माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा गठबन्धनमा फाटो
काठमाडौं । देशैभर गठबन्धन गर्ने निर्णय गरेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा सत्ता गठबन्धनमा फाटो आएको छ । रौतहट क्षेत्र नम्बर ४ प्रदेश ‘क’ मा एकीकृत समाजवादीले आफ्नो आधिकारिक उम्मेदवार उठाएपछि गठबन्धनमा फाटो आएको हो ।
केन्द्रीय सहमतीअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधी सभा नेपाली कांग्रेसलाई , प्रदेश ‘क’ नेकपा माओवादी केन्द्र र प्रदेश ‘ख’ एकिकृत समाजवादीको भागमा परेको थियो । सोही सहमतीअनुसार आइतबार नेपाली कांंग्रेसका प्रतिनिधी सभाका उम्मेदवार देव प्रसाद तिमल्सिना, प्रदेश ‘क’ का नेकपा माओवादी केन्द्रका युवराज भट्टराई ‘समिर’ र प्रदेश ‘ख’ एकीकृत समाजवादीका शेख सतार संयुक्त रुपमा गठबन्धनको तर्फबाट जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
मनोनयन र्यालीमा प्रयोग गरिएको व्यानरमा तीनैजना उम्मेदवारको तस्विर राखिएका थिए । तर उनीहरुले मनोनयन दर्ता गरेको केही समय पश्चात एकीकृत समाजवादीको तर्फबाट पार्टी अध्यक्ष माधव कुमार नेपालद्वारा हस्ताक्षरित पार्टीको आधिकारिक टिकट बोकेर बालकृष्ण श्रेष्ठले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि सत्ता गठबन्धनमा फाटो देखिएको हो ।



















