एमालेसँग संवादका लागि के छन् एकीकृत समाजवादीका सर्त ?

वेलकम खबर
असार ११, २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग संवाद र एकताका लागि सर्तहरु अघि सारेको छ । केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले संवाद सुरु गर्नका लागि राजनीतिक र कानुनी रुपमा एमालेले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्ने बताए।

कानुनी र राजनीतिक रुपमा नेकपा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा दिँदैन र अस्तित्व स्वीकार गर्दैन । यस्तो बेलामा एमालेसँग कुनै संवाद हुँदैन,प्रवक्ता जगन्नाथ खतिवडाले भने, एमालेले हामीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसलाई फिर्ता लिओस् र राजनीतिक दल हो भनेर मान्यता दिन्छ भन्ने निर्णय र अभिव्यक्ति आउनु पर्छ ।

एमालेले आफूबाट विभाजित भएको एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन । एकीकृत समाजवादीलाई वैधानिक हैसियत दिने निर्णयविरुद्ध एमालेले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमाले विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको भन्दै एमालेले प्रतिनिधिलगायत ८ महिनासम्म अवरुद्ध गरेको थियो ।

एमालेले थप संवादलाई अघि बढाउने हो भने संसद् विघटनदेखि सबै हर्कतहरुको बारेमा आफ्नो धारणा प्रस्ट पारोस्,ु खतिवडाले भने । खतिवडाका अनुसार एमालेले एकीकृत समाजवादी पनि देशभित्रको जनमत लिएको शक्ति हो र त्यसको महत्त्व राजनीतिमा सदुपयोग हुनुपर्छ भन्ने महसुस गर्ने र एकीकृत समाजवादी सँगै टेबुलमा चिया खानुपर्छ भन्ने ठान्यो भने राजनीतिक चियापान त्यस समयमा मात्रै सम्भव हुनेछ ।

कम्तीमा पनि राजनीतिक अस्तित्वको स्वीकार्यता नभई राजनीतिक सहकार्य सम्भव छैन । यतिखेर एमाले संवादको एजेन्डामा छैन,ु खतिवडाले भने । केन्द्रीय कमिटीको बैठकले आफ्नै पहलमा नयाँ गठबन्धनको परिस्थिति सिर्जना भएको निष्कर्ष निकालेको छ ।

खतिवडाले देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिको नयाँ ध्रुव सिर्जना हुने अवस्थामा रहेको बताएका छन् । यस्तै उनले आफ्नो पार्टी गठबन्धन बाहिरका दलहरुसँग पनि छलफलका लागि खुला रहेको बताएका छन्

हामी सबैसँग सहकार्य गर्छौं तर शरण पर्दैनौं । सहकार्य गर्न खुला छौं । सबैसँग छलफल खुला गर्नेछौं । पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो । तर पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्नेछौं । देशभक्त र वामपन्थीहरुसँग व्यापक सहकार्य चाहन्छौं । सबै राजनीतिक दल र व्यक्ति(व्यक्तिसँग समूह(समूहसँग भेट्न तयार छौं, खतिवडाले भने, हाम्रो पहलमा देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको नयाँ ध्रुव पनि सिर्जना हुन्छ ।

आमनिर्वाचनमा पार्टीको भूमिका अझै बढेको निष्कर्ष निकालेको एकीकृत समाजवादीले देशको हित रक्षाका लागि आफ्नै पहलकदमीमा अघि बढ्ने पनि खतिवडाले बताए । देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको छ । त्यसमा हाम्रो भूमिका दिनदिनै बढ्दै गएको छ । आगामी आमनिर्वाचनपछि झनै बढ्ने छ, खतिवडाले भने, देशको नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुपर्ने त्यो जिम्मेवारीबाट अलिकति पनि तलमाथि गर्न नहुने कुरालाई छलफलमा फोकस गरेका छौं ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*