अविरल वर्षाले देशभरको जनजीवन प्रभावित

कोइली नदीमा बेपत्ता तीनमध्ये एकको शव भेटियो, एक अझै बेपत्ता
वेलकम खबर
साउन १८, २०७९

कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ स्थित कोइली नदीले एकै परिवारका तीनजनालाई बगाएको छ । मंगलबार बिहान निउरो टिप्न कोटिहवा सामुदायिक वन क्षेत्रभित्र पर्ने कोइली नदीमा पुगेका वीरबहादुर सुनार, उनकी पत्नी राममाया सुनार र १२ वर्षका छोरा नीरज सुनारलाई बाढीले बगाएको थियो । नीरजलाई करिब चार सय मिटर तल पुर्‍याएपछि स्थानीयले उद्धार गरेका छन् । तर, उनकी आमा राममाया सुनारको भने झन्डै एक किलोमिटरको दूरीमा शव फेला परेको छ । वीरबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा करिब दुई सय घर डुबानमा
आइतबारदेखिको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– १३ स्थित कमलपोखरी क्षेत्रका करिब दुई सयवटा घर डुबानमा परेका छन् । वर्षाले रूपा गाउँपालिका– १ गैरीपोखरीस्थित पोखरा (बेगनास)बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक खण्डमा अन्दाजी २५ मिटर लम्बाइ सडक भासिन जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ad

 

नारायणीमा पानीको बहाव खतरानजिक
नारायणीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक बाँँधका ३६ वटै ढोका खोलिएको छ । पानीको बहाव तीन लाख ६७ हजार क्युसेकभन्दा माथि गएपछि खतराको लेबल मानिन्छ । अहिले दुई लाख ९७ हजार प्रतिसेकेन्डको वेग छ ।

साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध 
बाजुराको बडिमालिका नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध भएको छ । अम्कोटमा ६ वर्षयता वर्षामा निरन्तर पहिरो जाने गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै साना तथा ठूला सवारीसाधन बन्द भएका छन् ।

आगामी २४ घन्टा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह
देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

२३ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

२३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन:अबरुद्ध भएको छ ।  पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो ।  ।

सोमबार राती ११ बजे देखि बन्द भएकाे सडक मंगलबार राती ९:४० बजेतिर संचालनमा आएको थियो ।  भरतपुर महानगरपालिका-२९ नारायणगढ-मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथीबाट लेदो सहितको पहिरो खसेर अहिले  पुनः दुबैतर्फ सडक अवरोध भएको छ ।

हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एक ईण्डियन मिनी ट्रकको पछाडीको चक्का सामान्य रुपमा पुरिएको छ । माथीबाट झरेको लेदोमा चक्का फस्न गई पुरिएपनी मानिसहरु बाहिर निस्किसकेकाले कुनै मानवीय क्षती भएको छैन । अहिले बाटो खुलाउने पहल भइरहेको छ । सडक अबरुद्ध हुँदा  यात्रुहरू सडकमै अलपत्र परेका छन् ।नयाँपत्रिका दैनिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*