केन्द्रमा तालमेल, जिल्लामा बेमेल

वेलकम खबर
बैशाख २, २०७९

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनमा दल

पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ । एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतीअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन् ।

यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ ।

सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ । यी सत्तारूढ दलले गरेको तालमेलको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन् ।

कांग्रेस चितवन र कांग्रेस पर्साले केन्द्रीय तहबाट गरिएको गठबन्धनको निर्णय नमान्ने भन्दै विद्रोहको चेतावनी नै दिइसकेका छन् । भरतपुर महानगरपालिकाका कांग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै हालतमा तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेका छन् ।

यसैगरी पर्सा कांग्रेसले जिल्लाका १४ वटै पालिकामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति जनार्दनसिंह क्षत्रीले जानकारी दिए । सत्ता गठबन्धनमा रहेका दलका केन्द्रले भने केन्द्रदेखि प्रदेश र जिल्ला तथा पालिका तहमा संयन्त्र बनाएर तालमेलको मोडालिटी तय गर्न मातहतका निकायलाई निर्देशन नै गरिसकेका छन् ।

साना दल तान्ने होडबाजीमा सत्ता र प्रतिपक्ष

गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने निर्णय गर्दै अन्य तहमा उम्मेदवार गठबन्धनको संयन्त्रमार्फत तय गरेर केन्द्रमा सिफारिस गर्न भन्दै गत मंगलबार निर्देशन गरेका हुन् । सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भइसकेको छ ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

स्रोतका अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिनेगरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिनेगरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको छ ।

‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आह्वान गर्दर्छौं,’ पाँच दलद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने शक्ति परिवर्तनविरुद्ध अझै पनि षडयन्त्र गरिरहेकाले सचेत हुन जरुरी रहेको भनिएको छ ।

‘देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्ट्याउने दुष्प्रयास हो,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

सत्तागठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनेका हुन् ।

यस्तै, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यको सिट बाँडफाँट जिल्ला संयन्त्रले गरी ३ वैशाखभित्र टुंगो लगाउन भनिएको छ । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई÷दुई जना प्रतिनिधि रहनेगरी केन्द्रीय तहबाट निर्णय गरिएको छ । प्रत्येक तहको संयन्त्रमा निर्णय लिन सम्बन्धित पार्टीले आआफ्नो आवश्यकताअनुसार प्रतिनिधि राख्न भनिएको छ भने सबै तहको बैठकको संयोजन कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने सहमति गठबन्धनको शीर्ष तहमा भएको छ ।

यसअघि भने जिल्लाको अवस्थाको रिपोर्ट केन्द्रमा पठाउन गठबन्धन आबद्ध पाँच दलले चैत मसान्तसम्मको समय तोकेका थिए भने त्यसअघि २६ चैतसम्मको समय तोकिएको थियो ।

तालमेलले लोकतन्त्र कमजोर : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलको संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले दलबीच हुने चुनावी तालमेलले मुलकलाई हित नगर्ने बताएका हुन् ।

‘दलहरूबीच हुने चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन, यो मेरो आफ्नो मत हो,’ कांग्रेस महामन्त्री थापाले भने ।

उनले सत्ता गठबन्धनले स्थानीय संयन्त्रलाई गरेको तालमेलको सर्कुलरप्रतिको बुझाइ पनि लगत भएको बताए । थापाले स्थानीयस्तरमा आवश्यकता भए मात्रै गठबन्धनबीच तालमेल गर्न भनिएको भन्दै तल्ला तहमा आवश्यकता महसुस नभए माथिबाट निर्णय नलादिने स्पष्ट पारे ।

‘तालमेलका विषयमा गरिएको निर्णय र सर्कुलरका विषयमा बाहिर गलत बुझाइ पनि गएको छ, स्थानीय तहमा आवश्यकता महसुस भए तालमेल गर्ने भनेर स्थानीय आवश्यकताअनुसार भनिएको हो, स्थानीय तहबाट आवश्यकता भएन भनेमाथिबाट थोपरेर हुँदैन,’ थापाले अघि भने ।

उनले पार्टीले गरेको निर्णय भने आफूले मान्ने बताए । ‘पार्टीको निर्णय मानेको छु, मान्नुपर्छ तर यो विषयमा बहस गर्नैपर्छ,’ थापाले सम्बोधनका क्रममा भने ।

महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौंभन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने भन्दै स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने बताए ।राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*