देशको कला-संस्कृति जगेर्ना गर्दै मौलिक चाडपर्वको गरिमा राखौं : राष्ट्रपति

वेलकम खबर
भदौ १४, २०७९

धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन आव्हान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको बताएकी छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको लागि शुभकामना व्यक्त गर्दै उनले देशको कला-संस्कृति जगेर्ना गर्नुपर्ने बताएकी हुन्।

‘आदर्शमय सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको छ। तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्‌किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्दछ।’ राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा भनिएको छ, ‘अत: हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आव्हान गर्दछु।’

हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्‍चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्त्व रही आएको शुभकामना सन्देशमा उल्लेख छ। परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान रहेको उनको भनाई छ  ।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्‌भाव कायम गर्न समेत अवसर निर्माण गर्दै आएको राष्ट्रपति भण्डारीले बुझाई छ। उनले तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्नुपर्ने स्पष्ट पारिकी छन्। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव‚ हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने राष्ट्रपति भण्डारीले अपेक्षा लिएकी छन्।

उनले हरितालिका (तीज) पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्‍वास व्यक्त गरेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*