विमान उड्ने बाटोको जानकारी लिनुपर्ने निर्णय तीन दिन टिकेन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ दिनअघि लिएको निर्णय परिवर्तन गरेको छ ।
जेठ १७ गते विमान उड्ने बाटो र गन्तव्यको जानकारी लिएर मात्रै उडान गर्न प्राधिकरणले वायुसेवा कम्पनीलाई निर्देशन जारी गरेको थियो।
हचुवाका आधारमा विमान उड्ने बाटोको मौसम सम्बन्धी जानकारी लिएर मात्रै उडान गर्नु भन्ने निर्देशन जारी गरेको भन्दै प्राधिकरणको तीव्र आलोचना भएपछि आफ्नो निर्णयबाट प्राधिकरण पछि हटेको हो ।
जेठ २० गते प्राधिकरणका उपनिर्देशक शिव शर्मा उपाध्यायले प्राधिकरण मातहतका सबै विमानस्थललाई लेखेको पत्रमा ‘इनरूट ९उडान गर्नेबाटो० भन्नाले जल तथा मौसम पुर्वानुमान महाशाखाबाट उपलब्ध गराइने सम्बन्धित विमानस्थल अवस्थित प्रादेशिक सेक्टर मौसम संझिनु पर्ने,’ उल्लेख छ।
विमान उड्नेबाटोको परिभाषा परिवर्तन गरी गत जेठ १७ गते प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णय सच्चाउने प्रयास गरेका हुन् ।
१७ गते इनरूटको मौसम सम्बन्धी जानकारी लिएर मात्रै उडान गर्नुपर्ने निर्णय गर्दा प्राधिकरणका उपमहानिर्देशकहरूले इनरूटको मौसम सम्बन्धी जानकारी दिने प्रणाली नै नभएको भन्दै हचुवाका आधारमा निर्णय नगर्न आग्रह गरेका थिए।
१७ गते विमान उड्ने मार्गको मौसम सम्बन्धी जानकारी पेश गर्नुपर्ने निर्णय गरेको प्राधिकरणले १८ गते मात्रै जल तथा मौसम पूर्वानुमान महाशाखासँग छलफल गरेको थियो।
प्राधिकरणसँगको छलफलमा महाशाखाका अधिकारीले विमान उड्ने मार्गको मौसम सम्बन्धी जानकारी दिने प्रणाली आफूहरूसँग नभएको भन्दै प्राधिकरणले भने अनुसार मौसम सम्बन्धी जानकारी उपलब्ध गराउन नसकिने जानकारी गराएको थियो।
जेठ १९ गते नेपाल वायुसेवा सञ्चालक संघ प्राधिकरणको निर्णय व्यवहारिक नभएको भन्दै सच्याउन आग्रह गरेको थियो ।
यस्तै, प्राधिकरणको नयाँ नीतिले अन्योल भएपछि जेठ १९ गते आँखाले हेरेर उडान हुने पहाडी रूटमा उडान पूर्ण बन्द भएपछि प्राधिकरण दबाबमा परेको थियो।
प्राधिकरणका एयर ट्राफिक कन्टोलर ९एटिसी०ले समेत विमान उडान गर्ने बाटो मौसम सम्बन्धी जानकारी लिएर उडान गर्न सम्भव नहुने र त्यस्तो सूचना दिने प्रणाली नभएको भन्दै प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने सुझाव दिएका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिकहरूले समेत प्राधिकरणको निर्णय कार्यान्वयन नहुने भन्दै परिवर्तन गर्नु पर्ने राय दिएको स्रोतको भनाइ छ।
‘सबै तिरबाट आफ्नो निर्णय कार्यान्वयन हुन सक्ने नदेखेपछि प्राधिकरणबाट पत्र पठाउँदै विमान उडान गर्नेबाटोको परिभाषा परिवर्तन गरिएको छ। र, जेठ १७ गते गरिएको अपरिपक्व निर्णय सच्याउँदै विगतमा जसरी वायुसेवा कम्पनी, एटिसीले आपसी समन्वयमा जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारीका आधारमा उडान गर्ने गरेका थिए, सोही अभ्यासलाई निरन्तरता दिइएको छ।



















