सत्ता गठबन्धनमा जोडिन साना दलको जोडबल
काठमाडौँ। सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने समझदारी भएपनि सिट बाँडफाँटको टुंगो लागिसकेको छैन । पाँच दलको बीचमै सिट बाँडफाँट गर्न सकस परिरहेका साना दलहरू पनि गठबन्धनमा जोडिन जोडबल गरिरहेका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि स(साना शक्तिहरूलाई चुनावी गठबन्धनमा जोड्न सकारात्मक देखिएका छन् ।
हाल गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नै अन्य दललाई गठबन्धनमा सामेल गराउन प्रत्यक्षरअप्रत्यक्ष रुपमा संवाद गरिरहेका छन् ।
चुनावपछिको सम्भावित समीकरणमा आफूलाई सहज वातावरण सिर्जना गर्न र चुनावमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक्ल्याउन स(साना दललाई समेत गठबन्धनमा जोड्ने देउवाको रणनीति छ । तीमध्ये गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी फुटेर बनेका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मुख्य हुन् ।
गठबन्धन दलभित्रै माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दलबीच साझा वाममोर्चा बनाउने छलफल समेत चलिरहेकै छ । वाम दलहरूलाई एकता गर्ने अभियानमा रहेका नेता वामदेव गौतम पनि त्यही मोर्चामा बाँधिएर सत्ता गठबन्धनमा जोडिने प्रयासमा छन् । लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका पक्षधर अन्य स(साना शक्तिहरूसँग समेत चुनावी तालमेल हुन सक्ने नेताहरूको तर्क छ ।
नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सरकारले चुनावको मिति घोषणा गरेपछि विभिन्न दलहरूले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा जोडिन चाहेको बताउँछन् । उनले प्रधानमन्त्री देउवाले पनि चुनावमार्फत अहिलेको लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा, विकास र समृद्धि चाहने शक्तिहरूलाई जोडेर मुलुकलाई अघि बढाउन चाहेको बताए ।
‘सरकारले चुनावको मिति तोकेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा धेरै दल र नेताहरूले जोडिन चाहनुभएको छ । अहिले हामी पाँच दल छौँ । गठबन्धनमा कति दल हुने भन्दा पनि अहिलेको संविधान र गणतन्त्रका पक्षधरहरू, परिवर्तन चाहनेहरू एकढिक्का हुने कुरा मुख्य हो,’ सचेतक विश्वकर्माले इकान्तिपुरसँग भने, ‘परिवर्तनका पक्षधरहरू एकढिक्का हुँदा सिट बाँडफाँटमा कुनै समस्या हुँदैनस जसको जस्तो हैसियत छ, त्यहीअनुसार हिस्सा पाउने हो ।’
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले गठबन्धनमा रहेका दलभित्र मात्रै चुनावी तालमेल गर्न पाउने नियम नै बनाएका थिए । हाल गठबन्धनमा अन्य दललाई भित्राउने वा नभित्र्याउने भन्नेबारे दलहरूबीच छलफल भएको छैन । तर, गठबन्धनमा जोडिन चाहेका साना दलले भने गठबन्धनका शीर्ष नेताहरूसँग भेटेर भिन्नभिन्न छलफल गरिरहेका छन् ।
जसपा फुटेर बनेका लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेरै त्यसबारे छलफल गरेका छन् । तर, जसपा नै पहिल्यैदेखि गठबन्धनमा रहेकाले उनीहरू सामेल हुने वा नहुने भन्नेमा अझै अन्यौल छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै नयाँ पार्टी खोलेका भट्टराई अहिले पनि जसपाकै सांसद् हुन् । उनले सरकारले चुनावको मिति घोषणापछि नेपाल समाजवादी पार्टी गठन गरेका हुन् ।
नयाँ पार्टी गठनपछि भट्टराई अर्का अध्यक्ष महेन्द्र राय यादवलाई साथ लिएर गत मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष भट्टराईले सत्ता गठबन्धनमा आफू विगतदेखि नै रहेको भन्दै आफू नेतृत्वको पार्टीलाई पनि चुनावी गठबन्धनमा समावेश गर्न माग गरे ।
जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलहरूसँग सल्लाह गरेर खबर गर्ने आश्वासन दिएका छन् । ‘मैले पनि तपाईंहरूलाई गठबन्धनमा सहभागी गराउनुपर्छ भनेर सोचिरहेको थिएँस म त सकारत्मक छुस एक पटक गठबन्धनका अन्य दलसँग सल्लाह गर्छु र खबर गर्छु,’ भेटमा देउवाले भनेका थिए ।
