चुच्चे नक्साका कारण प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीको दावी

वेलकम खबर
साउन १६, २०७९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई नेपाली नक्सामा सामेल गरेको कारण आफू प्रधानमन्त्री पदबाट हट्नु परेको बताउनुभएको छ । राजधानीमा सोमबार आयोजित पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलले लेख्नुभएको ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तकको विमोचन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले चुच्चे नक्साकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको दावी गर्नुभएको हो ।

सुगौली सन्धीमा महाकाली पारीको भू–भाग नेपालको भनेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएकोमा विवाद हुन नसक्ने जिकिर गर्दै उहाँले भन्नुभयो–‘तर नेपालको नक्साबाट त्यो भू–भाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि म प्रधानमन्त्रीबाट हट्नुपर्नेछ भन्ने थाह थियो, नभन्दै हट्नुपर्‍यो पनि ।’ कार्यक्रममा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले जलको बहुउपयोग नै समृद्धिको आधार हुनुपर्नेमा हामीले कहिल्यै ध्यान दिन नसकेको बताउनुभयो । उहाँले भारतले एकतर्फी रोकेर आफ्नो अनुकुल तटबन्ध एवं सडकको नाममा पानीको प्राकृतिक बहावलाई रोकेको टिप्पणी गर्दै भन्नुभयो–‘यसले भारतलाई पनि फाईदा गरेको छैन । उत्तर प्रदेश र बिहारकै जनताले पनि प्रश्न गर्ने गरेका छन्, अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीअनुसार पानीको उपयोग गर्न किन सक्दैनौं ?’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर जंगबहादुर राणाले महाकाली समस्यालगायतका धेरै समस्या समाधान गर्न सरोकारवाला निकाय तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।

सिंचाइ विभागका पूर्व महानिर्देशक डा. माधव वेलवासेले नेपालको सत्तापक्ष र प्रतिपक्षका कारण नेपालको जलस्रोत चक्रव्यूहमा फसेको कुरा पुस्तक पढेपछि छर्लङ हुने जिकिर गर्दै भन्नुभयो–‘जलस्रोत चक्रव्यूहमा पर्नुको अन्य कारण पनि छन् । धेरैलाई थाह छ, पदिय दायित्वका कारण मैले भन्न मिल्दैन ।’

वरिष्ठ अधिवक्ता प्राडा सुरेन्द्र भण्डारीले महाकाली सन्धी गर्ने बेलामा महाकाली नदीको मुहानको बिबाद नटुंग्याई सन्धी गर्नुले राजनीतिक नेताहरूको चरित्र उजागर भएको टिप्पणी गर्नुभयो । यहाँले पूर्वसचिव ढुंगेलको पुस्तकले हाम्रा राज्यका अंगहरू कसरी चल्छन् भन्ने कुरा पनि प्रष्ट पार्ने धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*