सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएपछि प्रमुख दुई कम्युनिस्ट पार्टी अलग्निे चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसभित्र अहंकार बढ्दै गएको निष्कर्षसहित उनीहरू असन्तुष्ट भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सत्तारूढ दल कांग्रेसको विरोध गर्दै भित्रभित्रै पार्टी एकीकरण विषयमा घनिभूत छलफलमा जुटेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका शीर्षनेताले नै सरकार र कांग्रेसको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपाबाट कारबाहीमा परेका डा. बाबुराम भट्टराई समूह र वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन विषयमा छलफलमा जुटेका शीर्षनेताले सत्तारूढ गठबन्धनलाई धेरै दिनसम्म निरन्तरता नदिर्ने निष्कर्षमा समेत पुगेका छन् ।
गठबन्धन छोड्ने र कम्युनस्टि पार्टीबीच एकीकरण गरेर आगामी निर्वाचनमा सहभागी हुने रणनीति
कम्युनिस्ट पार्टीबीच एकीकरण गर्दै पाँच दलीय गठबन्धन कायम नै राख्ने निर्णय गरेको एकीकृत समाजवादी अध्यक्ष नेपालले कांग्रेसभित्र अहंकार बढ्दै गएको बताएका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तै कांग्रेसभित्र पनि अहंकार बढदै गएको टिप्पणी गरेका छन् ।
ओलीले दुई तिहाईको फूर्ति देखाउँदै आफ्नै पार्टीका नेता–कार्यकर्तालाई नटेर्ने गरेकै कारण सत्ताबाट सडकमा पुग्नुपरेको नेपालले बताए । ओलीकै कारण कांग्रेससँग गठबन्धनमा जानुपर्ने बाध्यता आइपरेको बताउँदै उनले अहिले कांग्रेसमा पनि ओलीको जस्तै अहंकार बढ्दै गएकाले सडकमा पुग्ने अवस्था नल्याउन कांग्रेसलाई चेतावनी दिए ।
कांग्रेसमा पनि अहंकार बढेको बताउ“दै उनले कम्युनिस्टको बुइँ चढेर कांग्रेसले बुर्कुसी मार्ने चिन्ता बढेको बताए । तत्कालीन नेकपा एमालेलाई सम्झिँदै ओलीको अहंकारका कारण दुईतिहाइको कम्युनिस्ट पार्टी र सरकार पतन भएको स्मरण गराउँदै उनले कांग्रेसलाई पनि अहंकार त्याग्न अनुरोध गरे । गठबन्धनको डम्फू मात्रै बजाएर बस्न नसकिने चेतावनीसमेत उनले दिए ।
यसैबीच, माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पार्टीबीच चुनावका लागि विशेष मोर्चा वा एकता संयोजन समिति बन्नसक्ने बताएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम शनिबार पुगेका प्रचण्डले अहिले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग आफूहरूको कुरा चलिरहेको बताए ।
माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई तथा वामदेव गौतम लगायतकास“ग छलफल भइरहेको बताउ“दै उनले आगामी निर्वाचन अघि नै समाजवादी केन्द्र वा विशेष मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए । तत्कालीन नेकपाका बहुमत सदस्यसहितका नेताले पार्टी एकीकरण’bout पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफल गर्दै आएका छन् ।
‘गठबन्धनभित्रका वामपन्थीबीच एउटा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी विशेष मोर्चा पनि हुनसक्छ, भोलि पार्टी एकताका लागि संयोजन समिति पनि गठन हुनसक्छ भनेर छलफल चलिरहेको छ,’ प्रचण्डले भने, ‘अन्तिम निर्णय भइसकेको छैन । सम्भवतः केही दिनभित्र हामी एउटा निर्णयमा पुग्छौं ।’
वामपन्थी एकता भयो भने त्यो समाजवादी केन्द्रजस्तै हुने तर्क उनको छ । ‘वामपन्थी एकता भन्नु र समाजवादी केन्द्र भन्नु उस्तैउस्तै भएको’ उनको कथन छ । ‘त्यस्तो एकतामा उपेन्द्र यादव पनि जोडिने’ दाबी पनि उनले गरे ।
तर, यादवले शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘कम्युनिस्टले समाजवादी केन्द्र बनाउनै नसकिने’ बताउ“दै ‘प्रचण्डले भनेजस्तै त्यस्तो समाजवादी केन्द्रमा संलग्न नहुने’ स्पष्ट पारिसकेका छन् ।
