शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ?
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आइतबार हर्षोल्लासका साथ मनोनयन दर्ता गराए ।
सत्ता गठबन्धनले आइतबार बिहानसम्ममा टिकटको टुंगो लगाएको थियो भने एमाले सहितको गठान्धनले भने शानिबार नै सबै क्षेत्रको टिकट मिलाइसकेर नेताहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र पठाइसकेको थियो । यस पटकको निर्वाचनमा सत्ता र प्रतिपक्ष दल छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यो निर्वाचनमा २०४८ सालदेखि निरन्तर चुनाव लडिरहेकादेखि पहिलोपटक चुनावमा भाग लिएका नेताहरू समेतको प्रतिस्पर्धा हुने भएको छ ।
कतिपय पूर्व प्रशासक, पूर्वप्रहरीदेखि स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा छन् । २०४८ साल देखि निरन्तर चुनाव लडेका नेताहरू सातौँपटक पुग्दासमेत अझै चुनाव लड्न छाडेका छैनन् ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गरिदिनुभएको थियो । दुईपटक पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका देउवा सातौंपटक चुनावी मैदानमा हुनुहुन्छ ।
२०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका उहाँ २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत हुनुभएको थियो । देउवा २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचन, २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा लगातार जित्दै आउनुभएको छ । २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५८, २०६१, २०७४ मा गरी यसअघि चार पटकसम्म प्रधानमन्त्री हुनुभएको थियो ।
२०७२ यता देउवा निरन्तर नेपाली कांग्रेस सभापति हुनुहुन्छ । यस पटकको निर्वाचनमा देउवा आफैँले कार्यकर्ता बनाएर राजनीति सिकाएका नेपाली कांग्रेस बिपीको तर्फबाट उम्मेदवारी दिएका कर्ण मल्लसँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँलाई एमालेले समर्थन गरेको छ ।
केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ । ओली आफैँ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउनुभएको हो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा– ५ बाट निर्वाचित भएका ओली त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर चुनावी मैदानमा हुनुहुन्थ्यो । यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा– ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीसँगै पराजित हुनुभएको थियो ।
२०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि र २०५६ सालको आम निर्वाचनमा ओली झापा निर्वाचन क्षेत्र नम्बर– ६ बाट निर्वाचित हुनुभएको थियो । २०७० सालमा झापा–७ बाट संविधानसभा सदस्य र २०७४ मा सोही क्षेत्रबाट सांसदमा निर्वाचित हुनुभएको उहाँ दुईपटक प्रधानमन्त्री भइसक्नुभएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावकमा डा. भट्टराई र समर्थकमा श्रेष्ठ रहनुभएको छ । उम्मेदवारी दर्तापछि प्रचण्डले पूर्व–पश्चिम र मधेस–पहाड घुम्दै चुनाव लड्ने आफू नेपालको इतिहासमै पहिलो व्यक्ति हुनसक्ने प्रतिकृया दिनुभएको थियो । २०६४ यता निरन्तर संसदमा प्रतिनिधित्व गरिरहेका प्रचण्ड २०६५ सालमा प्रधानमन्त्री हुनुभएको थियो । २०६४ साल यताका तीनवटा निर्वाचनमा काठमाडौं, सिरहा र चितवनबाट संसद्मा प्रतिनिधित्व गरेका प्रचण्ड २०५७ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।
माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट क्षेत्र नम्बर– १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । रौतहटको सदरमुकाम गौरमा पुगेर उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री नेपाल पनि दशकौं अघिदेखि निरन्तर संसद्मा हुनुहुन्छ । उहाँलाई गठबन्धनका दलहरूको सहयोग रहेको छ ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी हुनुहुन्छ । पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसले कारबाही गरेका नेता गोविन्दराज जोशीले पनि मनोनयन दर्ता गराउनुभएको छ ।
शेखर कोइराला
मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँसँग एमालेबाट प्रतिनिधिसभातर्फ लालबाबु पण्डितले मनोनयन दर्ता गराउनुभएको छ । २०७४ सालको निर्वाचनमा कोइराला लालबाबुसँगै पराजित हुनुभएको थियो । त्यसबेला एमाले माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।
उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर– २ बाट उम्मेदवारी दिनुभएको छ । एमालेसँगको गठबन्धन गरेका यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०६४ र २०७० सालको संविधानसभामा निर्वाचनमा भने उहाँ सुनसरी ५ बाट निर्वाचित हुनुभएको थियो ।
ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । २०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं–५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०५४ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित पोखरेल २०५६मा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं– ४ बाट उम्मेदवार दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराएपछि उहाँले सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने भन्दै ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने प्रतिक्रिया दिनुुभएको थियो । काठमाडौं क्षेत्र नम्बर–४ ले आफूलाई पहिचान दिएको भन्दै उहाँले यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको बताउनुभयो । थापा यसै क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित हुनुभएको थियो । २०६४ को संविधानसभा निर्वाचनमा उहाँ समानुपातिक सांसद हुनुहुन्थ्यो । उहाँसँग नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
विश्वप्रकाश शर्मा
अघिल्लो निर्वाचन झापा क्षेत्र नं.–१ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक पनि सोही क्षेत्र बाट मनोनयन दर्ता गराउनुभएको छ । यो क्षेत्रमा नेकपा एमालेले अग्नि खरेललाई अघि सारेको छ । अघिल्लो निर्वाचनमा उहाँ माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग उहाँ पराजित हुनुभएको थियो ।



















