसिरतिर जब विद्रोही माओवादीलाई सरकारले औपचारिक रूपमै शान्तिप्रक्रियामा ल्याइरहेको थियो, त्यतिवेला तराई मधेसमा अन्तरिम संविधानलाई लिएर विद्रोहको आगो दन्किरहेको थियो । त्यतिवेला आफ्नो अधिकारका लागि मधेसी जनता सडकमै उर्लिएका थिए । त्यो समय आन्दोलनको नेतृत्वपंक्तिमा उभिएका राई एक हुन् । त्यसपछि ०६५ सालमा फोरमको राजनीतिक समिति सदस्य बनेका मोहम्मद ०७४ मा केन्द्रीय सचिव नै बने । उपेन्द्र यादव नेतृत्वको त्यही पार्टी अहिले विभिन्न टुटफुटको चरणपछि अहिले जनता समाजवादी पार्टी बनेको छ ।nayapatrikadaily

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*