पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेकी गुरुङ निर्वाचित

वेलकम खबर
जेष्ठ ११, २०७९

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनकातर्फबाट मेयरमा उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा विजयी आचार्यले ५८ हजार ८ सय ९३ र उपमेयर गुरुङले ६० हजार पाँच सय ४६ मत ल्याइन् । मेयरका निकटतम एमालेका कृष्ण थापालाई ६ हजार ४५ मत अन्तरले पराजित गदै आचार्य पोखराको १५ औँ मेयरमा निर्वाचित भएका हुन् । थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । पराजित एमालेका थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका थिए । थापा ०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई तीन हजार ८ सय ८३ मत अन्तरले पराजित गदै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् ।मेयरमा उम्मेदवारी दिएका २३ जना उम्मेदवारहरुमध्ये राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार खड्कराज पौडेलले तीन हजार ३० मत प्राप्त गरे ।उपमेयर उम्मेदवारी दिएका आठ जनामध्ये राप्रपाकी रञ्जना सेन ९रञ्जु० ले पाँच हजार ५ सय ८१ प्राप्त गरेकी थिइन् ।

२३ वडामा कांग्रेस, ९ वडामा एमाले र एकमा स्वतन्त्र उम्मेदवार विजयी
३३ वडा रहेको पोखरामा रहेका दुई लाख सात हजार ७ सय १२ जना मतदातामध्ये एक लाख ४३ हजार दुई सय २६ जनाले ३० वैशाखमा सम्पन्न निर्वाचनमा मतदान गरेका थिए ।पोखराका ३३ वडाहरुमध्ये २३ वडामा कांग्रेस, नौ वडामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । यसअघि ०७४ सालमा सम्पन्न निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाको अध्यक्षमा एमाले र ११ वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*