पाथीभरामा केवलकार निर्माणका लागि म्याद थपियो
ताप्लेजुङ । पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो ।
असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार २०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना थिएन । चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख थियो । यो अवधिमा संरचना निर्माण नै सुरु नभएकाले कार्यविधिमा थप व्यवस्था गर्नुपरेको न्यौपानेले बताए । संशोधित कार्यविधिमा नगरपालिकालाई हरेक वर्ष १ लाख ५० हजार रुपैयाँ राजस्व बुझाउनु पर्ने उल्लेख छ ।
कम्पनीले तीन वर्षका लागि एकै पटक ४ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएकाले थप तीन वर्ष म्याद दिइएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए । निर्वाचित भएपछि कार्यविधि बनाएर पहिलो पटक अनुमति दिएका तत्कालीन नगरप्रमुख छत्रपति प्याकुरेल समयमा काम नभएको भन्दै असन्तुष्ट बनेका थिए ।
उनले नवीकरण नगर्ने घोषणा पनि गरेका थिए । पहिलो पटक अनुमति लिँदा कम्पनीले १२ लाख रुपैयाँ राजस्व तिरेको थियो । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट अमिर मादेन निर्वाचित भएपछि कार्यविधि संशोधन गरेका हुन् । प्रवक्ता न्यौपानेका अनुसार कार्यपालिकाले निर्णय गरेकै दिन नगर प्रमुख मादेनले प्रमाणित गरेका थिए ।
३० गते राजपत्रमा प्रकाशित भएको र त्यही दिन राजस्व बुझाएपछि आफूले नवीकरण गरेको रिमालले बताए । ३ अर्ब रुपैयाँको लागतमा हुने निर्माणको मुक्कुमलुङ संघर्ष समितिलगायतका कतिपय संघसंस्थाले विरोध गरिरहेका छन् ।
मन्दिर परिसरभित्र संरचना बनाउन नहुने, किरातीहरुको मुन्धुक स्थल भएकाले केवलकार निर्माण गर्न आवश्यक नरहेकोजस्ता मुद्दा उनीहरुका छन् । नेपाल सरकारले भने केवलकार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । एमालेका केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला निर्णय भएको हो । कान्तिपुर



















