माओवादीबाट गाउँपालिकाकाे अध्यक्षको उम्मेदवार बनेका तेन्जिन एमालेमा प्रवेश गरे
गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरे
माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तामाङ बिहीबार एमालेमा प्रवेश गरेका हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए ।
उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमकाबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
एमाले नै शसक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको उनको भनाइ छ । एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताएका छन् ।



















