डेढ लाख खोपको म्याद शनिबार सकियो

वेलकम खबर
साउन ८, २०७९

काठमाडौँ । कोरोना संक्रमण केही दिनयता उकालो लाग्ने क्रममा छ तर खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वाग्मती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो, बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ । बुधबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा २ हजार ५ सय ७० कोभिसिल्ड खोप मौज्दात रहेकामा सबैको म्याद शनिबारै सकिएको छ । बुधबारदेखि शुक्रबारसम्म तीमध्ये कति खोप लगाइयो भन्ने तथ्यांक विभागसँग छैन ।

नेपालले हालसम्म १ करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट ४ करोड ५ लाख ४ हजार ३ सय ७० मात्रा प्राप्त गरेको छ । यसरी कुल ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ । कोभिसिल्डबाहेकका अन्य खोपको म्याद भने बाँकी नै छ । विभागले सबै प्रदेशको खोप मौज्दातको विवरण प्रदान गर्न सकेन ।

जिल्लाबाट विवरण नै आइनपुगेको विभागको भनाइ छ । विभागले उपलब्ध गराएको साउन ७ को तथ्यांकअनुसार सुदूरपश्चिमको बाजुरामा २ हजार ७ सय, कैलालीमा २ हजार २ सय ९०, कञ्चनपुरमा १ हजार ४ सय खोप मौज्दात छ ।
सुदूरपश्चिम प्रदेशमा कुल ८ हजार २ सय २० मात्रा खोप मौज्दात छ । कर्णालीको डोल्पामा १ हजार ९ सय ७०, सुर्खेतमा ९ हजार ७ सय ९०, कालीकोटमा १ हजार ५ सय ४०, जाजरकोटमा १ हजार २ सय, सल्यानमा ८ हजार ६ सय ७० खोप मौज्दात छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले करिब एक लाख खोप खेर गएको हुन सक्ने बताए । आपूर्ति शाखासँग कति खोप बाँकी छ र कति खोप लगाइयो भन्ने यकिन जानकारी नै छैन । प्रदेश स्वास्थ्य निर्देशनालयसँग पनि खोप कतिले लगाए भन्ने दैनिक विवरण छैन । अधिकृत थापाले खोप खपत कम भएका जिल्लाबाट अर्को जिल्लामा पठाउन आग्रह गरिने बताए । उनले भने, ‘हेटौंडामा खोप खपत भएको थिएन, अरू जिल्लामा पठाउनु भनेका थियौं तर अहिलेसम्म के गरे जानकारी आएको छैन ।’
पछिल्ला दिन कोभिड संक्रमणको जोखिम भने बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दैनिक संक्रमण दर ११।८४ प्रतिशत देखिएको छ । गएको २४ घण्टामा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ संक्रमित पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हाल मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ पुगेको छ । अघिल्लो साता संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो ।
२०७७ माघ १४ गतेबाट नेपालमा कोभिडको पहिलो मात्रा खोप लगाउन थालिएको थियो । हालसम्म कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये ७२।२ प्रतिशतले पहिलो मात्रा र ७०।३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । १२ वर्षमाथिका २ करोड ३३ लाख २७ हजार ६ सय १९ मध्ये ९०।३ प्रतिशतले पहिलो मात्रा र ८८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । २०७९ जेठ २६ देखि १२–१७ वर्षकालाई खोप लगाउन थालिएको थियो । त्यसैगरी ५ देखि ११ वर्षसम्मका बालबालिकालाई २०७९ असार ९ देखि खोप दिन सुरु गरिएको थियो, जुन अहिले पनि सञ्चालनमा छ । सरकारले २०७८ माघ २ बाट अतिरिक्त मात्रा लगाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अतिरिक्त मात्रा लगाउने ७ लाख ४६ हजार ८ सय ८१ जना मात्रै छन् ।

वाग्मती प्रदेशमा १२ वर्षभन्दामाथिको जनसंख्याको ९९ प्रतिशतले पहिलो र ९५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । साथै २६ प्रतिशतले अतिरिक्त मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ । गण्डकी प्रदेशमा ९० प्रतिशतले पहिलो र १०० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको तथ्यांक छ । साथै ३८ प्रतिशतले अतिरिक्त मात्रा लगाएका छन् ।

मधेस प्रदेशमा ८१ प्रतिशतले पहिलो, ८२ प्रतिशतले पूर्ण र १८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा ९१ प्रतिशतले पहिलो, ९१ प्रतिशतले पूर्ण र ३७ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशतले पहिलो, ७९ प्रतिशतले पूर्ण र ३१ प्रतिशतले अतिरिक्त मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ । कर्णाली प्रदेशमा ७६ प्रतिशतले पहिलो, ७४ प्रतिशतले पूर्ण र २९ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

प्रदेश १ मा ८१ प्रतिशतले पहिलो र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने १७ प्रतिशतले अतिरिक्त मात्रा लगाएको तथ्यांक छ । प्रदेश १ स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले ३७ प्रतिशतभन्दा माथिले अतिरिक्त मात्रा लगाइसकेको बताए । ‘खोपको केही कमी थिएन, आज कतिले लगाए भन्ने जानकारी आइनसकेको तर केही मात्रामा खोप खेर गएको छ, धेरै मान्छेले त खोप लगाइसके,’ उनले भने ।

