प्रदेशमा सभाहल निर्माणमै १३ अर्ब २६ करोड स्वाह

वेलकम खबर
साउन १२, २०७९

काठमाडौं । सरकारले विभिन्न समयमा कमिसनको लोभले अर्बौं खर्चेर सभाहल बनाउँदै आएको छ । सात प्रदेशमा मात्रै गत वर्ष सभाहल निर्माणमा १३ अर्ब २५ करोड ७१ लाख विनियोजन गरिएको थियो । जबकि, कतिपय अनावश्यक ठाउँमा समेत धमाधम सभाहल बनिरहेका छन् ।

सात प्रदेशमा ४१ सभाहल निर्माण योजना रहेकामा सात सभाहल सम्पन्न भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल १९ सभाहल निर्माणाधीन अवस्थामा छन् भने १५ सभाहलका लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन तयारीलगायत प्रारम्भिक चरणको कार्य भइरहेको छ ।

४१ मध्ये २६ सभाहल निर्माणका लागि १३ अर्ब २५ करोड ७१ लाखको लागत अनुमान रहेकोमा गत वर्षसम्म ७ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण विभागले जनाएको छ । सरकारी भवन निर्माणका लागि आवश्यक रकम जोहो विभागले नै गर्दै आएको छ ।

सरकारमा रहेकाले कमिसनको लोभमा भवन तथा सभाहल बनाउन जोड दिने गरेको मन्त्रालय अधिकारी बताउँछन् । यसका लागि मन्त्री, सचिव तथा आयोजना प्रमुखबीच ‘सेटिङ’ हुने गरेको छ ।

कमिसनको लोभले अर्बौंको सभाहल !

यसैगरी, सरकारले गत वर्ष ललितपुर गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरेको छ । यसका लागि सुरुमा ६५ करोड ८१ लख ६५ हजार रुपैयाँ सम्झौता भएकोमा पछि कमिसनकै चक्करका बढाएर ८० करोड पु¥याइएको थियो ।

त्यस्तै, रूपन्देही बुटवलमा १ हजार ७० क्षमताको सभाहल बनाउन ९३ करोड रुपैयाँको सम्झौता भएकोमा ६१ करोड ७७ लाख ९१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । बुटवलमै अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र बनाउन १ अर्ब १५ करोड रुपैयाँमा निर्माण सम्झौता भएकोमा गत वर्ष २७ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

यसैगरी, झापा दमकमा भ्यु टावर बनाउन १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ भने झापाकै दमकमा सभाहल बनाउन ३२ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, उदयपुर त्रियुगामा सभाहल बनाउन २७ करोड ७० लाख र कैलाली धनगढीमा सभाहल बनाउन २५ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको सघन सहरी तथा भवन निर्माण विभागले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार अर्बौंको भवन तथा सभाहल बनाउँदा उच्च तहमा ३ देखि १० प्रतिशतसम्म कमिसन आउने गर्छ । ठेकेदारले नै मिलिमतो गरी कमिसन दिने गरेको स्रोतको दाबी छ ।

‘अर्बौंको भवन तथा सभाहल बनाउँदा करोडौं कमिसन आउँछ,’ स्रोतले भन्यो, ‘त्यसैले पनि राजनीतिकदेखि प्रशासनिक नेतृत्वले भवन बनाउन बढी चासो दिने गरेका हुन् ।’राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*