सुकेटारको कथा

राजेन्द्र श्रेष्ठ
कार्तिक १०, २०७९


ताप्लेजुङलाई चिनाउने प्रसिद्ध ठाउँ मध्ये एक हो सुकेटार विमानस्थल । स्थानीयले धेरै वर्ष अघिबाट यसलाई ‘सुकेटार गिरान’ नामले पनि चिन्थे । चौउरमा उफ्रँदै जहाज बस्ने समयदेखि फैलिएर कालोपत्रेमा सररर जहाज गुड्दै उड्दाको समय सम्म यो विमानस्थलले धेरै परिचय बनायो । पर्यटकीय क्षेत्रमा भएकाले यसलाई उड्ने र अवतरण गर्ने स्थानका रूपमा मत्रै हेरिएन । कञ्चनजंघा, कुम्भकर्ण र पाथीभरा आउने आन्तरिक तथा बाह्य पर्यटकको नजरमा पर्यटकीय क्षेत्रका रूपमा परिचित सँधै छ ।
आफ्नै परिचयले भरिपुर्ण सुकेटारलाई केही समय यता यसलाई विवादमा तान्ने काम पनि भयो । कारण हो विमानस्थलाई ‘रविन्द्र अधिकारी विमानस्थल’ नाम दिएर । सरकारको एउटा निर्णयले यसको दुस्प्रचार भयो । योगेश भट्टराई मन्त्री पदबाट राजीनामा दिएको ५ महिना पछि सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सुकेटार विमानस्थलका नाम परिर्वतन गरेपछि यो निर्णय सच्याउन र गलत निर्णय सरकारले गरेकोमा जिल्लावासीमा एक मत छ । विमानस्थलको नाम परिवर्तन गर्नुहुँदैन भन्दै तत्कालिन समयमा मन्त्री योगेश भट्टराई देखि काठमाडौँमा रहेका ताप्लेजुङले विरोध नगरेका पनि होइनन्  । सामाजिक सञ्जालमा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले निर्णय गलत भएको स्टाटस नै लेख्नुभयो । जुन अहिले पनि देख्न सकिन्छ ।

यस्ता विरोधका लहर धेरै छाए ताप्लेजुङका सात राजनीतिकदलले सरकारले विकासको नाममा स्थानीयको मौलिकता माथि हस्तक्षेप गर्न खोजेको भन्दै  सयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी विरोध जनाए

काठमाडौमा रहेका ताप्लेजुङेहरुको संस्था  ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौ, ताप्लेजुङ सरोकार केन्द्र सुनसरी र झापाले समेत  विरोध गरयो । त्यस्तै सामाजिक सञ्जालमा सुकेटार बचाऔ अभियान नै शुरु भयो ।

 

 


ताप्लेजुङ बजारबाट ८ किमि माथि समुद्र सहतबाट करिब ८ हजार फिट उचाईमा रहेको सुकेटार टाढाटाढाको दृश्य देख्न सकिने एउटा सुन्दर र रमणीय ठाउँ हो । एर्पोट गिरान विमानस्थल बन्न अघि यो सुकेटार र देवलटार दुई नामले परिचित थियो । गिरान (एयरपोर्ट) खनिसकेपछि यसको नाम सुकेटार भयो । उतिबेला एयरपोर्ट खन्न जानेहरू ‘गिरान खन्न’ जाने भन्थे ।

