फालेलुङमा चौंरीको दूधबाट चीज बनाउन सुरु

वेलकम खबर
भदौ १, २०७९

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित उच्च पहाडी क्षेत्रका पशुपालकले चौंरीको दूधबाट चीज बनाउन सुरु गरेका छन् । यसअघि घिउ र छुर्पी मात्रै बनाएर बिक्री गरिरहेका किसानले निजी लगानीमा चौंरीको चीज बनाउन थालेका हुन् ।

यसका लागि फालेलुङ–४ को फालौटका ७, चाररातेका ७ र घले भञ्ज्याङका ५ गरी १९ किसानले १८ लाख रुपैयाँको लागतमा तीन डेरी सञ्चालनमा ल्याएका छन् । तीनवटै डेरीमा गत महिनादेखि चिज उत्पादन सुरु भएको हो । यहाँका अगुवा चौंरीपालक चन्द्रलाल नेपालका अनुसार उक्त चिज नेपाल घुम्न आउने विदेशी पर्यटकले औंधी रुचाउँछन् । चौंरीको दूधबाट निर्मित चिज स्वदेशी र विदेशी बजारमा ‘याक चिज’ का नामले चर्चित छ । ‘नेपालको मनाङ, मुस्ताङ, दोलखा, संखुवासभा र ताप्लेजुङसहितका हिमाली एवं उच्च पहाडी जिल्लामा चौंरी पाल्ने किसानको संख्या उल्लेख्य छ तर प्रायः किसानले घिउ र छुर्पी मात्रै बनाँउछन्,’ नेपालले भने ।

गाईको भन्दा फरक स्वाद भएकाले चौंरीको घिउ र चिजको मूल्य बजार भाउभन्दा केही माथि छ । सिदिन डेरीका सञ्चालक गोपाल रिजालका अनुसार रैथाने गाईको दूधबाट निर्मित ‘कञ्चन चिज’ को भाउ अहिले प्रतिकिलो ९ सय रुपैयाँ छ भने ‘याक चिज’ का लागि व्यवसायीले १ हजार ४ सय रुपैयाँसम्ममा किन्ने प्रस्ताव गरिरहेका छन् । जडीबुटी मात्रै पाइने उच्च पहाडी र हिमाली भेगमा मात्रै पालिने चौंरी गाईले औषधिजन्य घाँस खाने गरेकाले यसको दूध स्वयं औषधिजन्य ठानिन्छ । चौंरीको दूधमा ‘फ्याट’ को मात्रासमेत धेरै हुने भएकाले यस्तो छुर्पी बाह्य पर्यटकले रुचाउने गरेको व्यवसायीहरू बताउँछन् ।

पर्यटकको बाक्लो आवागमन हुने सोलुखुम्बुसँगै काठमाडौं र पोखराका होटलमा चिजको खपत अधिक हुने बताइन्छ । फालेलुङमा अहिले दैनिक संकलन हुने ३ सय लिटर चौंरीको दूधबाट चिज उत्पादन भइरहेको छ । यसबाट दैनिक ६ किलो घिउ र ३० किलोसम्म चिज निस्कन्छ । पछिल्लो समय चौंरी प्रवर्द्धनका लागि फालेलुङ क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारसँगै किसानले पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै उत्साह थपिएको छ । चौंरी प्रवर्द्धनका लागि यहाँ प्रत्येक नयाँ वर्षका दिन महोत्सवको आयोजना हुन्छ । जिल्लाको फालेलुङ र याङवरक गाउँपालिकाका उच्च पहाडी र हिमाली भेगमा एक हजार हाराहारीमा चौंरी रहेको बताइन्छ ।

फालेलुङमा सुरु भएको चौंरीको दूधबाट चिज बनाउने अभियान निजी क्षेत्रबाट देशमै पहिलो हो । यसअघि सरकारी लगानीमा दुग्ध विकास संस्थानले रसुवा जिल्लामा चौंरीका दूधबाट चीज उत्पादन गर्दै आएको स्थानीय किसानहरू बताउँछन् । ‘मनाङ, मुस्ताङ, दोलखा, संखुवासभा र ताप्लेजुङसहितका हिमाली र उच्च पहाडी जिल्लामा चौंरी पाल्ने किसानको संख्या उल्लेख्य छ, अधिकांशले घिउ र छुर्पी मात्रै बनाउँछन्,’ नेपाल भने । उनी चौंरीपालक किसान सञ्जालका केन्द्रीय सचिवसमेत हुन् ।epathivara

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*