किन भएन मन्त्री हेरफेर ?

वेलकम खबर
असार १०, २०७९

काठमाडौं । ‘अरू पार्टीको के हुन्छ थाहा भएन। तर, हाम्रो पार्टीले नाम दिइसकेको छ। तत्कालै मन्त्री हेरफेर गर्नुहोस्।’ सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा यसरी कड्किए एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल। पार्टीले मन्त्री हेरफेरको नामावली बुझाएको १८ दिन भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सुनुवाइ नगरेपछि अध्यक्ष नेपालले आक्रोश पोखेका हुन्। प्रधानमन्त्री देउवाले भने ‘भोलि बिहीबार गरौंला’ भनेर ‘कूटनीतिक’ जवाफ फर्काएका थिए।  एकीकृत समाजवादीको जेठ २२ गते बसेको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। त्यही दिन उपमहासचिव विजय पौडेलले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाएका थिए। बहालवाला चार मन्त्री फिर्ता गर्न र एक राज्यमन्त्रीसहित पाँच जनालाई नियुक्त गर्न पार्टीले सिफारिस गरेको थियो। पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

आज (बिहीबार) त भएन। तर, अब ढिलो हुन्न। – जगन्नाथ खतिवडा, प्रवक्ता, एकीकृत समाजवादी 

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने बढुवा गरी मन्त्री बनाउने निर्णय गरेको थियो। यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन उसले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो।

तर, १८ दिन बित्दा पनि कार्यान्वयन नभएपछि नेपाल रुष्ट छन्। मन्त्री हेरफेर नहुँदा उनी पार्टीभित्र दोहोरो चेपुवामा परेका छन्। एकातिर आफूलाई नहटाउन मन्त्रीहरूको ‘धम्की’ छ। अर्कोतिर पार्टीको निर्णय कार्यान्वयन गराउनुपर्ने ‘दबाब’ छ।

खेल्ने को ?

प्रधानमन्त्री देउवाबाट ‘ग्रीन सिग्नल’ पाएपछि नेपालले बिहीबार बिहान पार्टी सचिवालयको बैठक बोलाए। बैठकमा मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयनको एक मात्र एजेन्डामा छलफल भयो। बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले ठोकुवा गरे– ‘अब दिन होइन, केही घण्टामा मन्त्रिपरिषद् हेरफेर हुन्छ।’

धेरैको अनुमान थियो, साँझसम्म मन्त्रिपरिषद् हेरफेर हुन्छ। तर, भएन। किन त ? प्रवक्ता खतिवडा भन्छन्, ‘आज त  भएन। तर, अब ढिलो हुन्न।’ 

पार्टीको बैठकपछि नेपाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। प्रवक्ता खतिवडाका अनुसार त्यस क्रममा देउवाले ‘दिउँसो गरौंला नि’ भन्ने जवाफ नेपाललाई दिए। नेपालपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीसँग भेट गरे। नेपाल त्यसपछि फेरि बालुवाटार पुगे। देउवाले ‘साँझसम्म गरौंला’ भन्ने जवाफ फर्काए। तर, साँझ पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर नगरेपछि एकीकृत समाजवादीका नेताहरूले असन्तुष्टि जनाएका छन्। दाहालसँगको भेटपछि प्रधानमन्त्री ‘पछि हटेको’ हुन सक्ने अनुमान एकीकृत समाजवादी नेताले गरेका छन्।

यसअघि देउवाले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने आश्वासन नेपाललाई दिएका थिए। प्रतिनिधिसभाबाट बजेट पारित भइसकेपछि नेपालले प्रधानमन्त्रीमाथि दबाब बढाएका हुन्। तर, देउवा सकारात्मक बनेनन्। एकीकृत समाजवादीका मन्त्रीहरूले राष्ट्रियसभाबाट पनि बजेट पारित नहुँदासम्म पर्खिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको बालुवाटार स्रोतले बतायो।

मन्त्री हेरफेर गर्ने हुँदा कांग्रेसभित्र छलफल हुन्थ्यो। अहिले नहोला। – रामचन्द्र पौडेल, नेता, कांग्रेस

जेठ २२ गते नै नाम सार्वजनिक भएपछि बधाई खाइसकेको भन्दै मन्त्रीमा प्रस्तावित नेताहरूले पार्टीको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने दबाब बढाएका छन्। कांग्रेसका एक उच्च नेताले भने, ‘मन्त्री फेर्दा सबै पार्टीमा लहरो तान्दा पहरो गर्जिन्छको स्थिति आउने सम्भावना छ। गठबन्धनकै केही नेताको सहमतिमा प्रधानमन्त्री रोकिनुभएको हो। अब १–२ दिनमा मन्त्रिपरिषद् हेरफेर हुन्छ।’

प्रचण्डको आनाकानी किन ? 