सुकेटार विमानस्थल
राजाको पहिलो सम्बोधन २००७ साल फागुन ७ गते । त्यही सम्बोधनमा राजा त्रिभुवनले ताप्लेजुङमा एक एयरपोर्ट निर्माण गर्ने घोषणा गरे । सुन्नमा आए अनुसार त्यो शाही सम्बोधनमा ताप्लेजुङमा एयरपोर्ट बनाउने कुरा मित्लुङका नरबहादुर श्रेष्ठको बलमा पर्नगयो । उनै नरबहादुर श्रेष्ठले २०११ सालमा डकोटा प्लेन लिएर एयरपोर्ट बनाउने ठाउँ हेर्न सुकेटारको आकाश माथि आए । त्यो प्लेन आएको बेला हर्कजंग मादेन, इन्द्रनारायण श्रेष्ठ लगायतका समाजका अगुवाहरू सुकेटार गएका थिए । र, त्यहाँ सेतो कपडा क्रस पारेर ओछ्याइएको थियो ।
२०१७ सालमा पनि नरबहादुर सुकेटारमा आउने भए । सामान्य खनेर सम्याइ हेलिकप्टर बस्ने बनाइयो र चुना हालेर क्रस चिन्ह बनाइयो । तर, पुस १ गतेको कान्डले त्यो कामम फासफुस भयो । नरबहादुर मन्सी गणेशबहादुर श्रेष्ठको दाजु हुन् । (नरबहादुर र गणेशबहादुर ताप्लेजुङको पहिलो एसएलसी पास गर्ने व्यक्ति पनि हुन्) उनी नेपाली कांग्रेसका नेता थिए । विपी, मातृका र गिरिजाप्रसाद कोइरालाका नजिकका मान्छे ।
गंगा दाहाल फुङ्लिङका प्रधानपन्च थिए (२०२१ साल) । उनले धनकुटामा राजा महेन्द्रको सवारी हुँदा सुकेटार एयरपोर्टको कुरा गर्ने भए । बल्लभ श्रेष्ठ (१९९०) का अनुसार चन्द्रबहादुर पालुङ्वा, गंगा दाहाल र प्रेमप्रसाद पराजुली कुरा गर्न तयार भए । गंगा दाहालले मात्रै स्पष्ट कुरा राख्न सक्छन् भनेर उनलाई बोल्न अगाडि सारियो । उनले आँट बटुलेर कुराकानी पनि गरे । यसरी २००७ सालदेखि चर्चामा आएको एयरपोर्ट २०२७ सालबाट बन्न सुरु भयो ।
हालको सुकेटार विमानस्थल देवलटार र सुकेटारलाई टेकेर बनेको हो । अहिले टावर बनेको ठाउँछेउको धावनमार्ग दक्षिण–पश्चिमको भागलाई देवलटार र पुर्वोत्तर भागलाई सुकेटार भनिन्थ्यो । सुकेटार क्षेत्रमा धेरै पोखरीहरू थिए । पोखरीहरू सुक्दै गएपछि त्यसको नाम सुकेटार भयो । देवलटार र सुकेटारको बिचमा पछिसम्म एउटा कालो पोखरी थियो । त्यो पोखरीबाट तत्कालिन दोखु गाविस र हाङदेवा दुबैतिर पानी बग्थ्यो ।
देवलटारतिरको जमिन सल्लाहबोटेको सुब्बा भैरवबहादुर मादेन जिम्माको थियो । सुकेटारतर्फ लालबहादुर मादेनको जिम्मामा थियो । त्यसभन्दा पस्र्वोउत्तरको जग्गा भने सुब्बा हर्कजंग मादेन जिम्माको हो । कुनैबेला यस सुकेटार र देवलटार क्षेत्रमा दोखुका पौडेल, हादेवाका घिमिरे, पोखरेल र भट्टराईको गोठ थियो । एयरपोर्ट बनिएपछि त्यसको नाम सुकेटार राखियो । यद्यपि पुरानो एयरपोर्टको मुख्य भाग भने देवलटारको थियो ।
एयरपोर्ट विस्तार हुँदै गएपछि अहिले विमानस्थलको बढी भाग सुकेटारतिर नै पर्छ । सुरुको विमानस्थलमा भैरवबहादुर मादेन, लालबहादुर मादेन र टेकबहादुर गुरुङ (तल्लो सुकेटार साधुधारानिरका बासिन्दा) को जमिन परेको थियो । तीनै जनाले जग्गाको मुआब्जा लिएको देखिन्छ । २०२७ सालको अन्त्यतिरबाट खन्न सुरु गरिएको एयरपोर्ट २०३१ साल (करिब ४ वर्ष) मा सम्पन्न भएको थियो । हवाई विभागबाट एयरपोर्ट खनाउन ईन्जिनियर उपेन्द्र धिताल र एकाउन्टेन्टमा काठमाडौंका एक नेवार थिए । दुबै काठमाडौंका थिए । उनीहरूलाई सहयोग पु¥याउन बहिदार नियुक्त गरिएको थियो । बतासेको भगिमान गुरुङलाई बहिदार राखिएको थियो । पछि बहिदारमा कालिदास तिवारी पनि भए । धितालकै नेतृत्वमा अमानतमा एयरपोर्ट खनाउने काम भएको थियो । सानो सानो ठेक्का दिएर खनाइन्थ्यो । एयरपोर्ट खन्न सुरुमा ११ लाखको बजेट छुट्याइएकोमा पछि २ लाख थपेर १३ लाखमा निर्माण सम्पन्न भएको थियो । एयरपोर्ट खनाउन आएका ई. धिताल र एकान्टेन्ट नेवार साधुधारानिरको टेकबहादुर गुरुङको घरमा डेरा बस्थे ।