‘चुनावी मोर्चामा उपेन्द्रजी पनि हुँदै हुनुहुन्छ । आउनु पनि हुन्छजस्तो लाग्छ । समाजवादी केन्द्र बनाउँदा आउन अप्ठ्यारो हुने केही पनि मानेका छैनौं,’ प्रचण्डले भने, ‘जसपा अनौपचारिक रूपमा फुटिसकेको र औपचारिकता दिनमात्रै बाँकी रहेको छ, दुवै समूह (उपेन्द्र यादव र डा बाबुराम भट्टराईसँग हाम्रो छलफल चलिरहेको छ ।’
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेसले सय सिट माग्दैमा नपाउने दाबी गरेका छन् ।
‘हरेक पार्टीले त्यस्ता निर्णय गर्न सक्छन् । कांग्रेसको कुरा कसले स्वीकार गर्छ र ? गठबन्धन गर्ने हो भने सम्मानजनक ढंगले सिट तालमेल हुनुपर्छ । कसैले माग्दैमा दिने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘आवश्यकता र औचित्य के हो ? कांग्रेसले दम्भ ग¥यो भने सिङ भाँच्चिन्छन् । अहिले हामीले गठबन्धन टुटाउने सोचेका छैनौं । भागबन्डा मिलेन भने गठबन्धन रहँदैन । जसरी पनि गठबन्धन गर्नुपर्छ भन्ने केही छैन ।’
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकार निरंकुश हुँदै गएको टिप्पणी गरेका छन् । माओवादीसमेत सहभागी आफ्नै पार्टीको सरकार निरंकुश हु“दै गएको भन्दै उनले विरोध जनाए ।
‘राज्यव्यवस्था समितिले छिमेकी देशको व्यवस्थाका आधारमा महिलालाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान राखे पनि सरकारले यसलाई हटाएर पारित गरेको’ औंल्याउ“दै श्रेष्ठले ‘गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य नहुने’ कडा टिप्पणीसमेत गरे ।
‘सात वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी, दिदीबहिनीले विदेशी पुरुषसँग विवाह गरेकोमा छिमेकी देशले सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको व्यवस्थासमेत ध्यान दिएर राखिएको थियो,’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
संसदीय समितिले बहुमतले पारित गरेको विषय मन परेन भनेर अल्पमतमा रहेको विचारअनुसारको विधेयक अघि बढाउने प्रवृत्तिले लोकतन्त्र र संसद्को विधि कार्यान्वयन नहुने भन्दै उनले सरकार निरंकुश हुँदै गएको टिप्पणी गरेका छन् ।
श्रेष्ठले राष्ट्रिय हितअनुरूप नभएको एमसीसी पनि गठबन्धनकै कारण माओवादीले बाध्यात्मक रूपमा व्याख्यात्मक घोषणासहित पारित गरेको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हितअनुरूप ठान्दैन । तर, गठबन्धन सरकारको कारण पार्टीभित्र मतभेदबीच बाध्यात्मक रूपमा १२बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन ग-यो । अहिले फेरि नागरिकता विषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयक पारित गर्ने निर्णय भयो,’ श्रेष्ठले भनेका छन् ।
सरकारले अमेरिकालाई एसपिपी अस्वीकारको पत्रसमेत नपठाएको भन्दै नेता श्रेष्ठले गठबन्धनका नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई बाध्यात्मक समर्थन गरिरहन नसक्ने स्पष्ट पारेका छन् ।
उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्ट एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
कम्युनिस्ट पार्टीका शीर्षनेताको भित्रभित्रै भइरहेको छलफल र पौडेलको सार्वजनिक भनाइले कम्युनिस्ट पार्टी एकआपसमा मिल्न लागेको संकेतसमेत गरेको छ ।
पौडेलले अन्तर्राष्ट्रिय शक्ति र नेपालका कम्युनिस्ट एकताबद्ध भइ कांग्रेस र लोकतन्त्र कमजोर बनाउने षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् । वरिष्ठ नेता पौडेलले गठबन्धन आवश्यक भए पनि आगामी चुनावमा कम्युनिस्ट एक ठाउँ उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबीसमेत गरे ।यो समाचार आजको राजधानी दैीनकमा प्रकाशित भएको छ ।



















