‘एमालेलाई मिडियामैत्री र मिडियालाई एमालेमैत्री बनाउन आवश्यक’

वेलकम खबर
भदौ ७, २०७९

काठमाडौं  । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले एमालेलाई मिडियामैत्री र मिडियालाई एमालेमैत्री बनाउन आवश्यक रहेको औंल्याउनुभएको छ ।
पार्टीको प्रचार प्रसार नीतिलाई थप व्यवस्थित गर्न लागिएको बताउँदै उहाँले एमालेलाई ‘मिडियामैत्री’ बनाउन विभिन्न कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी गराउनुभयो ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार काठमाडौंमा आयोजना गरेको ‘रेडियोकर्मीहरुसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै विभाग प्रमुख गुरुङले राम्रो आमसञ्चार नीति  बनाउन एमालेले बिशेष पहल गर्ने बताउनुभयो ।
आगामी निर्वाचनको घोषणापत्रमा उत्कृष्ट सञ्चार नीति बनाउन व्यापक छलफल र अध्ययन गरिने जानकारी गराउँदै उहाँले रेडियो र रेडियोकर्मीहरुका समस्या समाधान गर्न पहल गरिने प्रतिवद्धता पनि जनाउनुभयो ।
एमालेले जनपक्षीय र दूरगामी महत्वका काम गरिरहे पनि प्रचार प्रसार हुन नसकेको चर्चा गर्दै उहाँले राम्रा कामको जानकारी जनतासमक्ष लैजान जरुरी भएको बताउनुभयो । विभाग प्रमुख गुरुङले एमालेमा मात्र समृद्ध नेपाल बनाउने ‘भिजन’ र दूरदृष्टि रहेको उल्लेख गर्नुभयो ।
आगामी निर्वाचनमा एमालेले हारेमा मुलुक सङ्कटमा पर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाई जायज रहेको चर्चा गर्दै उहाँले भन्नुभया–े ‘एमाले मात्र आशावादी पार्टी हो । एमालेले मात्रै जनताका कुरा सम्वोधन गर्छ ।’ एमालेसँग अरु कुनै पार्टीको तुलना हुन नसक्ने पनि उहाँले बताउनुभयो ।
अर्को एक प्रसङ्गमा नेता गुरुङले माओवादी केन्द्रको राष्ट्रवाद कुहिएको तीतो पिठो जस्तै भएको बताउनुभयो । पदका लागि विदेशीसँग लम्पसार हुने माओवादी कम्युनिष्ट र राष्ट्रवादी हुनै नसक्ने चर्चा गर्दै उहाँले प्रश्न गर्नुभयो– ‘त्यो पनि कहीँ कम्युनिष्ट हो ? मिडियाले को ठिक को बेठिक ? भन्ने कुरा छुट्याउनुपर्छ ।’
पार्टी केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले रेडियोकर्मीहरुले साँचो कुरा जनता समक्ष लैजानुपर्ने बताउनुभयो । एमालेले देश र जनताका लागि निकै धेरै ऐतिहासिक र दूरगामी कामहरु गरिरहेको चर्चा गर्दै उहाँले त्यस्ता राम्रा कामहरुबारे जनतालाई जानकारी गराउनु सञ्चारकर्मीहरुको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘समाचारमा तथ्य राखिदिनोस् । को सही, को गलत ? भन्ने कुरा बुझ्न जनतालाई सजिलो हुनेछ ।’
कार्यक्रममा विभागका सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल (बान) का नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईं, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का बरिष्ठ उपाध्यक्ष बिष्णु अवस्थी लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल (बान) को केन्द्रीय समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*