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तत्काल मन्त्रिपरिषद हेरफेरको पक्षमा छैनन्। एकीकृत समाजवादीका मन्त्री हेरफेर भए त्यसको प्रत्यक्ष दबाब आफूमाथि पर्ने बुझाइ दाहालमा छ। माओवादीमा अर्थमन्त्री जनार्दन शर्मा तत्कालै परिवर्तन गर्नुपर्ने दबाब छ। दाहाल भने मन्त्री शर्मा हटाउने ‘मुडमा’ छैनन्।

मन्त्री शर्माले बजेट निर्माणको मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तल–माथि गर्न लगाएका थिए। त्यससम्बन्धी खुलासा अन्नपूर्ण पोस्ट्ले गरेको थियो। तर, आफूलाई तत्काल नहटाउन मन्त्री शर्माले प्रचण्डमाथि दबाब बढाएको माओवादी स्रोतले बताउँछ। जसकारण प्रचण्डले ‘अर्थमन्त्री हटाउने भन्ने कुरा झुटो’ भएको भाषण गर्नुपरेको नेताहरू बताउँछन्।

तर, माओवादीभित्र पनि कि अर्थमन्त्रीलाई हटाउनुपर्ने, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने दबाब छ। ‘अर्थमन्त्रीका विषयमा उठेको प्रश्न व्यक्तिको विषय होइन, पार्टीको हो,’ माओवादीका एक नेता भन्छन्, ‘यसबारे अध्यक्षले निर्णय गर्नै पर्ने अवस्था छ।’ अर्थमन्त्रीका विषयमा अध्यक्ष प्रचण्डले ‘हुन्छ, गर्नुपर्छ’ भन्ने मात्रै जवाफ दिने गरेको नेताहरू बताउँछन्।

एकीकृत समाजवादीका मन्त्रीको दबाब

पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरू प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई गुहार्न थालेका छन्। पर्यटनमन्त्री आलेले बुधबार मात्रै प्रचण्डसँग भेट गरी पार्टीले मन्त्री फेरे ‘१३ जना सांसदसहित विद्रोह गर्ने’ बताएका थिए। आलेले यसअघि पनि प्रचण्डलाई भेटेर आफूहरूलाई मन्त्रीबाट नहटाउनका लागि नेपालसँग कुराकानी गरिदिन आग्रह गरेका थिए। आलेले मन्त्रीबाट हटाइए पार्टी फुटाउने चेतावनी प्रधानमन्त्री देउवालाई पनि दिएको उच्च स्रोत बताउँछ। 

एकीकृत समाजवादीका चारै जना मन्त्रीले बुधबार नेपाललाई भेटेर आफूहरूलाई नहटाउन दबाब दिए। मन्त्री झाँक्रीले त नेपालको ‘अपमान’ हुने गरी धारणा राखेकी थिइन्। झाँक्रीले ‘राम्रो काम गर्दागर्दै पनि मलाई हटाउने हो भने मेरा लागि पार्टी अध्यक्ष मरेतुल्य हो’, भनेर आक्रोश पोखेकी थिइन्।

नेपालको निवासमा भएको उक्त भेटघाटमा मन्त्रीहरूले मर्यादा नाघेर भनाइ राखेको स्रोत बताउँछन्। ‘पदका लागि यत्रो रडाको मच्चाउने हो भने एमालेबाट हामीले विद्रोह गर्नुको के अर्थ रह्यो र ?’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘यो त अति नै भयो। ढिलो–चाँडो पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’

एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै असोज २२ गते ५ जना मन्त्री बनाएको थियो। तर, ८ महिनापछि मन्त्री परिवर्तन खोज्दा पनि पार्टीमा रडाको मच्चिएको छ।

भुसालविरुद्ध खनिए आले 

पार्टीले मन्त्रीबाट हटाउन सिफारिस गरेपछि पद जोगाउन सक्रिय पर्यटनमन्त्री आले महासचिव वेदुराम भुसालविरुद्ध खनिएका थिए। विश्वरुपा मन्दिर पुनर्निर्माणको शिलान्यास कार्यक्रममा जेठ २४ गते आलेले भुसाललाई अपमानजनक शब्द प्रयोग गरेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*