वीरेन्द्रको प्राण र ज्ञानेन्द्रको गद्दी

युवराज गौतम
साउन १३, २०७९

दरवार हत्याकाण्डपछि तत्कालीन प्रधानसेनापति प्रज्वल्लशमशेर राणाले राजाको रक्षा गर्ने काम नेपाली सेनाको होइन भन्दै दिएको निर्लज्ज प्रतिक्रिया पत्रपत्रिकामै आयो।

इतिहास बडो क्रूर दृश्यहरू समेटिएको आतंकमय चलचित्र (हरर मुभी) जस्तो हुन्छ। एउटै मान्छेको उन्मादले हजारौँको प्राण लिएका कहालिलाग्दा कथा भेटिन्छन्। युरोपको हजारौँ वर्ष पुरानो इतिहास होस् वा ‘ब्ल्याक बक्स अफ कम्युनिजम’ जस्ता ग्रन्थमा वर्णित लाखौँ ‘साम्यवाद विरोधी’ जनताको हत्या, कलिङ्गको इतिहास वा हिरोसिमा–नागासाकी सहरमा अमेरिकी बमले लाखौँ मानिस मारिएका घटना, सबै मान्छेले रचना गरेका त्रासदी हुन्।

बितेका पचास वर्षयता साम्राज्यवाद र विस्तारवाद नयाँ जामा लगाएर आयो। पहिले हतियार लिएर आउँथे, फिरंगीहरू। नालापानीको युद्धमा नेपालीले त्यो दृश्य देखे। २०५ वर्ष पुरानो त्यो इतिहासले रूप बदलेको छ। परोपकारी, सहयोगी र विकासका मार्गदर्शक बनेर समुन्द्रपारिका हजारौँ रिपुहरू हाम्रा भान्सा, बुइगल, सुत्ने कोठा जताततै पुगेका छन्।

यस्तै नेपालभित्र नेपालीलाई अल्पमतमा पारेर संवैधानिक प्रक्रियाबाटै र त्यो सम्भव नभए राष्ट्र टुक्र्याउन चाहने नवीन प्रभाकरणहरू पैदा गरेर सदाका लागि नेपाल राष्ट्रको अस्तित्व माटोमा मिलाउने षडयन्त्र भइरहेकै छ। राजा वीरेन्द्रको हत्या प्रायोजित थियो भनेका छन्, चीनका प्राध्यापक वाङ चुङले।

(स्रोत नेपालको सुरक्षात्मक रणनीति, पृष्ठ १९) उनको जस्तै धारणा व्यक्त गर्दै नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाले वासिङ्टन र दिल्लीको डिजाइनमा वीरेन्द्र मारिएको लेखेका छन्। अरू बुद्धिजीवीहरूको तर्क त्यस्तै छ। २०५८ जेठ १९ गते राति भएको घटनाका प्रत्यक्षदर्शीमध्ये केहीले युवराज दीपेन्द्रकै रूपमा तीन/चारजना बन्दूकधारीले चार पाँच मिनेटभित्रमा धेरैलाई ढालेको बताएका छन्।

घटनाको दुई घन्टा नबित्दै त्यहाँ पुगेकाहरूले रगतको दागधब्बासमेत नदेखेको र भुइँ सफा भएको बताएका छन्। दीपेन्द्रको हत्यापछि पनि गोली चलिरहेको बताएका छन्, केहीले। तसर्थ, अपराधशास्त्र (क्रिमिनोलोजी) र अपराध अनुसन्धानका नीति सिद्धान्त तथा विधिशास्त्र (मेथडोलोजी) केहीले पनि त्यहाँ एक मात्र व्यक्तिले अपराध गरेको पुष्टि हुँदैन भन्छन्, विज्ञहरू।

राजा वीरेन्द्र नेपालको नागरिक बन्ने हक नेपालीलाई मात्रै छ भन्थे। नेपालको प्राकृतिक स्रोतबारे अन्तिम निर्णय नेपालले गर्नुपर्छ भन्थे। स्वतन्त्र, अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको भविष्य सुरक्षित राख्न उनले धेरै योजना बनाएका थिए। भूगोलविद् डा. हर्क गुरुङलाई दरवारमा बोलाएर राजा वीरेन्द्रले नेपाल–भारत सिमाना व्यवस्थापन गर्ने प्रतिवेदन तयार पार्न लगाए। गुरुङले सिमाना र त्यस वरिपरिका जनतालाई असुविधा नहुने गरेर परिचयपत्र दिने, काँडेतार लगाएर अपराध, तस्करी र आप्रबासीको आगमन नियन्त्रण गर्नुपर्ने कडा सुझाव दिएका थिए।

