देश बनाउने शक्तिलाई जनताले स्थापित गर्नुपर्छ : नेता पोखरेल

वेलकम खबर
अशोज १४, २०७९

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको राजनीति दुई ध्रुवमा ध्रुवीकृत रहेकाले देश बनाउने शक्तिलाई स्थापित गराउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

दशैंको अवसरमा शुक्रबार यहाँ पत्रकारसँग शुभकामना आदान प्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । देशको ठूला परिवर्तनमा मिडियाले खेलेको भूमिका अविस्मरणीय रहेको र आगामी परिवर्तनमा पनि मिडियाकै भूमिका महत्त्वपूर्ण रहने हुनाले सबै दलका नेतालाई एउटै डालोमा राख्न नहुने उहाँको भनाइ छ ।

“सहीलाई सही र गलतलाई गलत भनेर सञ्चार माध्ययमले उल्लेख गरिदिनुपर्छ, सबै नेता खराब, सबै दल खराब भनेर समाचार सम्प्रेषण गर्न हुँदैन” उहाँले थप्नुभयो, “एउटा ध्रुवको नेतृत्व नेकपा ९एमाले० ले गरिरहेको छ, अर्को ध्रुवको नेतृत्व गठबन्धन दलले गरेका छन्, देश बनाउने शक्ति कुन हो मिडियाले मूल्याङ्कन गरिदिनुपर्छ ।”

मुलुकको आर्थिक समृद्धि कायम गर्ने अभियानमा एमाले रहेको र त्यसमा सञ्चार माध्यमको सहयोग अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । “हाम्रो कमी कमजोरी पनि छन्, होलान्, त्यसलाई मिडियाले समयमै औँल्याएर सजग गरादिनु पर्छ, सत्य र तथ्यका आधारमा कामको मूल्याङ्कन गरिदिनुपर्छ” नेता पोखरेलले भन्नुभयो, “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आइरहेकाले देश र जनताको हितमा काम गर्ने शक्तिलाई मतदान गरेर स्थापित गर्नुपर्छ ।”

सो अवसरमा सबै नेपाली दिदीबहिनी, दाजुभाइ, पत्रकार एवम् सञ्चारकर्मीलाई दशैं, तिहार तथा छठको अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभयो । आगामी निर्वाचनले मुलुकको राजनीतिक धारलाई परिवर्तन गर्ने, देश र जनताको पक्षमा रहने नेता तथा राजनीतिक दललाई जनताले स्थापित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*