प्रचण्ड-माधवको रणनीति : ′प्लान् ए’ सफल नभए मात्रै समाजवादी केन्द्र !
काठमाडौं । चुनाव सन्निकट आउँदा सत्ता गठबन्धन भित्रकै माओवादी केन्द्र र एकीकृत समाजवादीले नयाँ नयाँ योजना बनाउन थालेका छन् । आगामी चुनावपछि निर्णायक शक्तिका रुपमा देखिन यी दुई दलका शीर्षनेताहरु पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले मिलेरै रणनीति बनाउन थालेका हुन् । अहिले चर्चामा आएको समाजवादी केन्द्र निर्माणको रणनीति पनि त्यहीमध्येको एउटा योजना हो ।
तीन तहको कार्ययोजना बनाएर चुनावी रणनीति बनाउन अहिले प्रचण्ड र माधव नेपाल प्रायः दिनहुँ छलफलमा छन् । उनीहरुले प्लान् ए, प्लान् बी र प्लान् सी गरेर नै आगामी चुनाव र त्यसपछिको ‘पोजिसन’मा आफुहरु निर्णायक शक्ति हुन चाहेका छन् । समाजवादी केन्द्र निर्माणको तयारी उनीहरुको त्यही प्लान् बी अन्तर्गतको एउटा रणनीति हो ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले सत्ता गठबन्धन भित्र रहेका दलहरुको साहारामा एक्लै बहुमत जुटाउने गरी अगाडी बढ्न थालेपछि गठबन्धनभित्रकै यी दलहरुले कांग्रेसको त्यस्तो निर्णयका विरुद्द अर्काे मोर्चाको तयारी थालेका हुन् ।
त्यसका लागि उनीहरुले समाजवादी केन्द्र निर्माणको अर्थपूर्ण छेप्यास्त्र राजनीतिक बजारमा फालेका छन् । सत्तागठबन्धनभित्रका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रय अभियान र डा बाबुराम भटटराई समेतको गठजोडमा समाजवादी केन्द्र निर्माणको प्रयासमा ती दलहरु लागेका छन् ।
प्लान् ए अन्तर्गत माओवादी र एकीकृत समाजवादीको कांग्रेससगै पूरै निर्वाचन क्षेत्रमा गठबन्धन गर्ने योजना छ । त्यसका लागि कांग्रेसलाई जम्माजम्मी बढीमा ८० प्रत्यक्ष सिटमा मात्र उम्मेदवारी छोडेर अन्यमा कांग्रेसले गठबन्धनमा रहेका यी दललाई सिट वाँडफाँडमा छोडनु पर्ने हुन्छ । यदि कांग्रेसले प्रतिनिधीसभातर्फको १६५ सिट मध्येको बढीमा ८० सिटमा आफुलाई तयार पारेर बाँकी ८५ सिट गठबन्धनमा रहेका पार्टीका लागि छोड्न तयार नभएका उनीहरुले सत्ता गठबन्धनभित्र नै उपगठबन्धन निर्माण गर्ने गरी प्लान वी को रणनीति बनाउने प्रयास थालेका हुन् ।
त्यसका लागि उनीहरुले भित्री तयारी गरिरहेका छन् । त्यही हो – समाजवादी केन्द्र निर्माणको अर्थपूर्ण तयारी ।
समाजवादी केन्द्र बनाएर चुनावमा जाँदा यी दलका नेताहरुको मोर्चाले पहिले शुरुमा एकता संयोजन समिति घोषणा गर्नेछन् । तत्काल पार्टी एकताकै तहमा नपुगेपनि एउटै चुनाव चिन्हबाट समाजवादी केन्द्रका नेताहरु चुनाव लड्ने् गरी एकता संयोजन समिति घोषणा गरेर जानेगरी यो गठबन्धन निर्माणको तयारीमा रहेका दल तथा नेताहरुको रहेको छलफलमा सहभागी एक नेताले बताए ।
तर यो तयारी प्लान बी को हो ।
‘प्लान ए भनेको कांग्रेस सँगै अहिलेको सत्ता गठबन्धनका पार्टीहरुको सम्मानजनक सिट वाँडफााड नै हो,’ ती नेताले भने,–‘त्यसरी जाँदा कांग्रेसलाई अधिकतम छोडनै परेमा ८० जति सिटमा छोडन सकिन्छ । वाँकी गठबन्धनमा रहेका अन्य दललाई कांग्रेसले छोडन तयार हुनुपर्छ ।’
प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको कांग्रेसलाई ८० प्रत्यक्ष सिट छोड्दाँ उसले जित्ने भनेको अधिक गर्दा पनि ६८ देखि ७०/ ७२ सिट हुन आउने वुझाईमा अन्य दल छन् । त्यसपछि समानुपातिक तर्फ कांग्रेसले ४०/ ४२ सिट जिते पनि ११० भन्दा तल नै खुम्चने स्थितीमा कांग्रेस रहेने ति दलहरुको आन्तरिक हिसाव किताव छ ।
