नेपाललाई योगेशको जवाफ : अवकाश लिएर बस्ने हो मुख छोड्दै हिँड्ने होइन

वेलकम खबर
असार १३, २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले १० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरु दास बनेको टिप्पणी गरेका थिए । नेता नेपालको उक्त टिप्पणीप्रति आक्रोशित नेता भट्टराईले राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको टिप्पणी गरे ।

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरुलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन’ उनले भने, ‘माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’

नेता भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए ।

‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ’ उनले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*