संघीय संसदबाट नागरिकता विधेयक पारित

वेलकम खबर
साउन १३, २०७९

काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरेको विधेयक बिहीबार राष्ट्रिय सभाबाट समेत पारित भएको हो ।

राष्ट्रिय सभामा बिहीबार भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बहुमतले विधेयक पारित भएको छ । विधेयक प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरिएको थियो ।

नागरिकता विधेयक पारितसँगै नेपालमा अब मुख्यतया नौवटा परिवर्तन आउने भएको छ । पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन् । विधेयकले जन्मका आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक)का सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ । २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मका आधारमा नागरिकता दिइएको थियो ।

राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागू

नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने व्यवस्था संविधानमा छ । तर, कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् ।

लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसद्बाट पारित नहुँदा उनीहरूको दैनिक जीवनसमेत प्रभावित बनेको छ । नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूको समस्या अब भने समाधान हुनेछ ।

दोस्रो, अब आमाको नामबाट मात्रै पनि नागरिकता पाइनेछ । यद्यपि, यसरी नागरिकता पाउन चार सर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमै बसोबास गरेको, बाबु पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउनेछ ।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ ले नै कुनै व्यक्तिको जन्म हुँदा उनका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशज नागरिकता प्राप्त गर्न व्यवस्था गरेको थियो । तर, यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन ।

यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बाबु पहिचान नभएको हुनुपर्ने व्यवस्था ग¥यो । सो व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बाबु पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तो ‘स्वघोषणा’ गरी वंशज नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने सो नागरिकता खिचिनेछ । त्यस्तो व्यक्तिलाई सरकारले वंशजको साटो अंगीकृत नागरिकता दिनेछ ’ नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ ।

विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने गरेको हो । विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउन पनि नेपालमै बसोबास गर्नुपर्ने र बाबुको देशको नागरिकता नलिएको हुनुपर्नेछ ।

विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुबा र आमा दुवैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।

तेस्रो, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण भए, त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्नेछैनन् ।

चौथो, प्रतिनिधि सभाबाट स्वीकार गरेको संशोधनले अब नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएका छन् ।

पाँचौं, सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा लैंगिक पहिचान विषय उल्लेख थिएन । तर, गृहमन्त्री खाँणले सरकारका तर्फबाट ‘लैंगिक पहिचान व्यक्तिले रोजेर राख्न पाउने’ संशोधन स्वीकारेका छन् । ‘व्यक्तिले लिंग’bout जुन दाबी गर्छ, त्यसलाई सहजतापूर्वक स्वीकार गर्छ,’ गृहमन्त्री खाँणले भने, ’त्यसलाई मान्नुपर्छ भन्ने व्यवस्था स्वीकार गरेको हो ।’

छैटौं, नागरिकता दिँदा अब सरकारले बाबु र आमा दुवैको विवरण अभिलेखमा राख्ने भएको छ । गृहमन्त्री खाँणले ‘दुवैको विवरण राख्ने’ संशोधन स्वीकार गरेका छन् ।

अहिलेसम्म बाबु वा बाजेको विवरणका आधारमा नागरिकता प्रदान हुने गरेको थियो । योसँगै अब आमाको विवरण पनि नागरिकता प्रदान गर्दा अभिलेखमा राखिने भएको छ ।

सातौं, विधेयकले विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ ।

कतिपय नेपाली महिलाको विदेशमा विवाह भएर श्रीमान्सँग छुट्टिएको अवस्थामा नागरिकता पाउन समस्या भएका घटना घटेका थिए । गृहमन्त्री खाँणले अंगीकृत नागरिकताको दफामा ‘नेपालमा जन्म भई’ भन्ने शब्द झिक्ने प्रस्ताव स्वीकारेका हुन् ।

अब, नेपालमा जन्म नभए पनि नेपालमा स्थायी बसोबास गरेको र बाबुको देशको नागरिकता नलिएको व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ । यसका लागि बाबुको नागरिकताका आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको स्वघोषणा व्यक्तिले गर्नुपर्नेछ ।

आठौं, नेपालमा फेला परेका मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्थामा विधेयकले स्पष्टता कायम गरेको छ । गृहमन्त्री खाँणले सांसदले दर्ता गराएको संशोधन स्वीकार गर्दै ‘कागजात केके पेस गर्नुपर्ने हो ?’ भन्ने स्पष्टता कायम गरेका हुन् ।

मातृत्व र पितृत्व ठेगान भएको अवस्थामा नागरिकता प्राप्त गर्न बालमन्दिर, अनाथालयजस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोका आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस पेस गर्नुपर्नेछ ।

यदि, कानुनी संरक्षकले हुर्काएको भए संरक्षकले सनाखत गर्नुपर्नेछ । साथै, स्थानीय तहको सिफारिस पनि आवश्यक हुनेछ । त्यस्तै, अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस भए पुग्नेछ ।

नवौं, सरकारले स्वीकार गरेको संशोधनले कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ । यसरी, सनाखतका लागि परिवारको सदस्य आउनुपर्नेछ ।

सनाखत गर्न बाबु, आमा, पतिपत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु र देवरलाई झिकाउन सक्नेछ । परिवारले सनाखत नगर्दा बसोबास गर्ने वडामा कम्तीमा दुई नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्ति र स्थानीय तहका एक पदाधिकारीले सनाखत गर्न सक्ने व्यवस्था गरेको छ ।राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*