निर्वाचनमा होमिन योगेश भट्टराईको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री यागेश भट्टराईले आमनिर्वाचन लोकतन्त्रको महायज्ञ भएको हुँदा सम्पूर्ण नागरिकहरुलाई जनप्रतिनिधी छनौट गर्न आगामी स्थानीय तहको निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
शनिवार ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमालेका सचिव समेत रहुन भएको भट्टराईले नागरिकहरु आफूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार भएको हुँदा आमनिर्वाचनलाई सही सदुपयोग गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले राजनीतिक परिवर्तन प्राप्त भइसकेकोले अव जनप्रतिनिधिहरु र नागरिकहरु विकासका एजेण्डामा लाग्नुपर्ने, विकासको खाँका कोर्न उचित जनप्रतिनिधि छनौट गरी दिगो विकास सम्भव हुने हुँदा सो तर्फ ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङका विभिन्न संघसंस्थाहरुले आवश्यक सहयोग गर्नुपर्ने सुझाव समेत दिनुभयो । नेता भट्टराईले ताप्लेजुङका सबै सामुदायिक विद्यालयहरुको विकासमा पूर्व विद्यार्थी क्लब गठन गरी परिचालन गरी देश विदेशका अनुभव तथा सहयोग परिचालन गर्न सकिने भएको हुँदा सो तर्फ केन्द्र तथा संघ संस्था लाग्नुपर्ने सुझाव समेत औल्याउनुभयो । कार्यक्रममा प्राध्यापक डाक्टर सुरेन्द्र के.सीले पार्टी संस्कार गलत भएको, पार्टीहरुले सैद्धान्तिक तथा रणनीतिक दिग्भ्रमित भएको हुँदा देशले मान सम्मान गुम्दै गएको, देशको अवस्था कमजोर भएको औल्याउनुभएको थियो । ताप्लेजुङ समाजका महासचिव अग्नी पौडेलले केन्द्र र समाज दुई भिन्न संस्था विशेष कारणबाट भए पनि एकाकार हुनुपर्ने र सो बाट ताप्लेजुङवासीको लागि राम्रो हुने औल्याउनुभयो ।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष श्री चित्र गुप्त साँवाले ताप्लेजुङ सरोकार केन्द संस्था विभाजनको किमार्थ स्वीकार गर्न सक्दैन बरु सस्थामा हदैसम्मको लचिलो भई मार्ग प्रशस्त गर्न हरदम तयार रहेको औल्याउनुभयो ।



















