२२ वर्षसम्म पनि बनेन ताप्लेजुङकाे बसपार्क
ताप्लेजुङ । ताप्लेजुङमा निर्माण सुरु भएको २२ वर्षसम्म पनि बसपार्क बन्न सकेको छैन । २०५६ सालमा फुङलिङ नगरपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने ठूलोगाउँमा बन्दै गरेको बसपार्क निर्माणका लागि अहिलेसम्म झन्डै चार करोड रुपैयाँ खर्च भइसक्दा पनि कहिलेसम्म बनिसक्छ भन्ने टुङ्गो छैन ।
बसपार्क निर्माणको काम अलपत्र हुँदा सडकका किनारमा पार्किङ गर्ने गरिएका छन् । विभिन्न विवादका कारण निर्माणको काम अलपत्र परेको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । नगरपालिकाकी उपमेयर भीमादेवी ओझाले आफूले पहिलेदेखि नै यहाँ बसपार्क बनाउन उपयुक्त नहुने बताउँदै आए पनि अहिले लगानी धेरै भइसकेकाे बताउनुभयाे । साँघुरो बजार अनि बजारको बीचमा राजमार्ग पर्ने हुँदा बसपार्कको अभावमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक (असई) सुशील विश्वासले बताउनुभयो । गाडीको चाप बढ्दै जाँदा पनि चुनौती थपिएको उहाँले बताउनुभयो ।
जिल्लाका समाजसेवी डिल्लीजङ्ग मादेन, स्व. डम्बरसिंह गुरुङ, बमबहादुर प्रधान र जसोदा गुरुङले उपलब्ध गराएको जग्गामा बसपार्क बनिरहेको हो ।
धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण जिल्लामा १२ महिना नै गाडीको चाप हुने गरेको छ । जिल्लामा साना, ठूला गरी दैनिक दुई सय वटाभन्दा बढी गाडी आउजाउ हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेष मेला र पर्वको समयमा भने दैनिक पाँच सय वटासम्म गाडी आउजाउ हुने गरेको छ ।
यस्तै गाडीको चाप अनि सडकको दायाँ र बायाँ फुटपाथ नहुँदा हिँड्न समस्या भएको स्थानीयवासी बताउँछन् । सडकको केन्द्र विन्दुदेखि दायाँ र बायाँतिर १५/१५ मिटर छाड्नुपर्ने सडक विभागको मापदण्ड भए पनि यहाँ त्यो पालना भएको देखिँदैन । ujyaaloonline



















