अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

वेलकम खबर
असार १७, २०७९

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए ।

हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम ९बीभीआरएस०मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ ।

उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए  ।

मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।

आयोगका प्रवक्ता पौडेलले कार्यालयमै गएर दर्ता गर्नुपर्ने प्रक्रिया अन्त्य भएपछि नागरिकले ठूलो राहत पाउने विश्वास व्यक्त गर्दै भने, ‘तर प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा पुग्नैपर्छ ।’
आयोगको सूचना प्रविधि शाखाका उपसचिव आदेश खड्काले केही दिनभित्रै नामावली दर्ता सफ्टवेयर सञ्चालनमा आउने जानकारी दिए ।
सफ्टवेयरका लागि आयोगले करिब १७ लाख रुपियाँ खर्च गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*