नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष

वेलकम खबर
असार २८, २०७९

काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ ।

विधेयकले मुलुकी अपराधसंहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कारलगायत यौनहिंसाका घटनामा हदम्याद बढाएको हो ।

विधेयकमार्फत १८ वर्षमुनिका नाबालिगको बलात्कार अथवा यौन दुव्र्यवहारका घटना भए बालिग भएको तीन वर्षभित्र उजुरी गर्न मिल्नेगरी हदम्याद कायम गरिएको छ ।

त्यस्तै, १८ वर्षदेखि ७० वर्ष उमेर समूहमा भएको बलात्कार घटनामा उजुरीको हदम्याद दुई वर्ष कायम भएको छ । यो उमेर समूहमा पनि यसअघि एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्यादको व्यवस्था थियो ।

यौन हिंसाविरुद्धको विधेयक प्रतिनिधिसभाबाट पारित

यसैगरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सुस्तमनस्थिति भएका व्यक्ति र अपांगको हकमा पनि उजुरीको हदम्याद ३ वर्ष कायम भएको छ । सरकारले ल्याएको यौन हिंसाविरुद्धको केही ऐन संशोधनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले हदम्याद व्यवस्थामा परिमार्जन गरेको हो ।

त्यस्तै, विधेयकले बलात्कार घटनामा कैद सजायका अतिरिक्त जरिमाना व्यवस्था गरेको छ । यसरी प्राप्त हुने जरिमाना पीडित राहत कोषमा जम्मा हुनेछ । १० वर्षभन्दा कम वा १० वर्षदेखि १४ वर्षसम्म उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला बलात्कार घटनामा कसुरदारलाई ७ लाख जरिमाना प्रावधान विधेयकमा राखिएको छ ।

त्यस्तै, १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम अथवा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए कसुरदारलाई ५ लाख र १८ वर्षभन्दा माथि उमेरकी महिला भए कसुरदारलाई तीन लाख जरिमाना गराउने प्रावधान गरिएको छ ।

सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अग्नि सापकोटाले विधेयक निर्णयार्थ पेस गरेका थिए ।

जबर्जस्ती करणीसम्बन्धी मुद्दामा झुटो उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई बलात्कार मुद्दाको कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने प्रावधान नराख्नेगरी संसदीय समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको थियो ।

सरकारले ल्याएको विधेयकमा झुटो उजुरी गर्नेलाई आधा सजाय हुने व्यवस्था प्रस्तावित थियो । तर, समितिले सरकारले ल्याएको विधयकबाट सो व्यवस्था हटाइदिएको हो । तर, झुटो बकपत्रमा कारबाही हुने व्यवस्था हाल कायम रहेको मुलुकी फौजदारी कार्यविधि संहितामामा भने यथावत छ ।

कार्यविधिको दफा ४४ को दफा १ (क)मा झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

कार्यविधिले यसरी सजाय गर्दा कसुरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिमाना गर्न नमिल्ने व्यवस्था गरेको छ । यो विधेयक प्रतिनिधिसभाबाट पास भएसँगै अब राष्ट्रिय सभामा पुग्नेछ । ६० दिनभित्र राष्ट्रिय सभाबाट विधेयक पास भएपछि त्यसलाई राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पेस गरिनेछ । यसरी प्रमाणीकरण भएपछि विधेयकले कानुनी मान्यता पाउनेछ ।

प्रतिनिधि सभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले हदम्याद बढाउनेगरी तयार पारिएको यौन हिंसासम्बन्धी कानुनको संशोधन विधेयकसहितको प्रतिवेदन पारित गर्न प्रतिनिधि सभामा पेस गरेका थिए ।

जबर्जस्ती करणीसम्बन्धी मुद्दामा झुटो उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई बलात्कार मुद्दाको कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने प्रावधान नराख्ने गरी समितिले प्रतिनिधिसभामा पेस गरेको थियो । सरकारले ल्याएको विधेयकमा झुटो उजुरी गर्नेलाई आधा सजाय हुने व्यवस्था प्रस्तावित थियो ।

हाल कायम मुलुकी फौजदारी कार्यविधि संहितामामा भने अहिले पनि झुठो बकपत्र गर्नेलाई सजाय प्रावधान भने यथावत् छ । कार्यविधिको दफा ४४ को दफा १ (क)मा झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

कार्यविधिले यसरी सजाय गर्दा कसुरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिमाना गर्न नमिल्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस गर्दै सभापति पोखरेलले पीडितमैत्री कानुन निर्माण गर्ने काम भएको बताए ।

नेकपा एमालेकी सांसद विमला विकले राज्यको व्यवहार होस्टेल वार्डेनजस्तो नभएर आमाजस्तो हुनुपर्ने बताइन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद विकले राज्यले आमाको जस्तै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

‘राज्य भनेको होस्टेल वार्डेनजस्तो हुनुहुन्न । ८ बजे आयो भने भित्र छिर्न पाइन्छ, त्योभन्दा पछि आयो भने बाटैमा सुत कि बाघले खाओस् कि कतै जाओस्, राज्य त आमाजस्तो हुनुपर्छ राति १ बजे ढोकामा लात्ता हाने पनि ढोका खोल्नुहुन्छ । राज्य त अभिवावक जस्तो हुनुपर्छ,’ विकले भनिन् ।

यौन हिंसासँग सम्बन्धित मुद्दाको हदम्यादका विषयमा विकले अहसमति जनाइन् । ‘एकातिर बलात्कारलाई गम्भीर अपराध भनेका छौं । अर्कोतिर यति दिनमा आयौ भने उजुरी हुन्छ, आएनौ भने अपराध हुन्न भन्न मिल्छ ?’ विकले भनिन् ।rajdhanidaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*