कांग्रेसले भने कम्तीमा ९५ प्रत्यक्ष सिटमा चुनाव लड्ने र समानुपातिक सिट समेत गरेर चुनावमा सक्दा वहुमत एक्लै ल्याउने, नभएपनि लोसापा जस्ता साना दलहरुलाई मात्रै साथ लिएर सरकारको नेतृत्व ढुक्कैले ५ वर्ष आफैले गर्ने योजना बनाएको देखिन्छ ।
तर कांग्रेसलाई सरकारको नेतृत्व अवको ५ वर्ष एकल गर्न दिने गरी गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी लगायतका दलहरु ’ढाल’ बन्न तयार छैनन । कांग्रेसले सिट बाँडफाँडमा लचकता नदेखाए गठबन्धनभित्रकै दलहरुले उपगठबन्धन निर्माण गर्ने गरी प्लान वि अन्तर्गत समाजवादी केन्द्रको छलफल थालेका हुन् ।
समाजवादी केन्द्र निर्माण गर्दा पनि उनीहरुको प्राथमिकता मुख्य शीर्ष नेताहरुको चुनावी क्षेत्रमा कांग्रेससहितको गठबन्धनको प्रयास हुनेछ । जसका लागि कम्तीमा २०/२५ सिटमा नेताहरुको ब्यवस्थापनका लागि कांग्रेससहितको गठबन्धन निर्माण प्रयास हुनेछ । त्यसपछिका वाँकी निर्वाचन क्षेत्रमा समाजवादी केन्द्रका नाममा उनीहरुले कांग्रेस र एमालेसँगै चुनावी प्रतिस्पर्धा गर्नेछन् ।
त्यसो गर्दा कांग्रेसले एक्लैले कम्तीमा १४० देखि १४५ निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा एमाले र कांग्रेस मात्र नभई गठबन्धनमा रहेर चुनावी प्रतिस्पर्धा गर्ने समाजवादी केन्द्रको समेत वलियो उपस्थिती आउने संसदमा हुने उनीहरुको आन्तरिक ठम्याई छ । यसलाई उनीहरुले प्लान बीका रुपमा राखेका छन् ।
त्यसैको सांकेतिक सन्देश माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दा ब्यक्त गरेका हुन् । ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ नेता वर्षमान पुनले नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग भनेका थिए, –‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं। १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ। कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’
उनले केही ठाँउमा मात्र कांग्रेससँग तालमेल हुन सक्ने भनेर पार्टीका शीर्ष नेताहरुको सवालमा मात्र गठबन्धन हुनसक्ने तर्फ पनि संकेत गरे । ‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ पुनले भने, –‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो।’
यो पनि सम्भव नदेखिए फेरि अर्काे प्लान सीको कार्ड तत्कालै तयार पार्ने गरी राजनीतिक परिदृश्य देखा परेको छ । त्यो भनेको एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका सवै वाम शक्तिहरुको गठबन्धन । तत्काल पार्टी एकताको कुरा नगरी अहिलेलाई चुनावी गठबन्धन बनाउने गरी उनीहरुले त्यो मोडेलमा पनि पार्टीका नेताहरुलाई पर्दा पछाडीबाट आन्तरिक छलफलमा छोडेका छन् ।
माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु, एकीकृत समाजवादीमा झलनाथ खनाल, मुकुन्द न्यौपाने देखि एमालेका विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङसम्मका नेताहरुले पर्दा पछाडीबाट वाम गठबन्धनको आन्तरिक गृहकार्य पनि सक्दो ढंगले गरिनै रहेका छन् । यसका लागि उत्तरी छिमेकी मुलुक चीनको सदासयता निरन्तर छदैछ ।मेरान्यूजबाट



















