ताप्लेजुङ रङ्गशालामा लगानी, बालुवामा पानी !

वेलकम खबर
साउन २०, २०७९

ताप्लेजुङ । ताप्लेजुङमा खेलमैदानको अभावमा खेलकुद गतिविधि ठप्प छ । जिल्ला सदरमुकाम फुङलिङदेखि झन्डै सात किलोमिटर तल फुङलिङ नगरपालिका २ को तारिबुङमा बन्दै गरेको रङ्गशालामा करोडौँ रुपैयाँ खर्च भए पनि कहिले बन्ने भन्ने थाहा छैन । यो रङ्गशालामा केही माटो फ्याँक्नेबाहेक अरू काम हुन सकेको छैन ।

रङ्गशाला निर्माणको काम सुरु भएको चार वर्ष बित्न लागेको छ । अहिलेसम्म झन्डै तीन करोड रुपैयाँ खर्च भईसकेको छ । २०७६ सालमा प्रदेश सरकारले ६० लाख रुपैयाँ दिएर याङ्लीजुङ रङ्गशालाको काम सुरु भएको थियो । पछि सहरी विकास मन्त्रालयले झन्डै ४० करोड रुपैयाँमा सम्पन्न गर्ने गरी डीपीआर बनाएको थियो । तर त्यो डीपीआर यहाँका लागि उपयोगी नदेखिएको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । सुरुमा गरिएको डीपीआरले सबै कुरा नसमेटेकोले पुनरावलोकन गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

यो रङ्गशाला बनाउने भनेर २०७७ सालमा ५० लाख, २०७८ मा ३५ लाख रुपैयाँ प्रदेश सरकारबाट आएर काम भएको प्रवक्ता न्यौपानेले बताउनुभयो । तर रङ्गशालामा भएकाे कामबाट भने सन्तुष्ट नभएकाे स्थानीयवासीकाे भनाइ छ ।

रङ्गशालाका लागि स्थानीयवासीले १३ रोपनी जग्गा दिएका थिए भने २२ रोपनी जग्गा खरिद गरिएको थियो । एक सय ६० मिटर लम्बाइ र एक सय १५ मिटर चौडाइ रहेको यो रङ्गशालाको काम अलपत्र परेको हो । यसपालि फुङलिङ नगरपालिकाले यो रङ्गशालालाई बजेट छुट्याएको छैन । प्रदेश सरकाले पनि रङ्गशालाका लागि बजेट नछुट्याएको नगरपालिकाका प्रवक्ता न्यौपानलेले बताउनुभयो ।

मैदान अभावमा पाथीभरा गोल्ड कप प्रभावित  

ताप्लेजुङमा सञ्चालन हुँदै आएको पाथीभरा गोल्ड कप फुटबल प्रतियोगिता यस वर्ष मैदान अभावका कारण नहुने भएको छ । लाखेजात्राका अवसरमा २०२९ सालदेखि निरन्तर रूपमा हुँदै आएको प्रतियोगिता यस वर्ष आयोजना गर्न नसकिएको लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।

पछिल्लो दुई वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना भएन । विगतका वर्षमा खेल सञ्चालन हुँदै आएको भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा पर्खाल लगाउने काम भइरहेकोले यसपालि त्यहाँ प्रतियोगिता आयोजना गर्न नमिल्ने भएको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार माबोले विभिन्न गतिविधि सञ्चालनका लागि मैदान अभाव भएकाले खेलकुद गतिविधि नै शिथिल रहेको बताउनुभयो । ujyaaloonline

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*