एमाले र राप्रपाबीच तालमेल निश्चित

वेलकम खबर
भदौ १५, २०७९

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने लगभग निश्चित भएको छ । सत्ता गठबन्धनको सामना गर्न एमाले र राप्रपा निश्चित ठाउँमा तालमेल गर्न तयार भएका हुन् ।
‘अघिल्ला चुनावको अंकगणित, घटनाक्रमले पनि सहकार्यको सम्भावना देखाएको छ,’ रापप्रा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘एमाले अध्यक्ष केपी ओलीज्यूसँग हाम्रो कुराकानी भइरहेको छ । सायद निश्चित ठाउँहरूमा तालमेल हुन्छ होला ।’
पाँचदलीय गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दबाब महसुस गरेको एमालेले राप्रपासँग गठबन्धन गर्ने निष्कर्षमा पुगेको हो । राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, ‘हाम्रो पार्टीको लाइन पनि त्यस्तै छ । उहाँलाई हामीहरूको सहयोग आवश्यक रहेको, हामीलाई उहाँहरूको सहयोग आवश्यक रहेको क्षेत्रमा तालमेल हुन सक्छ ।’

स्रोतका अनुसार एमालेले राप्रपासँग करिब १५ ठाउँमा तालमेलका लागि प्रस्ताव गरेको छ । लिङ्देनले सिट र ठाउँबारे खुलाउन नचाहे पनि राप्रपाको विशेष प्रभाव रहेको क्षेत्रमा सहकार्य गर्न एमाले अध्यक्ष ओली सकारात्मक रहेको स्विकारे ।

राप्रपा झापामा अध्यक्ष लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीलगायतलाई जिताउन एमालेसँग तालमेल गर्न तयार भएको छ ।

एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । एमालेको अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ ।

एमालेको साथ पाएको अवस्थामा प्रत्यक्षतर्फ कम्तीमा पाँच सिट जित्ने, समानुपातिकमा थ्रेसहोल्ड कटाउने र संसद्मा राष्ट्रिय मान्यताप्राप्त दलको मान्यता पाउने राप्रपाको विश्लेषण छ ।

स्थानीय निर्वाचनमा नै एमाले र राप्रपाबीच तालमेलको चर्चा चलेको थियो । १७ चैत ०७८ मा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री धवलशमशेर राणाबीच नेपालगन्जको स्नेहा होटेलमा चुनावी सहकार्यकै विषयमा करिब दुई घन्टा लामो रात्रिकालीन छलफल भएको थियो । उक्त छलफललाई अर्थपूर्ण रूपमा हेरिए पनि त्यतिवेला तालमेल हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*