संरक्षण क्षेत्रमा बढ्दै चोरी सिकारी, पासोमा परेर मर्छन् किसानका भेडाबाख्रा

वेलकम खबर
साउन ५, २०७९

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा चोरी सिकारी अझै रोकिएको छैन। यहाँ चीनको तिब्बतबाट आएरसमेत दुर्लभ वन्यजन्तुको चोरी सिकार गर्ने गरेका छन्। सिकारका लागि तस्करले राख्ने पासोमा किसानका भेडाबाख्रासमेत पर्ने गरेका स्थानीयहरू बताउँछन्।

वन्यजन्तुको सिकारका लागि राखिएको पासोमा परेर यो वर्ष मात्रै आफ्ना चारवटा भेडा मरेका बताउँछन् भेडीगोठ लिएर फत्ताङ्लुङ –६ स्थित कुर्लुङ राते पुगेका गोपाल विष्ट। उनका अनुसार यसअघिका वर्षहरूमा समेत पासोमा परेर किसानका धेरै भेडाबाख्रा मरेका छन्। चार वर्षअघि सदरमुकाम फुङलिङबाट गएको नेपाली सेनाको नयाँ रणभीम गुल्मको टोलीले २१ वटा पासो भेटेको थियो। तत्कालीन गुल्मपति रवि केसीको नेतृत्वमा गएको टोलीले वडा ७ ओलाङचुङगोला क्षेत्रको तिगुमा, चेने, मौवाटार, देउमा क्षेत्रमा सर्च गरेर तीनन हजार पाँच सयदेखि चार हजार दुई सय मिटर उचाइमा पासोहरू भेट्टाएको सेनाको अभिलेखमा उल्लेख छ।
यसैगरी, रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्चको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७र७८ मा जंगलमा थापेको १७ वटा पासो संरक्षणकर्मीले भेटेर हटाएको मञ्चका कार्यक्रम अधिकृत रमेश राईले जानकारी दिएका छन्। कञ्चनजंघा व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू (लिम्बू)का अनुसार आर्थिक वर्ष ०७८र७९ मा १३ वटा पासो फेलापरेको छ।

उता, कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना अधिकृत रमेशकुमार यादवले घुन्सा क्षेत्रमा पासो थाप्नेको खोजी भइरहेको बताएका छन्। वर्षौँदेखि भइरहेको चोरी सिकारी अहिले पनि नियन्त्रण हुन नसकेको अधिकृत यादव स्वीकार गर्छन्। उनले चोरी सिकारी गैरकानुनी काम भएकाले यसमा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउने बताए।

ओलाङचुङगोला क्षेत्रमा कोरोना संक्रमणपछि भने सीमापारिबाट चोरी सिकारी भएको संकेत नमिलेको फक्ताङ्लुङ– ६ का वडाध्यक्ष छेतेन शेर्पा बताउँछन्। दुर्लभ हिमचितुवा, कस्तुरी मृग मारेको वा मारेर त्यसको अंग बेचविखन गरेको पाइएमा १० लाख रुपैयाँ जरिवाना वा १० वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था छ।nayapatrikadaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*