वामपन्थी शक्तिलाई एकताबद्ध गर्न एकीकृत समाजवादीको आह्वान

वेलकम खबर
असार १४, २०७९

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले वामपन्थी शक्तिहरुलाई एक हुन आह्वान गरेको छ। काठमाडौं सम्पन्न केन्द्रीय परिषद्को बैठकले १७ बुँदे प्रस्ताव पारित गर्दै समाजवाद क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्न आह्वान गरेको हो।  ‘मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ,’ निर्णयमा भनिएको छ।

 

त्यस्तै समाजवादी कार्यदिशा अंगालेका वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, संघीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकताबद्ध हुन आह्वान गरिएको छ।

‘प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक वामलोकतान्त्रिक गठबन्धनमा रहेका दलहरू लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछ,’ निर्णयमा भनिएको छ।

त्यस्तै राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको भन्दै पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग आपसी हितका लागि सुमधुर सम्बन्ध कायम गर्न सरकारलाई आग्रह गरेको छ।

‘हामी कुनैपनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन सक्दैनौं। यसै पृष्ठभूमिमा सरकारले सत्ता गठबन्धनको निर्णय अनुरुप एसपीपी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नहुने निर्णय सहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोमा यो बैठक सरकारलाई धन्यवाद ज्ञापन गर्दछ,’ निर्णयमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*