पाथीभरा क्षेत्रमा ‘पोर्टेबल’ शौचालय सञ्चालनमा
काठमाडौ । ताप्लेजु्ङको पाथीभरा मन्दिर दर्शनार्थीहरुको लागि पोर्टेबल शौचालय निर्माण गरिएको छ । पाँच र छ मिटरको खाल्टा खन्ने, त्यसमाथि छपनी लगाएर पुर्ने र त्यसको माथि तयारी शौचालय उभ्याउने काम सम्पन्न भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुुभयो ।
काफ्लेका अनुसारआवश्यकताअनुसार ठाउँ परिवर्तन गर्न सकिन्छ । पर्याप्त पानीको व्यवस्थापन हुन नसकेकोमा यहाँ यस्तो शौचालयमा शौच गर्ने ठाउँ मात्रै सफा गरे हुन्छ । धर्मशालाहरूको छानाबाट पानी संकलन गरिन्छ । तराई र शहरी क्षेत्रबाट आएका बालबालिका बाहिर सौच गर्न नमान्ने हुनाले यस्तो शौचालय निर्माण गरेको क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे बताउनुहुन्छ । मन्दिर परिसर बाहिर अहिले तीन शौचालय निर्माण गरिएको छ । माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमीटरमा पाँच वटा शौचालय जडानको काम भइरहेको छ । फाइबरबाट बनेको पोर्टेबल शौचालय एनएमबी बैंकले उपलब्ध गराएको हो । जडान खर्च पाथीभराका भक्तजन काठमाडौं बानेश्वर–१० का रञ्जना पाठकले ब्यहोरेको काफ्ले बताउनुभयो ।
निर्देशक काफ्लेका अनुसार एउटाको लागत ७५ हजार रुपैयाँसम्म पर्ने अनुमान छ । पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेका अनुसार यसअघि पक्की तथा अस्थायी शौचालय बनाइएका थिए । पानी नहुँदा फोहोर हुने भएकाले ती शौचालय टिकाउन नसकिएको बताउनुहुन्छ ।



















