माओवादीले प्रदेश सदस्य वनेमलाई कारबाहीको सिफारिस, फुङलिङ ईन्चार्ज शंखरलाई जिम्मेवारीबाट हटाईयो
ताप्लेजुङ। पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीका लागि सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिले पार्टीका केन्द्रिय अध्यक्षलाई पत्र लैख्दै प्रदेश समितिको सम्पुर्ण जिम्मेवारीबाट निलम्बन गरी आवश्यक छानविन र कारवाहीको लागि सिफारिस गरेको हो ।
प्रदेश समितिले असार ३ गते सोधेको स्पष्टिकरणको जवाफ वनेमले असार ५ गते दिएकोमा चित्तबुझ्दो नभएकाले आवश्यक कारबाहीका लागि सिफारिस गरिएको अध्यक्ष हर्क बहादुर नेम्बाङ र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । पालिका अध्यक्ष वनेमले गत वैशाख ३० गतेको निर्वाचनमा प्रयोग गर्न दिइएको टिकट दुरुपयोग गरी आफु प्रस्तावक बसि फुङलिङ नगर कमिटीका अध्यक्ष गंगा शंकरलाई पार्टीको निर्णय विरुद्ध जिल्ला समन्वय समितिको प्रमुखमा उमेद्वारी दर्ता गराउँदा पार्टीलाई गम्भिर क्षति भएकाले कारबाहीका लागि सिफारिस गरिएको बताइएको छ ।
यस्तै पार्टीका फुङलिङ नगरसमितिका अध्यक्ष तथा नगर कार्यपालिका सदस्य शंखरलाई समेत प्रदेश समितिले अनिश्चित समय सम्मका लागि पार्टीेको सम्पुर्ण जिम्मेवारीबाट निश्कासन गरेको छ । प्रदेश समितिले जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक र फुङलिङ नगर समितिका ईन्चार्जलाई पत्रमार्फत शंखरलाई निश्कासित गरेको जानकारी गराएको छ ।

माओवादी केन्द्रले गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुखको भाग पाएकोमा पार्टीको निर्णय विरुद्ध उमेद्वारी दर्ता गराउँदा प्रमुखको भाग नै गुमेको ठहर गर्दै पार्टीलाई गम्भिर क्षति पुगेको समेत पत्रमा उल्लेख गरेको छ । निर्णय विपरीत उमेद्वारी दर्ता गराएपछि प्रदेश समितिले नै शंखरको उम्मेद्वारी रद्ध गर्न मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गरेको थियो । माओवादी केन्द्रमा विवाद भएपछि गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एकिकृत समाजवादी ताप्लेजुङका अध्यक्ष छिरिङ लामा चयन हुनु भएको छ ।epathivara



