काठमाडौँ लाजिम्पाटको शंकर होटलमा आयोजित कार्यक्रममा गुरुङलाई धेरैले समर्थन गरे। उनको प्रस्ताव देश भक्तिपूर्ण थियो। त्यहाँ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ‘नेपाल–भारत सम्बन्ध बिगार्न चाहने’ गुरुङलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। ऐन र संविधान मात्र होइन, विश्व–कानुनका ज्ञाता भण्डारीको बाध्यता के थियो, सहजै अनुमान गर्न सकिन्छ। राष्ट्रिय हितका पक्षमा बोल्ने गुरुङ प्रतिवेदनको केही सञ्चारमाध्यमले विरोध गरे। उनीहरूको ‘बाध्यता’ पनि बुझ्न सकिन्छ। दासत्वको पीडा त्यस्तै हुन्छ।

२०४५ सालमा नेपाली सेनाका परमाधिपति राजा वीरेन्द्रको आदेश पाएपछि नेपालले चीनबाट १६ वटा एन्टी एयरक्राफ्ट मिसाइल किन्यो। जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीअन्तर्गत सञ्चालित एउटा फ्याकल्टीका प्रोफेसर जोन डब्ल्यु गार्भरले सो घटनापछि नेपालसँग भारत धेरै शंकित बनेको विश्लेषण गरेका छन्। चीनले सन् १९७२ तथा १९७६ मा त्यस्ता हतियार खरिद गर्न नेपाललाई प्रस्ताव गरेको बताइन्छ।

ऊबेला सच्चितशमशेर राणा प्रधानसेनापति थिए। उनले प्रचलित ऐन, कानुन, संविधान केहीले पनि चीनसँग हतियार किन्न निषेध नगरेको धारणा जाहेर गरेपछि सेनालाई आत्मनिर्भर र सशक्त बनाउँदै लैजाने योजनाअनुसार विमानभेदी हतियार खरिद गरेर ल्हासा हुँदै नेपाल भित्र्याइयो। व्यापार, रक्षा, परराष्ट्रलगायत सबै विषयमा नेपाल भारतमै आश्रित रहनुपर्छ भन्ने दिल्लीको सोचलाई सो घटनाले धक्का दियो।

हजारौँ मान्छे मारेकै हुँ भन्नेलाई ‘लोकतन्त्र वादी’ मानेर सत्ताका लागि गठबन्धन गर्नेहरूले विदेशका प्रसिद्ध अपराध शास्त्रीहरू बोलाएर छानबिन गरुन् र वीरेन्द्रका हत्यारा हरूलाई दण्डित गरुन्। के त्यसो गर्न सक्छन्? संभव छैन। किनभने त्यो अपराधका रचनाकारहरू उनीहरूकै मालिक हुन सक्छन्।

त्यसो त, त्यस्तै हतियारका लागि नेपालले दिल्लीसमक्ष प्रस्ताव पठाउँदा आठ वर्षसम्म कुनै जवाफ आएन। त्यसपछि चीनबाट ऊबेलाको मूल्यअनुसार दुई करोड अमेरिकी डलर बराबरका पाँच सय ट्रक उपकरण र हतियार ल्याइएको थियो। यो घटनापछि राजा वीरेन्द्रको सेखी झार्न दिल्लीमा गुप्त बैठक बसेको थियो। त्यसपछि नेपालमा कांग्रेस–वामपन्थीहरूलाई एकजुट (गठबन्धन) गराएर २०४६ सालको आन्दोलन गराइएको ‘भारतीय लेखकहरूले नै उल्लेख गरेका छन्।

यति गर्दा पनि वीरेन्द्र झुकेनन्। भारतले तत्कालीन विदेश सचिव एसके सिंहमार्फत नेपाली सेना र परराष्ट्र मन्त्रालय दिल्लीबाट सञ्चालन गर्ने प्रस्ताव पठायो। अन्त्यमा, राजालाई शक्तिहीन तुल्याउन २०४६ सालको विद्रोह गराइयो तर कृष्णप्रसाद भट्टराईलगायतले मद्दत गरेका कारण ब्रिटेनको मोडलमा राजा, संसद् र सरकार जस्ता त्रिशक्ति रहने प्रबन्ध गरिएको २०४७ सालको संविधान आयो।

