एमालेले भन्याे, सत्ता पक्षले बुथ कब्ज गर्याे
काठमाडौं । मुलुकभर स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाउदै पुनस् मतदानको माग गरेका छन् ।
निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको विज्ञप्तीमा आरोप लगाइएको छ ।
पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच देखाएको एमालेले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो ।’






