अनि भयो एयरपोर्ट विस्तार
२०३८ साल कात्तिकमा विराटनगर विमानस्थलबाट सुकेटार विमानस्थलको लागि उडेको विमान ओभरलोडका कारण उड्ने बित्तिकै दुर्घटनामा प¥यो । उक्त दुर्घटनामा ताप्लेजुङका पुर्व रापंस तथा पुर्व राज्यमन्त्री चन्द्रबहादुर पालुंवा (दोखु) र ताप्लेजुङका सिडिओ गिरीराजमणि गौतमलगायत बच्चा समेत ९ जनाको निधन भयो । प्लाटस्पोर्टर (६ सिटे) मात्रै चल्दै आएको एयरपोर्ट टुइनअटर विमान चल्ने गरी विस्तार गर्ने योजना अनुरूप २०३८ सालबाट एयरपोर्ट विस्तारको काम अगाडि बढ्यो ।
एयरपोर्ट विस्तार क्षेत्रमा हर्कजंग मादेनको जग्गा प¥यो । केही जग्गा सिद्धिडाँडाको नारायण गुरुङको पनि प¥यो । एयरपोर्ट विस्तारको विषयमा जानकार काजी श्रेष्ठ (२००५, फुङलिङ) भन्छन्– ‘सुरुमा जग्गा सित्तैमा दिने भनिए पनि पछि सरकारले दिने सुविधा किन छाड्ने भन्ने भयो ।’ हर्कजंगका छोराहरू सर्न मादेन, नारायण मादेन, वीरबहादुर मादेन, पुर्णबहादुर मादेन र डिल्लीजंग मादेनले मुआब्जा बुझे ।
एयरपोर्टको लागि ठेक्का खुलेपछि काजी श्रेष्ठले ठेक्का लिने विचार गरे । तर, उनीसँग लाइसेन्स थिएन । चैतन्य सुब्बाको चिनजानको मान्छे (आफन्त) संखुवासभको दुर्गा देवान राइको नाममा रहेको लाइसेन्स प्रयोग गरी चैतन्य सुब्बालाई समेत पार्टनर बनाएर काजी श्रेष्ठले ठेक्काको फाराम भरे । ११ लाखको ठेक्का करिब ३० प्रतिशत घटी ७ लाख ७२ हजारमा लिए । ठेकदार देवानको लाइसेन्स मात्रै प्रयोग भयो ।
२०३८ सालमा एयरपोर्ट विस्तारको लागि सर्भेको काम भयो । २०३९ सालबाट खन्ने कामको सुरुवात भयो । विमानस्थल विस्तारका लागि हवाई विभागबाट काठमाडौं, गोदावरीका ठाकुर सिलवाल (२००३) ईन्जिनीयरको रूपमा आए । सिनियर ओभरसियर भए पनि उनी अनुभवी र जिल्ला जिल्लामा विमानस्थल विस्तारमा जान सहजै तयार हुने भएकोले धेरै ठाउँमा उनी इन्जिनीयरको भुमिकामा गएका थिए ।
सर्भे र खन्ने काममा करिब १८ महिनामा समय लागेको कुरा ईन्जिनीयर सिलवाल बताउँछन् । सिलवाल टेकबहादुर गुरुङको घरमा पेइङ गेस्टको रूपमा बस्थे । सुरुमा सिलवालको साथमा काठमाडौंबाटै नेवार एकाउन्टेन्टको रूपमा गएको भए पनि पछि जिल्ला प्रशासन कार्यालयले एक जना काफ्लेलाई एकाउन्टेन्ट खटाएको थियो । सिलवाल स्वभावमा सरल भए पनि काममा कडा र इमान्दार थिए । उनले हरेक १ फिट माटो पुरेपछि पानी हाल्न लगाउथे । पानीको लागि सुकेटारमा भएको साना पोखरीहरूको सहारा लिनुपथ्र्यो । पानी हालेपछि रोलर लगाउन लगाउँथे । सानो–सानो ढुंगा पनि त्यहाँ पर्न दिदैन थिए । आफ्नो पेसाप्रति अत्यन्तै इमान्दार थिए ।
उतिबेला अहिलेजस्तो रोलर ताप्लेजुङमा सम्भव थिएन । त्यसैले २०० लिटरको टिनको ड्रममा बिचमा दरो लौरो राखी सिमेन्ट जमाएर घरेलु रोलर बनाइएको थियो । त्यो रोलर एकातिर दुईजना र अर्कोतिर दुईजना भएर चलाउथे । धुर्वनारायण श्रेष्ठ भन्छन्, ‘कामदारलाई ज्याला दिँदा सुरुमा महिलालाई १४ रुपियाँ र पुरुषलाई १६ रुपियाँ दिइएको थियो । पछि बढाएर महिलालाई १५ रुपियाँ र पुरुषलाई १८ रुपियाँ गरियो । रोलर चलाउनेलाई चलाएको दिन विशेष टिप्स दिने गरिएको थियो । ठेक्कामा नाफा भएन, घाटा पनि भएन । सातुसामल चाहिं घरबाट ल्याएर खाइयो ।’
ठेकेदारमा काजी श्रेष्ठ र चैतन्य सुब्बा भए पनि चैतन्य सुब्बाको तर्फबाट चैतन्यको काका सरोज मेन्याङबोले काम गरेका थिए । खन्न सुरु गरेको केही समय पछि काजीसरलाई साथ दिन विराटनगरबाट धु्रवनारायण श्रेष्ठ पनि पुगे । धुर्वनारायण श्रेष्ठले एयरपोर्ट विस्तारमा महत्वपूर्ण सहयोग पु¥याएका थिए । उनी शिकार खेल्नमा सौखिन मान्छे । धु्रवनारायण श्रेष्ठले सुकेटार एयरपोर्ट विस्तारको काम पनि सघाउँदै विजय पतंवा, मोहन श्रेष्ठ (कहिलेकाहीँ विदुर भट्टराई पनि) हरूसँग शिकार खेल्न जान्थे । सुकेटारमा कालिदास तिवारीले सबैभन्दा पहिला २०३१ सालमा घर बनाएका थिए । तिवारीको त्यही घरको तलामाथि ठेक्काको लागि कोठा भाडामा लिएका थिए । छिरिङ फिन्जो सहयोगीको रूपमा थिए । ठेक्दारहरू सबै त्यही खाना खान्थे । एयरपोर्ट विस्तार अवधिभर प्लेन उडानमा कुनै बाधा भएन ।
२०३८ सालपछि पनि विमानस्थल पटक पटक विस्तार हुँदै आएको छ । दोस्रो विस्तारको काम २०६७ र २०६८ मा भयो । ६५० मिटरको रन–वेलाई ३०० मिटर थप गरी ९५० मिटरको बनाइयो । दोस्रो विस्तारका लागि धुलिखेल (हाल संखमुल)का ई. मणिशंकर श्रेष्ठ गएका थिए भने एकाउन्टेन्टमा विराटनगरका गोविन्द दाहाल थिए । दोस्रो विस्तारमा मादेन परिवारबाटै ९० रोपनी जग्गा मुआब्जा लिएर दिइएको थियो । अहिले पनि विस्तारको काम जारी छ ।