गोरखा पालुङटारका ४० वर्षीय राम थापा काठमाडौंको एक सरकारी कार्यालयमा काम गर्छन् । गोरखामा उनका ८० वर्षीया आमा र अपांगता भएकी बहिनीले अहिलेसम्म अतिरिक्त खोप लगाउन नपाएको उनले बताए । भन्छन्– ‘खै किन हो उनीहरूले अहिलेसम्म खोप लगाउन पाएका छैनन् । पाए त लगाउँथे होला । खोप लगाउन नपाएका बूढाबूढी गाउँमा थुप्रै छन् । खै कहाँ कमजोरी भइरहेको हो ।’

ललितपुर धापाखेलका ५० वर्षीय गोपाल न्यौपानेले केही दिनअघिदेखि अतिरिक्त लगाउने सोचिरहेका थिए तर कहाँ लगाउने मेसो पाइरहेका थिएनन् । अलमलमा परे । उनले पछि पाटन अस्पतालमा गएर खोप लगाए । ‘अरू बेला खोप अभियान चलेको देखिन्थ्यो तर अहिले वडामा पनि सुनसान छ, कहाँ गएर लगाउने थाहै भएन,’ उनले भने । धेरै जनालाई अहिले खोप कहाँ दिइरहेको छ भन्ने उचित जानकारी छैन, जसले गर्दा लगाउन इच्छुकले पनि नलगाई बसेका छन् ।

विज्ञहरूका अनुसार खोप अभियानलाई प्राथमिकतामा नराख्दा खोप लगाउन मन हुनेहरू पनि खोप केन्द्रसम्म आइपुग्न सकेका छैनन् । सरकारले खोप लगाउनुपर्छ भन्ने प्रचारप्रसारको कमीले नै खोप लगाउने घटेको उनीहरूको बुझाइ छ । काठमाडौं विश्वविद्यालयकी सहप्राध्यापक तथा जनस्वास्थ्य विज्ञ डा. अर्चना श्रेष्ठले खोप अभियानमा सरकार सुस्त भएको बताइन् । ‘जनमानिसमा कोभिडको डर हराउँदै गएकाले पनि खोपप्रति चासो कम भएको हो, अर्को कुरा पहिले जति खोपका बारेमा प्रचारप्रसार हुन्थ्यो, अहिले देखिँदैन । अतिरिक्त पनि लगाउनुपर्छ भन्ने त धेरैलाई थाहा छैन होला, खोप अभियानलाई निरन्तर रूपमा नलाँदा धेरै मानिसले खोप लगाउन पाएका छैनन्,’ उनले भनिन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार धेरैलाई अहिले खोप कहाँ दिइँदै छ भन्ने थाहा छैन । ‘दोस्रो मात्रा खोप लगाउँदै गर्दा कोरोना ओरालो लाग्दै गयो, अब किन लगाउनुपर्‍यो भन्ने सोचे पनि होलान्, खोप लगाउने कुरामा जनमानसमा चासो कम हुँदै गएको छ, सम्बन्धित निकायले पनि चासो देखाएको छैन । ‘कोभिड महामारी अन्त्य भइसकेको छैन, यसले निरन्तर स्वरूप परिवर्तन गरिरहेको छ, खोपले थप जटिलताबाट बचाउने भएकाले लगाउनुपर्छ भनेर सरकारले निरन्तर सूचना प्रदान गर्न आवश्यक छ,’ उनले भने ।

स्वास्थ्य विभागका एक कर्मचारीले स्वास्थ्यका अरू कार्यक्रम धेरै भएकाले खोप कार्यक्रम ओझेलमा परेको बताए । उनले भने, ‘धेरै कार्यक्रम जुध्यो पनि । कतिपयले समयमा बजेट पनि पाएनौं भनेका छन् । खोप खेर गयो तर कतिले लगाउनै पाएनन्, कति लगाउन पनि गएनन् ।’

स्वास्थ्य सेवा विभागका पूर्वखोप शाखा प्रमुख डा। झलक गौतमले खोप अभियानमा तीव्रता नदिनु, संघ, प्रदेश र स्थानीय तहको समन्वय नमिल्नु नै खोपको कभरेज बढ्न नसकेको बताए । उनले भने, ‘पालिकाबाट कति खोप आयो र कतिले लगाए भन्ने यकिन जानकारी केन्द्रसम्म आइपुग्दैन । सूचनाकै कमी देखियो । रिपोर्टिङ नै कम छ । कहाँ खोपको कभरेज कम छ त्यहाँ फोकस गरिनुपर्थ्यो। व्यवस्थापकीय कमजोरी नै हो ।’ उनले कुनै खोप सिंगल मात्राको भाइल छ भने खेर कम जाने र बढी छ भने खोप खेर जाने सम्भावना बढी रहने बताए । कोभिसिल्डको एक भाइल खोलेपछि १० मात्रा हुन्छ, यदि १० नै जनालाई नै लगाइयो भने खेर जाँदैन नभए खेर जान्छ ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*