त्यो पनि नरुचाएको भारतले पल्टन बनाएर २०५२ सालदेखि १० वर्षसम्म सशस्त्र द्वन्द्व गरायो। आज पनि ती नेपाली राजनीतिका खेलाडी छन्। षडयन्त्रको सिलसिला रोकिएन। अस्थिरता बढ्दै गयो, हजारौँ मरे, लाखौँ जनता विस्थापित भए। अहिले नेपालीलाई अल्पमतमा पारेर संविधानबाटै नेपालको अस्तित्व समाप्त पार्ने खेल भइरहेको छ। संविधान र स्वाभिमान दुवैको अन्तिम संस्कार गरेर दलहरूलाई दास बनाइएको परिणाम हामी भोगिरहेका छौँ।

२०४७ सालको संविधान सक्रिय रहँदैको कालखण्डमा अर्थ विधेयकको घुम्टो ओढाएर नागरिकता विधेयक ल्याइयो। ठूलो विवाद भएपछि विधेयक राष्ट्राध्यक्षकहाँ पुग्यो। राजा वीरेन्द्रले सर्वोच्च अदालतको रायसल्लाह मागे। नागरिकता ऐन २०२० लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित भएपछि ‘लालमोहर’ लगाउन राजासमक्ष पठाइयो।

चौतर्फी विरोध भएको र सो विधेयक कानुन बनेको खण्डमा राष्ट्रमा विदेशीको संख्या अत्यधिक बढ्ने निष्कर्षमा पुगेर राजा वीरेन्द्रद्वारा सर्वोच्च अदालतको रायसुझाव मागिएको सञ्चार माध्यमहरूमा आयो। सर्वोच्च अदालतले विधेयक अघि नबढाउने फैसला सुनायो। यसरी विदेशी शक्तिका षडयन्त्रहरू रोक्न राजा वीरेन्द्रले अनेक प्रयास गरे। नेपाल र नेपाली सुरक्षित रहून् भन्ने ती राजाकै सुरक्षा भएन।

दरवार हत्याकाण्डपछि तत्कालीन प्रधानसेनापति प्रज्वल्लशमशेर राणाले राजाको रक्षा गर्ने काम नेपाली सेनाको होइन भन्दै दिएको निर्लज्ज प्रतिक्रिया पत्रपत्रिकामै आयो। धेरैले प्रश्न गरे–“उसो भए दरवारभित्रका पशुपक्षी जोगाउन सेना तैनाथ गरिएको थियो त ?” मुलुक, मुकुट र मुलुकीको रक्षा गर्न सैनिक ऐनअनुसार सपथ ग्रहण गरेका प्रधानसेनापतिको जवाफले अहिले पनि नेपाली सेनालाई लखेटिरहेको छ।

नेपाली नागरिकले मात्र नागरिकता पाउनुपर्छ भन्ने राजा वीरेन्द्रको अडानले ठूलो षडयन्त्र असफल भयो। पुराना र अनुभवी कूटनीतिज्ञ, राजनीतिज्ञ र विश्लेषकहरू भन्छन्– वीरेन्द्रलाई समाप्त गरेपछि मात्रै नेपालीलाई विस्तारै कब्जामा लिन सकिन्छ भन्ने षडयन्त्रकारीहरूले उनको हत्या गर्ने योजना बनाए।

प्रायोजित हल्ला फिँजाएर बन्दूक हान्ने दीपेन्द्र शाह (वीरेन्द्रका जेठा छोरा) हुन र योजनाकार ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुष्प्रचार गरे। उसो भए गद्दीच्युत र शक्तिहीन राजा ज्ञानेन्द्रलाई गणतन्त्रवादीहरूले किन दण्ड दिएनन्? के २०६२/६३ सालपछि सत्तामा जानेहरू सबैले ज्ञानेन्द्र शाहबाट करोडौँ रुपियाँ घुस खाएर मौन बसेका हुन त?

