काठमाडौको जोरपाटीमा एक्कासि मिथेन ग्याससँगै बालुवाको मुस्लो निस्किएपछि…
काठमाडौँ । काठमाडौंको जोरपाटी चोकको उत्तरतर्फ केही अग्लो जमिन छ । डाँडा जस्तो उच्च भागको सडक हुँदै सुन्दरीजल पुगिन्छ । जोरपाटी चोक उत्तरदेखिको सडक मोडिने क्रममा एउटा सानो गल्ली छ । बाक्लो बस्ती भएको त्यो टोललाई स्थानीय ‘लोसेटार’ भन्छन् ।
लोसेटारमा सन्तकुमार लामाको साढे ३ तले घर छ । लामाले घरमा ‘बोरिङ’ मार्फत पानी तान्नका लागि तयारी गर्दै थिए । दुई दिनसम्म ‘ड्रिल’ गरेपछि ३ सय २० फिटमुनि पानी भेटियो । त्यही तयारीका लागि मंगलबार बिहान १० बजे पाइप जडान भइरहेको थियो । ड्रिल गरिएको ठाउँमा पाइप हाल्ने क्रममा अकस्मात लेदो निस्कियो । विस्तारै बढ्दै गएपछि त्यसले अलिक ठूलो रुप लियो । नभन्दै त्यो लेदो घरको उचाइभन्दा माथि पुग्यो । सय मिटरसम्मको उचाइमा पुगेर यत्रतत्र भयो ।
५ मिनेटभित्र लेदोले जोरपाटी चोकमा प्रभाव देखायो । चोक चोकमा हिँड्ने मानिसहरू भिजेको बालुवाका स(साना कणले निथ्रुक्कै भए । पार्किङ गरिएका मोटरसाइकल हिलाम्मे भए । केही पसलहरू बन्द गरिए, केहीले सामान छोपे । हेर्दा, धुँवाको मुस्लो जस्तो देखिएको थियो तर त्यो बालुवाका कण र साना गिटी थिए ।
सन्तकुमारको घरमा डेरा बस्दै आएका विनोद दासले भने, ‘बोरिङ गरेको ठाउँबाट निस्किएको बालुवा सबै ठाउँमा पुग्यो । मेरो कोठामा र लुगा सबै बिगारो ।’ फुटपाथमा साइकल लिएर कपडा बेच्दै गुजारा चलाउँदै आएका दासले बालुवाको धुलो सबैतिर छरपस्ट भएको बताए ।
टाढाबाट धुँवाको मुस्लो जस्तो देखिए पनि नजिकबाट हेर्दा बालुवाका धुलो र साना गिटी बोरिङ गरिएको ठाउँबाट निस्किएको थियो । करिब सय मिटरसम्मको उचाइमा पुगेर हावाको बहावतिर ती कणहरू खस्दा जोरपाटी चोकमा पुगेका अधिकांशको जीउमा खसेको थियो ।
जोरपाटी चोकका व्यापारीले सुरुमा झुक्किए । ‘लोसे टोल’मा आगलागी भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर जमिनबाट ग्याससहित बालुवा र गिटीहरू निस्किएको थाहा पाए । ५ वर्षदेखि जोरपाटी चोकमा कपडा पसल सञ्चालन गर्दै आएका रामहरि दुलालले कान्तिपुरसित भने,‘ हामीले सुरुमा आगो लागोको भनेर प्रहरीलाई खबर गर्यौ तर एकछिनपछि पसलमा बालुवा खस्न थालेपछि हैन रहेछ भन्ने थाहा भयो ।’
मिथेन ग्याससँगै भिजेका बालुवाका कण
प्रहरी आएपछि त्यस क्षेत्रलाई निषेधित गर्दै खानी तथा भूगर्भ विभागलाई खबर भयो । विभागबाट वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठको टोली आयो । टोलीले ‘ धेरै ग्यास साँघुरो ठाउँबाट निस्किँदा’को परिणाम भएको प्रारम्भिक निष्कर्ष निकाल्यो । ग्यास डिटेक्टरले त्यो ठाउँको ग्यास कन्सन्ट्रेसन हेर्दा ‘मिथेन’को मात्रामा धेरै भएको पायो । श्रेष्ठले कान्तिपुरसित भने, ‘यो धेरै ग्यास भरिएको ठाउँबाट एउटा साँघुरो स्थानबाट निस्कँदा धेरै प्रेसर भएको देखिएको हो । यो मिथेन ग्याससँगै, बालुवाका कण, साना गिटी पनि सँगै आएका हुन् ।’
भूगर्भविद् श्रेष्ठका अनुसार बोरिङ गरिएको ठाउँमा भण्डारण भएको ग्यास एकैपटक निस्कन खोज्नु र भिजेको बलुवा र गिटी हुँदा ग्याससँगै उच्च चापमा बाहिर निस्किँदा लेदो जस्तो देखिएको हो ।
उनले पानीको मूल फुटेजस्तै किसिमले ग्यासको मूल फुटेको प्रतिक्रिया दिए । बोरिङ गरिएको ठाउँमा भण्डारण भएको ग्यास रहेपछि उक्त स्थानबाट एकैपटक ग्यास र बालुवा र साना गिटी निस्किएको श्रेष्ठले बताए ।
कति फिटमा बोरिङ ?
