जनार्दन शर्मा दोषी प्रमाणित भइसके, संसदीय गणितले चोख्याएर अपराध छोपिन्न : योगेश भट्टराई

वेलकम खबर
साउन १४, २०७९

चितवन। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको ठोकुवा गर्नुभएको छ ।
शनिवार भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले शर्मा दोषी प्रमाणित भइसकेको भएपनि संसदको गणितले सफाइ दिएको बताउनु भयो । ‘तीन करोड नेपालीमाझ जनार्दन शर्मा दोषी ठहर भइसकेका छन, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो,’ भट्टराईले भन्नुभयो । भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको तथ्य पनि राख्नुभयो ।
‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ,’ भट्टराईले भन्नुभयो ।छानबिन समितिलाई उहाँले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्, अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उहाँको भनाई छ । उहाँले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताउनु भयो । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उहाँको भनाइ थियो ।
‘नेकपा एमालेका चार जना सदस्यहरू जो छानबिन समितिमा हुनुहुन्थ्यो उहाँहरू छानबिन समिति हो । त्यो बाहेकका सदस्यहरू साक्षी समिति हो’, भट्टराईले भन्नुभयो, ‘नेपालीमा एउटा उखान छ नि दूधको साक्षी बिरालो भने जस्तै ती चाहिँ साक्षी समिति हो । खास छानबिन समिति एमाले हो ।’
छानबिन समितिको प्रतिवेदनले झन यस प्रकरणमाथिको आशंकालाई थप बल पुर्योउने उहाँको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआक्रोश पैदा गरेको पनि भट्टराईले बताउनु भयो । शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत उहाँले बताउनु भयो । जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने पनि उहाँको भनाई छ ।
फरक प्रसंगमा उहाँले नागरिकता विधेयकले नेपाललाई शरणार्थीहरूको शिविर बनाउने खतरा बढेको बताउनु भयो । नागरिकता विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको पनि उहाँले बताउनु भयो । एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उहाँको भनाई थियो ।
त्यस्तै, उहाँले बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने बताउनु भयो । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*