टावर
अहिले टावर बसेको ठाउँ भैरवबहादुर मादेन जिम्माको थियो । भैरवबहादुर मादेनबाट कालिदास तिवारी र राम थापामगर (मगरकान्छाको छोरा) ले भैवरबहादुरको बुहारी मादेनबाट २०३४ मा संयुक्त नाममा किनेका थिए । किनेको केही समय पछि नै टावरको लागि जग्गा अधिग्रहण भयो । त्यो अधिग्रहणमा कुवेर श्रेष्ठ (हान्द्रुङे साइला) को जग्गा पनि प¥यो । टावर र एप्रोन निर्माणका लागि हवाई विभागबाट ई. रत्न श्रेष्ठ गएका थिए ।

सुकेटारको नाम परिवर्तन किन ?
सुकेटार– यसको आफ्नै पहिचान छ । यो पहिचान ताप्लेजुङवासीको मनमस्तिस्क र जनजिब्रोमा रहेको छ । अनि देश देशान्तरसम्म फैलिएको छ । यही नाम ताप्लेजुङवासीहरूको लागि प्रिय छ । यो प्रिय नामलाई नेपाल सरकारले गत वर्षको जेठ १५ गते बजेट वक्तव्यमार्फट रविन्द्र अधिकारी विमानस्थल राखिदिएको छ ।
‘स्थानीय स्तरबाट नाम परिवर्तनको विषयमा आवाज उठ्यो, माग भयो भने ऐतिहासिकता, आवश्यकता र औचित्यताको आधारमा कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । तर, स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुरा कुनै कोणबाट पनि उचित हुन सक्दैन । यस्ता गलत क्रियाकलापले समाजलाई भाड्ने र अस्थिरता पैदा गर्ने काम मात्रै गर्छ,’ यो भनाई सबैको भयो र छ पनि ।
नाम राख्ने र फेर्ने काम स्थानीयवासीको हो । सरोकारवालाको हो । अरुको अधिकार र भावनामाथिको हस्तक्षेपले कसैको हित गर्दैन । त्यसैले यस्ता बचकना निर्णयलाई तुरुन्त सच्याउनु पर्छ भन्ने आम जिल्लावासीको भनाइ रहेको पाइन्छ । यो विषयमा जिल्लाबासी सँधै एक मत छन् । तत्कालिन मन्त्री भट्टराई देखि सवैले विरोध गरेपछि रविन्द्र अधिकारी विमानस्थल कार्यान्वयनमा नआएको हो । सुकेटार सुकेटार नै हो यसमा कसैको दुईमत छैन । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*