नेपालमा रक्तपात गराउन चाहनेहरूले वीरेन्द्रको हत्यामा ज्ञानेन्द्र दोषी छन् भन्ने कुनै प्रमाण भेटेको भए सडकमा ल्याएर काट्ने थिए। हजारौँ मान्छे मारेकै हुँ भन्नेलाई ‘लोकतन्त्रवादी’ मानेर सत्ताका लागि गठबन्धन गर्नेहरूले विदेशका प्रसिद्ध अपराधशास्त्रीहरू बोलाएर छानबिन गरुन् र वीरेन्द्रका हत्याराहरूलाई दण्डित गरुन्। के त्यसो गर्न सक्छन् ? संभव छैन। किनभने त्यो अपराधका रचनाकारहरू उनीहरूकै मालिक हुन सक्छन्।

एक्काइस केजी भाला घुसार्नुपर्ने घाँटीमा एक्काइस केजी माला घुसार्ने जनताले बुझ्नुपर्छ, नेपाल भत्काउनेहरू राष्ट्रनायक हुन सक्दैनन्। वीरेन्द्रको प्राण र ज्ञानेन्द्रको गद्दी खोस्ने प्रायोजित खेलमा संलग्नहरू धेरैजसो नेपाली नागरिकता लिएका राष्ट्रद्रोही छन्। उनीहरू नेपाली जनतालाई अल्पमतमा पार्ने खेलमा संलग्न छन्। ससाना अपराधीहरू जेलमा र जघन्य अपराधीहरू सत्तामा पुर्याउने खेलमा नेपालको भविष्यसमेत अन्धकारमय बन्ने अवस्था स्पष्ट छ।

चरित्र निर्माण हुने कालखण्ड (फर्मेटिभ इअर्स) अत्यन्त महत्वपूर्ण हुन्छ। सज्जन, शिष्ट, मृदुभाषी, शान्त, इमानदार सौम्य र शालीन मान्छे नै नदेखेको व्यक्तिले मञ्चमा गएर एउटा ‘भद्र’ मानिसको अभिनय पनि गर्न सक्दैन। बाल्यकालमा फोहरी शब्द सिकेका कतिपय नेता, मन्त्री, सांसद (?), जर्नेल, प्रहरीका उच्च अधिकृत र सचिव भइसकेका मानिसले रिस उठ्नासाथ सुन्नै नसकिने शब्दहरू बोलेका हामी यदाकदा सुन्छौँ र लज्जित हुन्छौँ। राष्ट्र सर्वोच्च हुन्छ भन्ने ‘स्कुलिङ’ नभएका कारण राजनीतिक दलका धेरै ‘लिडर’ विदेशी विचार बेच्ने ‘डिलर’ मात्रै ठहरिएका छन्।

झण्डै ६८ वर्षपहिले नारायणहिटी राजदरवारमा राजा महेन्द्रका सन्तानहरूलाई पढाउन गएका नारायणप्रसाद श्रेष्ठले वीरेन्द्रको सेवामा धेरै वर्ष बिताए। हार्वर्डदेखि टोकियो विश्वविद्यालयमा वीरेन्द्र अध्ययनरत रहँदा उनी पनि सँगै थिए। वृद्धावस्थामा अतीत सम्झँदै उनी भन्छन्– हार्वर्ड, टोकियो जस्ता विश्वविद्यालयमा पढ्दा वीरेन्द्रलाई अत्यन्त मन पर्ने कविता थियो– ‘मेरो देश उठोस्, मेरो देश जागोस्।’

नोवेल पुरस्कार विजेता रवीन्द्रनाथद्वारा लिखित त्यो कविता गुुन्गुनाइरहन्थे वीरेन्द्र। वीरेन्द्रसँग धेरै राष्ट्र घुमेका नारायणप्रसादको कथन छ– जहाँ पुगे पनि राम्रा कुराहरू देखेपछि नेपालमा पनि यस्तै गर्न सकिएला भन्ने उनको धारणा हुन्थ्यो। अर्थात, राजा वीरेन्द्र (तत्कालीन युवराज) राष्ट्रकै चिन्ता गरिरहन्थे।

गीताञ्जली कवितामा लेखिएझैँ ‘जहाँ जो कोहीले भय लिनुपर्दैन’ (ह्वेर द माइन्ड इज विद आउट फिअर) भन्ने मर्यादा हराएको छ। साना राष्ट्र ठूला राष्ट्रका कारण भयाक्रान्त छन्। ठूला दलले राष्ट्र र जनता थिचेर जथाभावी गरिरहेका छन्। जनतामा बेरोजगारी, अभाव, असुरक्षा र अशान्तिको भय छ। राष्ट्र नै अस्तित्वहीन बन्छ कि भन्ने त्रास छ। सत्ताको गीत गाउनेले जे भनून्, राष्ट्र विस्तारै भासिँदैछ। स्वाभिमान मासिँदैछ।नागरिक दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*