त्यसअघि आइतबारमात्रै मधेशको अर्को शक्ति लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई भेटेका थिए । देउवा–ठाकुरबीचमा पनि त्यस्तै समझदारी छ । ठाकुर नेतृत्वको लोसपामा हाल १३ सांसद छन् । एक वर्षअघि सरकारमा सामेल नभएरै ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए भने त्यसयता ठाकुर निरन्तर देउवासँग संवादमा छन् । नेताहरूका अनुसार प्रधानमन्त्री देउवा ठाकुरलाई चिढ्याउने पक्षमा छैनन् । ठाकुरले विगतदेखि राख्दै आएका नागरिकता विधेयकलगायत केही मागहरू सरकारले पूरा गरिसकेको छ । भट्टराईको नवगठित पार्टीमा भने अध्यक्षद्वय भट्टराई र यादवमात्रै सांसद छन् ।
लोसपाका नेताहरू भने प्रधानमन्त्री देउवाले नै गठबन्धनमा सामेल हुन प्रस्ताव गरेको बताउँछन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीबाट गठबन्धनमा सामेल हुन प्रस्ताव आएको बताउँछन् । ‘गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री देउवाजीसँग छलफल भएको हो । प्रधानमन्त्रीजीले नै गठबन्धनमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ । हाम्रा मागहरू पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक रहेको जवाफ दियौँ,’ वरिष्ठ नेता महतोले भने ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने अहिले गठबन्धनमा अन्य दल सामेल हुने भन्नेबारे कुनै छलफल नभएको बताए । ‘अहिले गठबन्धनको बैठक बसेको छैन । सायद अब बस्ने बैठकमा प्रधानमन्त्रीजीले त्यो कुरा राख्नुहोला,’ उनले भने, ‘यो विषयमा हामी खुला छौँ । उहाँहरू आए पनि, नआए पनि हामीलाई कुनै अप्ठ्यारो छैन । अहिले त यो विषय प्रस्तावमै नरहेकाले मलाई धेरै केही भन्नुछैन ।’ तर, गठबन्धनकै केही नेताहरू भने जसपा, लोसपा र नेसपा एउटै गठबन्धनमा नरहनेसमेत अनुमान गर्छन् ।
गठबन्धनमा जति धेरै दल, त्यति भाग लगाउनुपर्ने हुन्छ । तर, गठबन्धनका नेताहरू भने गठबन्धनमा दल थपिने विषयमा विभाजित छन् । कांग्रेसभित्र त गठबन्धनमा दल थपिँदा सिट संख्या घट्ने भन्दै नेताहरूले विरोध समेत गरिरहेका छन् । कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा अन्य दलहरू समेत थपिँदा सिटको बाँडफाँट थप चुनौतीपूर्ण हुन सक्ने बताए । ‘हाम्रो पार्टीभित्रै धेरै नेताहरू हुनुहुन्छ, त्यसै पनि सिटको बाँडफाँट असहज छ । गठबन्धनमा धेरै दल हुनु भनेको धेरै भाग लगाउनु पनि हो, त्यसैले त्यो सहज हुन्छ भन्ने लाग्दैन,’ उनले भने ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने गठबन्धनमा पाँच दलबाहेकलाई सहभागी गराउने भन्ने विषयमा कुनै छलफल नभएको बताए । ‘सत्ता गठबन्धनमा अहिले पाँच वटा दलमात्रै छौँ । अहिले पाँच दलबीच चुनावी तालमेल गर्ने निर्णय भएको हो,’ उनले भने, ‘त्यसबाहेक अन्य दलहरू सहभागी हुने भन्ने विषयमा कुनै औपचारिक छलफल भएको छैन, हाम्रो पार्टीमा पनि छलफल भएको छैन । प्रधानमन्त्रीले कसलाई कस्तो आश्वासन दिनुभयो रु त्यो उहाँको कुरा हो । गठबन्धनमा अरु दल थपिएर हामीलाई समस्या छैन ।’
अर्का कांग्रेस नेता नैनसिंह महरले भने गठबन्धनमा दल थप्नेभन्दा पनि त्यसको न्यूनतम साझा कार्यक्रम र गठबन्धनको भविष्य कहिलेसम्म हुने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए । ‘चुनावमा गठबन्धन गर्ने कुरा ठीक छ । तर, घोषणापत्र एउटै नहुने भएपछि न्यूनतम साझा कार्यक्रम के हुन् रु गठबन्धनको भविष्य कहिलेसम्म हो रु भन्ने प्रश्न जटिल छन् । अहिलेको जनमत भनेको पाँच वर्षका लागि प्रस्तुत हुने हो । त्यो गठबन्धनमा रहेका दलले सुनिश्चित गर्ने कि नगर्ने रु,’ नेता महर भन्छन्, ‘नेपाली कांग्रेसले गठबन्धन गर्नुपर्छ भनेर सहमति गरेको नाउँमा सबै चिज गुमाएर गठबन्धन गरिरहनुपर्छ भन्ने पनि छैन । कांग्रेसले गठबन्धनमा सबैलाई समेटेर अभिभावकको भूमिका लिनु ठीक हो । तर, भुइँको टिप्दा खल्तीको पोखिन सक्छ, त्यो कुरा नेतृत्वले भुल्नुहुदैन ।’
०७४ को निर्वाचनमा कांग्रेसले २३ सिट जितेको थियो भने एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले ३६ सिट जितेको थियो । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा प्रत्यक्षतर्फ निर्वाचित १२ सांसद् छन् भने जनता समाजवादी पार्टीमा ९ सांसद् छन् । स्थानीय तह निर्वाचन ०७९ मा भने कांग्रेस पहिलो दल बनेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।



















