एमालेले भदौ २० गतेभित्र संघ र प्रदेशका उम्मेदवार सिफारिस टुंग्याउने
काठमाडौ । प्रमुख विपक्षी दल एमालेले आगामी २० भदौभित्रै उम्मेदवार छनाेटका लागि सिफारिस प्रक्रिया टुंग्याउने गरी निर्वाचनको तयारी अगाडि बढाउने भएको छ। २० भदौभित्र निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले संघीय संसद् र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा पठाइसक्नुपर्ने गरी उम्मेदवार छनाेटको मापदण्ड र प्रक्रियासम्बन्धी प्रस्ताव मंगलबारको स्थायी समिति बैठकमा प्रस्तुत भएको हो।
‘आ–आफ्नो क्षेत्रबाट सिफारिस गर्नुपर्ने उम्मेदवारहरूको नामावली सबै कमिटीहरूले २० भदौभित्र केन्द्रीय कमिटीमा पठाइसक्नुपर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको छ,’ स्थायी समितिका एक सदस्यले भने।
१० र ११ भदौमा केन्द्रीय कमिटी बैठक सकिएलगत्तै जिल्लाहरूमा उम्मेदवार छनाेट प्रक्रिया सुरु गर्ने एमालेको तयारी छ। स्थानीय तहका लागि प्रस्तुत मापदण्ड र प्रक्रियाभित्रैबाट उम्मेदवार छनाेट टुंग्याइने ती सदस्यले बताए।



