काठमाडौंको भूगर्भ फरक(फरक स्थानमा फरक रहेको खानी विभागले जनाएको छ । जमिनमुनि लामो समयदेखि भण्डारण भएका मिथेन ग्यास रहेको श्रेष्ठले बताए । बोरिङमार्फत पानी तान्ने क्रममा कहिले काही ग्यास भण्डारण भएको स्थानमा पुगेपछि त्यो निस्कने गर्छ ।
पानी निकाल्नका कसैले सय फिट त कुनैमा २ सय फिटमुनि खनेर पानी तान्छन् । ३ सयदेखि ३ सय ५० फिट खन्दा ग्यास निस्कने सक्ने श्रेष्ठले बताए । लामाले ३ सय २० फिट खनेको उनले बताए । त्यो सामान्य अवस्थाको भन्दा असामान्य भएको उनको भनाइ थियो । उनी भन्छन्, ‘काठमाडौंको भूगर्भ फरक(फरक छ । कुनैमा सय फिटखन्दा पनि पानी आउँछ कसैकोमा आउँदैन । ’
कति समयसम्म आइरहन्छ ग्यास ?
जोरपाटीमा मंगलबार बिहान १० बजेदेखि निस्कन थालेको लेदो साँझ ६ बजेसम्म रोकिएको छैन । ग्यासको मूल फुटेपछि सानो ठाउबाट निस्कँदा धेरै प्रेसर पनि हुने र भण्डारण भएको ठाउँबाट लामो समयसम्म निस्कने विज्ञहरू बताउँछन् । ठूलो क्षेत्रफल हुँदा कम प्रेसरमा निस्कने र छिट्टै ग्यास निस्किसक्ने श्रेष्ठले बताए ।
‘जमिनमुनि स–साना कापमा भएको ग्यास पनि मूल फुटेका ठाउँमा पुगेर जमिन बाहिर निस्कन खोज्छ,’ उनले भने । यति समयसम्म आउँछ यति बेला रोकिन्छ भनेर यकिनका साथ भन्न सकिने प्रविधि विभागसँगै छैन । विभागले ग्यास भण्डारणको मात्रा थाहा पाएपछि,निस्कने ठाउँको क्षेत्रफलबारे जानकारी भएपछि मात्रै यसबारे भन्न सकिने जनाएको छ ।असर के रु
मिथेन हरितगृह ग्यास हो । हाइड्रोजन र कार्बनबाट बनिने भएकाले यसलाई हाइड्रोकार्बन भनिन्छ । प्राकृतिमा यो विशेष गरी लामोसमयसम्म रहेका जैविक वस्तुहरू थुप्रिदा,खाँदिदा पनि बन्ने गर्छ । यसको प्रयोग ऊर्जाका रुपमा पनि हुने गर्छ ।
जोरपाटीमा ग्याससँगै बालुवाका साना कणहरू निस्किँदा यसको असर स्वास्थ्यमा पर्न सक्ने विज्ञहरूले जनाएका छन् । हावामा स–साना कण उड्दा त्यो सिधै श्वासप्रश्वास प्रणाली हुँदै फोक्सोमा पुग्ने सक्ने जोखिम भएकाले विज्ञहरूले वरिपरि नजान सुझाव दिएका छन् ।ekantipur



















